• २०८१ बैशाख ७ शुक्रबार

यसपालिको तिहारलाई यसरी स्वस्थकर बनाऔं 

kharibot

काठमाडौँ । दीपावली अथवा तिहार नेपालीहरुको दशैंपछि अर्को ठूलो चाड हो । विशेषगरी, दाजुभाइ तथा दिदीबहिनीको पर्वको रुपमा चिनिने तिहारमा हामी सबै एकआपसमा जमघट भई खुसियाली साटासाट गर्छौं । तर, खुसियाली साट्ने निहुँमा र लक्ष्मीलाई भित्र्याउने भन्दै कतै तिहार मनाउने तरिका नजानेर अथवा लापरवाही गरी हामीले रोगलाई त आफ्नो जीवनमा निम्त्याउँदै छैनौं ?

मांस, मदिराको सेवन गरी, जुवा तास खेलेर, जे पायो त्यही खाएर, होहल्ला गरेर हामीले आफ्नो स्वास्थ्यमाथि खेलवाड गरिरहेका हुन सक्छौं । यदि स्वास्थ्य नै रहेन भने क्षणिक खुसीको लागि गरिएको रमाइलो जीवनभर दुःखको कारक बन्न सक्छ । त्यसैले तिहारलाई स्वस्थ बनाउन आहारविहारमा विशेष ध्यान दिनु आवश्यक छ । 

तिहारमा हरेकको घरमा विभिन्न पक्वान्न तयार हुने गर्छ । यदि घरमा बनाउन सकिएन भने मिठाइ पसलमा तयार गरिएका पक्वान्न, मिठाइ पनि घरमा ल्याई तिहार मनाउने चलन छ । यस्तोमा घरमा पकाउँदा होस् अथवा बाहिरबाट ल्याउँदा कस्तो खानेकुरा हामी खाँदै छौं भन्ने कुरामा ध्यान दिनुपर्छ । 
गुलियो, चिल्लो, नुनिलो, पिरो बढी भएका परिकारमा जोड नदिऔं  

तिहारको समयमा गुलियो, चिल्लो, नुनिलो, पिरो र मसला बढी भएका परिकार खाने चलन बढी छ । यस्ता खाद्यपदार्थले मधुमेह, ग्याष्ट्रिक, उच्च रक्तचाप, तथा फोक्सो र कलेजोसम्बन्धी समस्या भएका मानिसलाई बढी असर गर्छ । त्यस्तै, यस्ता खाद्यपदार्थले उक्त रोग लाग्ने सम्भावना पनि बढाउँछ । त्यसैले यस्ता खाद्यपदार्थबाट टाढा रहौं अथवा कम सेवन गरौं । खुवा र चाँदीको लेप लगाइएको मिठाइमा आल्मुनियमको प्रयोग गरिएको हुन सक्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्दछ ।

बजारमा पाइने मिठाइमा स्वास्थ्यमा असर गर्ने केमिकलको प्रयोग भएको हुन सक्छ । यस्ता मिठाइले लिवर र किड्नीलाई नराम्रो असर गर्छन् । यस्ता खाद्यपदार्थले दम र क्यान्सरको सम्भावनालाई पनि बढाउँछन् । सुगर अथवा मधुमेह रोग भएका व्यक्तिले तिहारको अवसरमा तयार पारिएका रङ्गीविरङ्गी लोभलाग्दा मिठाइबाट टाढा रहनु आवश्यक छ । सुगरका रोगीको धमनीमा रगत जम्ने सम्भावना बढी हुन्छ । यदि मुटुरोगीलाई सुगर छ भने सुगरलाई नियन्त्रित राख्न डाक्डरको सल्लाह लिई औषधि लिनुपर्छ । 

तेलको पुनः प्रयोग नगरौं 
तिहारमा हरेकको घरमा सेल, अर्सा, अनर्सा, झिलाँगे, मालपुवा आदि पक्वान्न बनाइन्छ । यस्तो पक्वान्न तयार पार्दा धेरै कुरामा ध्यान दिनुपर्छ । यस्ता परिकार बनाउँदा एकपटक प्रयोग भइसकेको तेल पुनः प्रयोग गर्ने चलन छ । एकपटक प्रयोग गरिसकेको तेल घरिघरि प्रयोग गर्नु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । तिहारमा तेलको धेरै तरिकाले र धेरै प्रकारका परिकारमा प्रयोग गरिन्छ । तेलले परिकारमा सुगन्ध ल्याई भोजनलाई स्वादिष्ट बनाउने काम गर्ने भएकाले भान्छामा तेलको प्रयोग बढी हुने गरेको हो । तेलको पुनः प्रयोगले तेलको बचत त होला तर स्वास्थ्यलाई भने निकै हानि गर्छ ।

यदि एकपटक कुनै कुरा तार्दा अथवा भुट्दा प्रयोग गरिएको तेलमा फेरि केही पक्वान्न बनाइन्छ भने त्यसमा फ्री रेडिकल्स उत्पन्न हुन्छ । यसले शरीरमा दुखाइ बढाउनुका साथै अन्य रोग पनि लाग्न सक्छ । फ्री रेडिकल्स शरीरका स्वस्थ कोशिकासँग सजिलै घुलमिल हुन्छ । यसले कोशिकाहरु मर्न सक्छन् । फ्री रेडिकल्सका कारण क्यान्सर पनि उत्पन्न हुन सक्छ । पुनः प्रयोग गरिएको तेलले शरीरमा नराम्रो कोलस्ट्रोल बढाउँछ र नसाहरु बन्द हुन सक्छन् । बारम्बार प्रयोग गरिएको तेलका कारण एसिडिटी, मुटुसम्बन्धी रोग, अल्टसाइमर्ज डिजिज, पार्किन्सन हुनुका साथै यसले घाँटी पनि खराब गर्छ । 

चकलेट र मिठाइको सेवन कम गरौं 
तिहारमा चकलेट र मिठाइ उपहारको रुपमा दिइन्छ । तर यस्ता खाद्य पदार्थले शरीरमा नराम्रो असर गर्न सक्छन् । मधुमेह र मुटु रोगीहरूले मिठाई र चकलेटको सेवनबाट जोगिनुपर्छ । यसले उनीहरूमा चिनीको मात्रा बढ्छ र मुटु तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ । नियमित रुपमा चकलेट र मिठाई खाने हो भने हड्डी कमजोर हुन्छ । यसले अस्टियोपोरोसिस र हड्डीमा फ्र्याक्चर हुने सम्भावना रहन्छ । चकलेटमा हुने फ्लेवोनल र क्याल्सियम बोन मिनरल डेन्सिटीको लागि सकारात्मक असर पार्ने तत्त्व हो, तर यसमा अक्सेलेट पनि हुन्छ जसले हड्डीमा नराम्रो असर गर्छ । 

सफ्ट ड्रिंक्स अथवा कोल्डबाट टाढा रहौं  
सफ्ट ड्रिंक्स अथवा कोल्ड ड्रिंक्सले भोजनबाट प्राप्त हुने क्याल्सियमलाई मात्र नष्ट गर्दैन, यसले शरीरमा पहिलादेखि नै हुने क्याल्सियमलाई पनि सोस्दछ । सफ्टड्रिंक्स, कोल्ड ड्रिंक्स, सोडा अथवा फ्लेवर्ड जुस पिउने मानिसको हड्डी कमजोर हुने सम्भावना धेरै रहन्छ । त्यसैले स्वस्थ जीवनका लागि यस्ता खाद्यपदार्थको नियमित सेवनबाट पर रहनु नै श्रेयस्कर छ । 

चिल्लोयुक्त खाना नखाऔं
चिल्लोयुक्त खानाले कोलस्ट्रोल बढाउंछ । कोलस्ट्रोल बढेको खण्डमा यसले मुटुसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ । त्यसैले उच्च रक्तचापका साथै कोलस्ट्रोल नियन्त्रित राख्न औषधि र खानपिनमा विशेष ध्यान दिऔं र चिल्लो र बोसोयुक्त खानाबाट टाढा रहौं । 

मद्यपानबाट टाढा रहौं 
रक्सी र मासु धेरैखाएमा यसले कलेजोमा बोसो जम्छ र नसाहरु बन्द हुने सम्भावना रहन्छ । त्यसैगरी, क्यान्सर, हृदयघाट, मस्तिष्क तथा स्नायुसम्बन्धी रोग, कलेजोको क्षति, पाचन प्रणाली कमजोर हुने, कुपोषण, क्षयरोग, मानसिक रोग, बाँझोपन, आदि मद्यपानका कारण लाग्न सक्ने रोग हुन् । त्यसैले तिहारमा मद्यपानबाट टाढा रही रोगबाट बचौं । 

धूम्रपान नगरौं 
धूम्रपानले क्यान्सर, दमजस्ता खतरनाक रोग निम्त्याउन सक्ने भएकाले यसबाट टाढा रहनु स्वास्थ्यको लागि धेरै राम्रो हो । जसलाई मुटुको रोगले छोएको छ, उसले त झन् धूम्रपानबाट अवश्य बच्नुपर्छ । 

ड्राईफ्रुट्सको सेवन गरौं
तिहारमा दिइने ड्राईफ्रुट्स स्वास्थ्यको लागि निकै फाइदाजनक छ । बदाम, ओखर, पेस्ता, काजु आदि ड्राइ फ्रुट्सले बोसोमा सकारात्मक प्रभाव पार्छ । यसले हानिकारक कोलस्ट्रोल कम गर्न सहयोग गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम हुन्छ । यी तत्त्वले मुटुको सुरक्षाको काम गर्छन् । 

मिसावटयुक्त खानाबाट बचौं
अखाद्य वस्तु मिसिएका खानाका कारण वाक्वाकी लाग्ने, पेट दुख्ने, झाडापखाला लाग्ने, रगतमासी पर्ने, जन्डिस हुने, पिसाब पोल्ने, आँखा धमिलो हुने, टाउको दुख्ने, निद्रा नलाग्ने जस्ता समस्या आउन सक्छन् । कालान्तरमा यसले ट्युमर, क्यान्सरजस्ता समस्या पनि उत्पन्न गर्न सक्छ । त्यसैले तिहारमा बजारमा मिसावटयुक्त खाद्यपदार्थ बढी पाइने भएकाले यसबाट सतर्क रहनु धेरै जरुरी छ । 

पटाका पड्काउनेले ध्यान दिऔं 
प्रहरीले पटाकाको व्यापारलाई रोक्ने कोसिस गरे पनि खुल्ला सिमाना भएकाले नेपालमा लुकिछिपी पटाकाको व्यापार हुने गरेको छ । दीपावलीको समयमा पटाका नपड्काए तिहार जस्तै लाग्दैन भन्ने पनि धेरै छन् । तर, यसले आँखा र कान सदाको लागि बन्द हुन सक्छ । त्यस्तै, धेरै धुवाँ आउने पटाकाले श्वासप्रश्वासमा पनि असर गर्छ । पटाका आगलागीको कारण हुन सक्ने भएकाले यसबाट टाढा रहनु नै ठीक हुन्छ । पटाकाले उच्च रक्तचाप, एलर्जी, टाउको दुख्ने, दम बढ्ने, खोकी लाग्नेलगायत समस्या पनि निम्त्याउन सक्छ । 

यसरी तिहारमा माथि उल्लेख गरिएका कुरा पालना गरी स्वास्थ्यमा ध्यान पुर्याउने हो भने तिहार पक्कै पनि उत्साह, सौहार्द र धनधान्यको पर्व हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै