काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको छ। आज टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६० रन बनाएको थियो।
चितवन राइनोजका लागि कप्त पारस खड्काले ५१ रन बनाएका थिए। ३७ बलमा प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक बनाएका पारसले ९ चौका हानेका थिए। चितवनका लागि भारतीय ब्याट्सम्यान सन्नी पटेलले तुफानी ब्याटिंग गर्दै २१ बलमा ४३ रन बनाएका थिए। त्यस्तै अनिलकुमार शाहले ३७ रनको योगदान दिएका थिए। त्यस्तै आरिफ सेखले अविजित १४ तथा हरिशंकर शाहले ८ रनको योगदान गरेका थिए।
त्यस्तै पोखरा पल्टनका कृष्ण कार्कीले २ विकेट लिएका थिए भने मोहमद नावेद र ललित राजबंशीले एक एक विकेट लिएका थिए। त्यस्तै चितवनका कप्तान पारस खड्काको विकेट पोखराले रनआउटको रुपमा लिएको थियो।