• २०८१ बैशाख ४ मंगलबार

चितवन राइनोज पिपिएलको फाइनलमा, उपाधिका लागि पोखरासँग खेल्ने 

kharibot

काठमाडौँ। चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा पुगेको छ। इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजति गर्दै चितवन राइनोज प्रतियोगिताको फाइनलमा पुगेको हो। 

काठमाडौँ रोयल्सले दिएको ९५ रनको लक्ष्य पछाएको चितवन रोयल्सले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। चितवनको जितमा स्मित पटेलले सर्वाधिक ३८ रन बनाए भने हरिशंकर शाहले २६ रन बनाएका थिए। त्यस्तै आरिफ सेखले २० रन बनाएका थिए। काठमाडौँका बलर सुशान भारीले ३  विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँ रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउदै ९५ रन बनाएको थियो । काठमाडौँ रोयल्सलाई कम रनमा रोक्ने क्रममा चितवन राइनोजका बलरले उत्कृष्ट बलिङ गरेका थिए। 

चितवन राइनोजका सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएर काठमाडौँ रोयल्सलाई सुरुमै ब्याकफुटमा धकेलेका थिए। पटेलले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिएका थिए। पटेलले खेलको दोस्रो ओभरमा ३ विकेट लिएका थिए। पटेलले काठमाडौँका अमित श्रेष्ठ, पवन सराफ र गौरव तोमारलाई एकै ओभरमा आउट गरेका थिए। 

चितवनका लागि स्मित पटेल र भुवन कार्कीले २-२ विकेट र कप्तान पारस खड्का र करन केसीले एक-एक विकेट लिएका थिए। काठमाडौँ रोयल्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाएका थिए भने जयकिसन कोलसवालले २५ रन बनाएका थिए। काठमाडौँका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। 

इलिमिनेटरमा जित हासिल गरेसँगै चितवन राइनोजले उपाधिका लागि आगामी मंगलबार पोखरा पल्टनसँग फाइनल खेल्ने छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै