• २०८१ बैशाख ७ शुक्रबार

स्वास्थ्यसम्बन्धी सुझाव जसले बुढ्यौलीबाट टाढा राख्छ

kharibot

काठमाडौँ । उमेरको वृद्धिसँगै मानिसमा स्वास्थ्यसम्बन्धी अनेक समस्याले सताउन थाल्छ र शारीरिक तथा मानसिक अवस्था कमजोर हुँदै जान्छ । यस्तोमा मानिसलाई आफ्नो जीवन नै बोझजस्तो लाग्न सक्छ ।

तर, यदि नियमित रुपमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने हो भने उमेर ढल्के पनि रोगले आक्रमण गरिहाल्दैन र आनन्दले भरिएको जीवन जिउन सकिन्छ । यदि तपाईं स्वस्थ र लामो उमेर जिउन चाहनुहुन्छ भने यी कुरामा विशेष ध्यान दिनुहोस् :

मधुमेह 
मधुमेहले उमेरलाई सबैभन्दा बढी प्रभावित पार्दछ । यो रोगबाट ग्रस्त मानिसलाई स्वास्थ्यसँग सम्बन्धित अनेक समस्याहरु हुन सक्छन् । यदि यो रोग प्रारम्भिक चरणमा नै पत्ता लगाउन सकेमा रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

यसको लागि समयसमयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । जुन महिलाको कम्मर ३१.५ इन्च र पुरुषको कम्मर ३७ इन्चभन्दा बढी छ, उनीहरुलाई उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र मधुमेह हुने सम्भावना बढी हुन्छ । 

मुटु रोग 
अचेल मुटुसम्बन्धी रोग उमेर ढल्किसकेपछि मात्र नभई युवाहरुमा पनि देखिन थालेको छ । बदलिँदो जीवनशैलीका कारण र धूमपान, मद्यपान जस्ता कुलतका कारण मुटु रोगीको संख्यामा तीव्र गतिमा वृद्धि भइरहेको छ । मुटुलाई स्वस्थ राख्न धूमपानबाट टाढा रहनुपर्छ । धूमपानले फोक्सो र मुटु दुवैलाई त्यतिकै असर पुर्याउँछ ।

समयसमयमा बीएमआई परीक्षण गरी त्यहीअनुसार आफ्नो तौल कायम गर्ने कोसिस गर्नुपर्छ । उच्च रक्तचाप हुने व्यक्तिले आफ्नो आहारविहारमा विशेष ध्यान दिनु आवश्यक छ । मुटुसम्बन्धी रोग हुनेले नुन र मसाला धेरै भएको खाने कुराबाट टाढा रहनु स्वास्थ्यको दृष्टिले राम्रो हुन्छ । 

स्मरण शक्ति 
डिमेन्सिया स्मरणसँग सम्बन्धित ठूलो रोग हो । यो रोग लागेपछि मानिसले आफ्नो नजिकको मानिसलाई चिन्न समेत छोड्छ । उमेर बढेसँगै यो रोगले नसताओस् भन्न स्मरणशक्ति बढाउने कसरत दिनहुँ गर्नु राम्रो हुन्छ । उदाहरणको लागि १०० देखि १ सम्म उल्टो गिन्ती गर्नु, पजल सल्भ गर्नु, चेस खेल्नु, कविता, गीतका हरफ याद गर्नु आदिले स्मरण शक्ति बढाउन अथवा यथावत् राख्न मद्दत गर्छन् । 

तनाव 
अचेल भाडदौडको जिन्दगीमा मानिसहरु सानै उमेरदेखि पढाइ, जागीर, परिवार अथवा अन्य विषयमा तनाव लिने गर्दछन् । तनावले मस्तिष्क, स्नायु र शरीरसम्बन्धी धेरै प्रकारका रोगलाई निम्ता दिन सक्छ । त्यसैले सकेसम्म तनावबाट बच्ने कोसिस गर्नुपर्छ ।

योग–ध्यान गर्नु, साथीभाइसँग घुम्नु, परिवारसँग समय बिताउनु, कुनै पनि कुरा मनमा राख्नुको सट्टा विश्वासिलो व्यक्तिसँग बाँड्नु जस्ता उपायले तनावबाट छुटकारा पाउन सकिन्छ ।

आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनु त पर्छ, तर यसलाई आफूमाथि हावी हुन भने दिनुहुँदैन । यदि यी कुरालाई ध्यान दिने हो भने बूढ्यौलीले सीधै आक्रमण गर्न सक्दैन र उमेर ढल्के पनि स्वस्थ अनि आनन्दले भरिएको जीवन जिउन सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै