• २०८१ बैशाख १४ शुक्रबार

तिहार सुरु भएसँगै बजारमा चहलपहल तीव्र [फोटोफिचर]

kharibot

काठमाडौं । यमपञ्चक सुरु भएसँगै सहरबजारमा किन्ने उपभोक्ताहरुको भीड लागेको छ भने व्यवसायीहरु पनि सरसामान बिक्रीमा व्यस्त भएका छन् । 

पछिल्लो समय संस्कृतिकै रुपमा विकसित भएको दशैँ र तिहारले वर्षेनी बजार तताउने गर्छ । बजारमा कारोबारको हिसाबले समेत ठूलो चहलपहल हुने गर्छ ।

यी ठूला चाडपर्वको समयमा आन्तरिक रुपमा नेपालको आर्थिक चहलपहल बाक्लै हुने गर्छ । मानिसहरुले यही समयमा किनमेल बढी गर्ने भएकाले अहिले मुख्य बजार, सहरका कुनाकुनाका पसलमा ग्राहकको भीड लाग्न सुरु भइसकेको छ । 

विशेष गरी मानिसहरु अहिले निधारमा लगाउने टीका, भाइमसला, दाजुभाइ दिदीबहिनीको लागि विभिन्न किसिमको उपहार, फुलमाला, टोपी, झिलीमिली बत्ती, माटोको दियो, मैनबत्ती लगायतको सामग्री किन्ने हतारोमा छन् । यिनै कारोबारहरुको सम्पूर्ण दृश्य नै समग्रमा तिहार हो । 

यो तिहारमा नेपालमा ६० करोडको झिलीमिली बत्ती आयात भएको व्यवसायीहरुले बताएका छन् । त्यस्तै पाँच करोडभन्दा धेरैको अबिर आयात समेत भएको उनीहरुको भनाइ छ । एक अर्बभन्दा धेरैको भाइमसला नेपालमा आयात हुने गरेको छ भने फुल आयातमा मात्र १ करोड २० लाख खर्च हुने गरेको छ । 

त्यसैगरी, थोरबहुत सुनचाँदीका गहनाको कारोबार त हुन्छ नै, ढाकाटोपी १ सय ५० देखि माथि मूल्यमा किनबेच हुने गरेको व्यवसायी गणेश शाक्यले जानकारी दिए । यसपालि ढाकाटोपी महंगो भएको उपभोक्ता अशोक श्रेष्ठले बताए ।

त्यस्तै, पसलमा पेस्ताको भाउ बढेको छ भने ओखर पाउको १५० रुपैयाँमा किनमेल भइरहेको पाइएको छ । 

यता मखमली फूलको माला गोटाको ३० र सयपत्रीमाला गोटाको ५० मा बिक्री भइरहे पनि क्रमशः महंगो हुने देखिएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यसपटक तीन सयपत्री फूलका माला आयात गर्न लागिएको छ । काठमाडौंमा दैनिक १७ देखि २० हजार माला खपत हुने गर्छ । 

राजधानीको व्यस्त र चर्चित बजारक्षेत्र असनमा कमलको फूल, लक्ष्मीका फोटा सयपत्री, मखमली फूल र मालालगायतका सरसामानहरु किन्ने उपभोक्ताको भीड लागेको छ भने लक्ष्मीपूजालाई लक्ष्य गरी व्यापारी, व्यवसायीले मालाहरु आयातको तयारी थालिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै