काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा भारतले ५ विकेटको जित हासिल गरेको हो। वेस्टइन्डिजले दिएको ११० रनको लक्ष्य पचाएको भारतले १७.५ ओभरमा ५ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो।
भारतको जितमा दिनेश कार्तिकले सर्वाधिक अविजित ३१ रन बनाए भने यसै खेलमा भारतीय टी-२० टिममा डेभ्यु गरेका क्रुनाल पाण्डेयले अविजित २१ रन बनाएका थिए। त्यस्तै भारतका लागि मनिष पाण्डेले १९ तथा केएल राहुलले १६ रन बनाएका थिए। वेस्टइन्डिजका बलर ओशने थोमस र कार्लोस ब्रेथवेटले २-२ विकेट लिएका थिए भने खरी पिएरेले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो। वेस्टइन्डिजका लागि फबियन एलनले सर्वाधिक २७ रन बनाए भने किमो पाउलले अविजित १५ रन बनाएका थिए। त्यस्तै किरोन पोलार्ड र साइ होपले १४-१४ तथा शिमरोन हेटमेयरले १० रन बनाएका थिए।
वेस्टइन्डिजलाई कम रनमा रोक्न भारतीय बलर कुलदीप यादवले ३ तथा उमेश यादव, खालीद अहमद, जसप्रित बुम्राह र क्रुनाल पाण्डेयले एक एक विकेट लिएका थिए।
तीन विकेट लिएका भारतीय बलर कुलदीप यादव खेलको म्यान अफ द म्याच बनेका थिए। सिरिजको दोस्रो खेल मंगलबार हुदै छ।