• २०८१ बैशाख ७ शुक्रबार

'सेरेस' र 'भिष्टा' नामका क्षुद्रग्रहमा पुगेको नासाको डन स्पेसक्राफ्ट हरायो !

kharibot

यसको भित्री सतहमा नुन, पानीलगायतका पदार्थहरु पर्याप्तमात्रामा रहेको मानिएको छ । नासाको डन स्पेसक्राफ्टले सूचना पठाउन छोड्नुअघि खिचेको सेरेस नामक क्षुद्रग्रहको अन्तिम तस्बिर ।

अमेरिका । अनुसन्धानका लागि अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को मिसनका क्रममा दुई वटा नयाँ संसारको अर्बिट गरिरहेको एउटा स्पेसक्राफ्ट बिहीबारदेखि सम्पर्कविहीन भएको छ । 

नासाले उक्त डन नामको स्पेसक्राफ्टसँगको सम्बन्धविच्छेद भएको बिहीबार जनाएको थियो । उक्त स्पेसक्राफ्टले गत बुधबार र बिहीबार नासाको डिप स्पेस नेटवर्कसँगको दुईवटा चेक प्वाइन्ट मिस गरेको (सम्पर्क टुटाएको) वैज्ञानिकहरुले बताएका छन् । 

सम्पर्कमा रहेको उक्त स्पेसक्राफ्टले थ्रस्टर्सको इन्धन भर्ने हाइड्राजाइन अपुग भएपछि काम गर्न नसकेको हुनसक्ने बताइएको छ । जसले यसको सोलार प्यानेल जो सूर्यतर्फ रहेको हुन्छ र एन्टेना जो पृथ्वीतर्फ हुन्छ, लाई मद्दत गर्छ ।

अन्तरिक्षमा सम्पर्कविच्छेद हुने नासाको यो दोस्रो अन्तरिक्ष यान हो । यसअघि मात्रै प्लानेट हन्टिंग केप्लर स्पेस टेलिस्कोपले सम्पर्क टुटाएको थियो । यद्यपि डनको मिसन अन्त्य हुने कुरा यसअघि नै अनुमानित भए पनि मिसन टिमका सदस्यहरु भने योसँगै एकदमै दुःखी भएका छन् ।

उक्त मिसनका निर्देशक तथा नासाको जेट ल्याबोरेटोरीका प्रमुख इन्जिनियर मार्क रेमनले उक्त स्पेस क्राफ्टले धेरै नै चुनौती हरेक समयमा खेप्नुपरेको भन्दै दुःख व्यक्त गरेका छन् । 
डन स्पेसक्राफ्ट सन् २००७ मा आस्टेरोइड भेष्टामा पठाइएको थियो ।

जुन मंगल र बृहस्पतिको बीचमा रहेकोमध्ये दोस्रो ठूलो क्षुद्रग्रह (आस्टेरोइड) हो । उक्त ग्रहमा डन स्पेसक्राफ्ट सन् २०११ को जुलाईमा पुगेको थियो । क्षुद्रग्रहको अर्बिट गर्ने यो नै पहिलो अनुसन्धान स्पेसक्राफ्ट थियो । डन पुगेको उक्त वस्तु आस्टेरोइड भए पनि धेरै हदसम्म ग्रहजस्तै रहेको मानिन्छ ।   

सन् २०१२ को सेप्टेम्बरमा डनले भेष्टा छोडेर सेरेस नामक सानो (तर मंगल र बृहस्पतिबीचको सबैभन्दा ठूलो क्षुद्रग्रह) ग्रहसम्मको साढे २ वर्ष लामो यात्रा तय गरेको थियो ।

डनले उक्त भेष्टाको भित्री ठाउँ पृथ्वीको जस्तै तहगत रुपमा बनेको तथ्य पत्ता लगाएको थियो । यसमा पनि म्याग्नेटिक फिल्ड रहेको अनुमान गरिएको थियो । भेष्टाको दक्षिणी ध्रुवमा वैज्ञानिकहरुले पृथ्वीमा पाइने सबै मेटेराइट (धातु)हरुको ५ प्रतिशत स्रोत रहेको पत्ता लगाएका थिए ।

सन् २०१२ को सेप्टेम्बरमा डनले भेष्टा छोडेर सेरेस नामक सानो (तर मंगल र बृहस्पतिबीचको सबैभन्दा ठूलो क्षुद्रग्रह) ग्रहसम्मको साढे २ वर्ष लामो यात्रा तय गरेको थियो । सेरेस नामको उक्त ग्रहमा पानी, नुनलगायतका खनिज पदार्थहरु समेत रहेको मानिएको छ । सोही कारण यसको सतह चम्किलो रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त ग्रहमा बरफीय ज्वालामुखी हुने गरेको र त्यसो हुनुको कारण सतहमुनि पानी जमेर रहेको मानिएको छ । 

सोही कारण सेरेसमा जीवन रहन सक्ने विश्वास समेत वैज्ञानिकहरुले गर्दै आएका छन् । नासाले सम्पर्क विच्छेद भए पनि उक्त डन स्पेसक्राफ्टलाई नष्ट गर्न चाहेको छैन । न त यसबारे कुनै योजना नै बनाएको छ । अतः डन उक्त ड्वार्फ प्लानेटको अर्बिटमा आगामी दशकसम्म रहने देखिन्छ । सोही मिसनका इन्जिनियर केरी बिनका अनुसार उक्त स्पेसक्राफ्ट नष्ट हुने अनुमान गरिएको छ । उक्त स्पेसक्राफ्टको मद्दतले थुप्रै अन्तरिक्षसम्बन्धी ज्ञान हासिल भएको समेत उनको भनाइ छ । 

वैज्ञानिकहरुले डन नष्ट भए पनि अन्तरिक्षसम्बन्धी मानवीय खोज जारी रहने बताएका छन् । आगामी केही वर्षमा जापानको हायाबुसा २ स्पेसक्राफ्ट र नासाको ओएसआईआरआईएस–आरईएक्स नामक स्पेसक्राफ्टले दुईवटा क्षुद्र ग्रहबाट त्यसका टुक्राहरु पृथ्वीमा ल्याउँदै छन् । त्यस्तै सन् २०२२ मा नासाले साइकी नामक स्पेसक्राफ्ट यस्तै क्षुद्रग्रहसम्म पुर्याउने गरी प्रक्षेपण गर्नेछ । जसले सम्बन्धित ग्रहको भित्री तथ्य निकाल्ने अनुमान र आशा गरिएको छ ।  

नोट : यो समाचार साइन्सन्युज डटओआरजीबाट नेपालीमा भावानुवाद गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै