• २०८१ बैशाख ७ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि सम्झौता, यसरी गरिन्छ मर्मत 

kharibot

फाइल तस्बीर

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो । 

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । धावन मार्ग स्तरोन्नतिको काम शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । 

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले सम्झौतासँगै विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइने बताउनुभयो । उहाँका अनुसार अबको एक सातापछि आयोजनाका साथ अघि बढाइनेछ । काम थाल्नुअघि पूर्णरुपमा तयारीका लागि सामग्री र जनशक्ति दुवैको व्यवस्था गरी अप्रिलको पहिलो सातादेखि धावनमार्ग कालोपत्र शुरु गरिनेछ । 

विमानस्थल दश घण्टा बन्द हुने 

क्यानको योजनाअनुसार आगामी अप्रिल १ तारीखबाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनको साथमा राति धावनमार्ग बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुनेछ । 

धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाएपनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी धावन मार्गको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । करिब चार महीनामा धावनमार्गको कालोपत्रको काम सकिनेछ । धावनमार्गको काम सकेपछि बाँकी अरु चार महीनामा ट्याक्सी चल्ने मार्ग लगायतका काम सकिनेछ ।     

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ । 

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार आगामी फागुनदेखि चार महीना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिनेछ । 

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ । विमानस्थलका अनुसार धावनमार्ग खासगरी जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ । 

यसरी गरिन्छ मर्मत 

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । 

क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमले धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ । खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । सो कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् । 

चुनौतीपूर्ण काम 

धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरण पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनकी पहिलो पटक यो काम गर्दैछौँ”, गौतमले भन्नुभयो । बारम्बार कालोपत्र उप्किएर अवरुद्ध हुँदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिने भएको हो । 

विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत शुरु गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्र उक्काएर मर्मत गरिनेछ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्र हटाएर नयाँ कालोपत्र हाल्ने प्राधिरणको योजना छ । कालोपत्रको काम हुँदा कुनै समस्या आउन नदिनसमेत सतर्कता अपनाइएको छ । त्यसका लागि आवश्यक सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको विमानस्थलले जनाएको छ । 

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्र फेरिएको छैन । विमानस्थलको कालोपत्र सामान्य मर्मत गर्दै काम चलाइँदै आएको छ । 

विमानस्थलमा अहिले दैनिक करीब १०० अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । यो विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा ३१ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै