• २०८१ बैशाख १२ बुधबार

पिपिएलमा ब्याटिंगमा विदेशी खेलाडीको दबदबा : हरिशंकर र भिमले देखाए आशा  

kharibot

युवा खेलाडी हरिशंकर शाह र भीम सार्की

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को अब फाइनल खेल मंगलबार हुदै छ। प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजले उपाधिका लागि मंगलबार खेल्दै छन्। 

सुरुका २ खेलमा पराजति भएर प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै चितवन राइनोजले फाइनलसम्मको यात्रा तय गरेको छ भने पोखरा पल्टनले पनि ५ मा ३ खेलमा जित हासिल गर्दै रनरेटको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो। 

प्रतियोगितामा सुरुवातको कुरा गर्दा पोखरा पल्टनले पहिलो खेलमा सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर टाईटन्सलाई ५८ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। तर दोस्रो खेलमा पोखरा पल्टन बुटवल ब्लाष्टर्ससँग ३३ रनले पराजित भएको थियो। पोखरा पल्टनले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको जित निकाल्दै कमब्याक गरेको थियो। त्यस्तै चौथो खेलमा धनगढी ब्लुजसँग २ विकेटले पराजित भएको पोखरा पल्टनले पाचौ खेलमा काठमाडौँ रोयल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। 

त्यस्तै चितवन राइनोजको फाइनल यात्रा भने पोखरा पल्टनको भन्दा अलि फरक गरेको छ। चितवनले सुरुका दुई खेलमा हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेको थियो। चितवन राइनोजले पहिलो खेलमा बुटवल ब्लाष्टर्ससँग ७० रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटको हार बेहोरेको थियो। सुरुका २ खेलमा हार बेहोरेको चितवन राइनोजले तेस्रो खेलमा धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दै उत्कृष्ट कमब्याक गरेको थियो। त्यस्तै चितवन राइनोजले आफ्नो चौथो खेलमा काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै प्रतियोगित मा फर्किएको थियो। समुह चरणको अन्तिम खेलमा चितवनले विराटनगर टाईटन्सलाई ४ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो हुदै इलिमिनेटर खेल्न छनौट भएको थियो। चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। 

खेलाडीको प्रदर्शन :

पोखरा पल्टनका खेलाडीको प्रदर्शनको कुरा गर्दा भारतीय खेलाडी रवि इन्दर सिंहले पोखराका लागि ५ खेलमा सर्वाधिक १७० रन बनाएका छन्। त्यस्तै असिफ सेखले ५ खेलमा १११ रन बनाउदै पोखराका लागि दोस्रो धेरै रन बनाएका छन्। पोखरा पल्टनको ब्याटिंग लाइनअप राम्रो भएपनि कप्तान शरद भेसवाकरले ५ खेलमा केवल ७७ रन बनाएका छन् भने रोहित पौडेलले ५ खेलमा ६७ रन मात्र बनाएका छन्। त्यस्तै बलिङतर्फ ललित राजबंशीले ५ खेलमा  विकेट लिदै पोखराका लागि धेरै विकेट लिने खेलाडी बनेका छन्। त्यस्तै युएइका बलर मोहमद नावेद र स्पिनर बिक्रम भुसालले ५ खेलमा ६-६ विकेट लिएका छन्। 

त्यस्तै चितवन राइनोजका खेलाडीको कुरा गर्दा भारतीय खेलाडी सन्नी पटेलले चितवनका लागि ६ खेलमा सर्वाधिक १५१ रन बनाएका छन्। त्यस्तै नेपाली युवा खेलाडी हरिशंकर शाहले चितवनका लागि ६ खेलमा २ अर्धशतकसहित १४३ रन बनाएका छन् भने अर्का भारतीय खेलाडी स्मित पटेलले चितवनका लागि ६ खेलमा ११७ रन बनाएका छन्। त्यस्तै कप्तान पारस खड्काले ६ खेलमा ९६ रन बनाएका छन्। त्यसैगरि चितवनका बलरको कुरा गर्दा करन केसीले प्रतियोगितामा नै अहिलेसम्म धरै विकेट लिएका छन्। करनले ६ खेलमा ११ विकेट लिएका छन्। त्यस्तै चितवनका सन्नी पटेलले ९ विकेट लिएका छन् भने स्मित पटेलले ७ र कप्तान पारसले ५ विकेट लिएका छन्। 

नेपाली खेलाडी भर्सेज विदेशी खेलाडी :

पिपिएलमा ब्याटिंगमा विदेशी खेलाडीको दबदबा कायमै रह्यो।  परम्परागत रुपमै नेपाली खेलाडीको ब्याटिंग पिपिएलमा कम्जोर नै देखियो। अहिलेसम्म पिपिएलमा काठमाडौँ रोयल्सबाट खेलेका भारतीय खेलाडी गौरव तोमारले ६ खेलमा सर्वाधिक २१२ रन बनाएका छन् जसमा गौरवले धनगढी ब्लुजविरुद्ध खेलेको ९५ रनको पारी सामेल छ। यस प्रतियोगितामा यो रन नै एक इनिंगमा सर्वाधिक रन बनेको यहि हो। त्यस्तै विराटनगर टाइटन्सबाट खेलेका पाकिस्तानका युवा खेलाडी मुहमद जैद आलमले ५ खेलमा २०९ रन बनाउदै प्रतियोगितामा अहिलेसम्म धेरै रन बनाउने खेलाडी बनेका छन्। 

त्यस्तै तेस्रो स्थानमा धनगढी ब्लुजका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन्। दिपेन्द्रले ५ खेलमा १८९ रन बनाए। दुई अर्धशतकसहित १८९ रन बनाएका दिपेन्द्र प्रतियोगितामा अहिलेसम्म धेरै रन बनाउने नेपाली ब्याट्सम्यान हुन्। 

त्यस्तै धेरै रन बनाउने सुचिमा चौथो स्थानमा पोखरा पल्टनबाट खेल्ने भारतीय खेलाडी रवि इन्दर सिंहले १७१ रन बनाएका छन्। त्यस्तै पाचौ स्थानमा धनगढी ब्लुजबाट खेलेका इङल्याण्डका पिटर ट्रेगोले १६६ रन बनाएका छन्।  त्यस्तै छैठौ स्थानमा चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेलले १५१ रन बनाएका छन्। 

त्यस्तै सातौ स्थानमा  चितवनका नेपाली खेलाडी हरिशंकर शाहले १४३ रन बनाएका छन्। उनी धेरै रन बनाउने दोस्रो नेपाली खेलाडी हुन्। त्यस्तै आठौ स्थानमा राष्ट्रिय टिमका उपकप्तान तथा काठमाडौँ रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले १३३ रन बनाएका छन्। त्यस्तै नवौ स्थानमा बुटवलबाट खेलेका युएइका कप्तान रोहन मुस्तफाले १२७ रन बनाएका छन्। त्यस्तै दशौ स्थानमा नेपाली युवा खेलाडी भिम सार्कीले बुटवलबाट खेल्दै १२३ रन बनाएका छन्। 

यसरी हेर्दै पिपिएलको फाइनल बाहेकोको खेलमा धेरै रन बनाउने १० मा केवल ४ जना ब्याट्सम्यान मात्र नेपाली खेलाडी रहेका छन्। जसमा हरिशंकर शाह र भिम सार्कीको प्रदर्शनलाई विशेष मान सकिन्छ। 

भिम सार्कीले खेलेका ५ खेलमा दुई खेलमा अर्धशतक बनाए। उनले पोखरा पल्टनविरुद्ध ५४ र विराटनगरविरुद्ध ५० रनको पारी खेले। नेपाल अन्डर १९ टिमका सदस्य समेत रहेका भिमले नेपाली क्रिकेटको ब्याटिंगमा सम्भावना देखाएका छन्।

त्यस्तै अर्का युवा खेलाडी हरिशंकर शाहले चितवनबाट खेल्दै २ अर्धशतक बनाउदै चितवनलाई फाइनलमा पुर्याउन ठुलो योगदान गरेका छन्। उनले धनगढीविरुद्ध ५३ र काठमाडौँविरुद्ध ६० र २६ रन बनाएका थिए। पिपिएलमा विदेशी खेलाडीको ब्याटिंगको दबदबाका बीच यी दुई युवा खेलाडीएल केहि सम्भावना देखाएका छन्।    

अहिलेसम्म बलिङलाई हेर्ने हो भने चितवनराइनोजबाट खेलेका करन केसीले ११ विकेट लिदै शिर्ष स्थानमा रहेका छन् भने विराटनगरको कप्तानी समेत गरेका सन्दीप लामिछानेले १० विकेट लिदै दोस्रो स्थानमा रहेका छन्। त्यस्तै तेस्रो स्थानमा चितवनबाट खेलेका भारतीय खेलाडी सन्नी पटेल र पोखरा पल्टनबाट खेलेका ललित राजबंशीले -९ विकेट लिएका छन्। त्यस्तै बुटवलबाट खेलेका विपिन खत्री, काठमाडौँ रोयल्सबाट खेलेका बसन्त रेग्मी, सुशान भारी र अमरसिंह रौतेलाले ८-८ विकेट लिएका छन्। त्यस्तै पोखरा पल्टनका युवा खेलाडी रसिद खान र चितवनबाट खेलेका भारतीय खेलाडी स्मित पटेलले ७-७ विकेट लिएका छन्। 

यसरी हेर्दा बलिङमा भने नेपाली खेलाडीको दबदबा पिपिएलमा देखिएको छ। धेरै विकेट लिने १० खेलाडीमा ८ जना खेलाडी नेपाली बलर रहेका छन्।

फाइनल प्रिभ्यु :

खेलाडीको प्रदर्शन र कप्तानको प्रोफाइल हेर्दा चितवन राइनोजलाई पिपिएलको बलियो दाबेदार मान्न सकिन्छ। खेलमा तथा प्रतियोगिता कमब्याक गर्ने कलाले माहिर रहेका कप्तान पारस खड्काले फेरी एक पटक आफ्नो त्यो कलालाई पिपिएलमा दोहोराएका छन्। करन केसीको धारिलो बलिङ र सन्नी पटेलको अलराउन्ड प्रदर्शन चितवनको मुख्य हतियार देखिएको छ। 

त्यस्तै सन्तुलित प्रदर्शन गर्दै आफुलाई फाइनलमा पुर्याएको पोखराका लागि युवा खेलाडी प्रदर्शनमा नै धेरै भरपर्नु पर्ने देखिएको छ। आसिफ सेख, रोहित पौडेल, रसिद खानको प्रदर्शनले नै उपाधि जित्ने नजित्ने देखिएको छ।  कप्तान शरद भेसवाकरले कप्तानी राम्रै गरेको भएपनि उनले रन बनाउनु आवश्यक रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै