• २०८१ बैशाख ६ बिहीबार

सर्पले टोकेपछि आफ्नो मृत्युको नोट लेख्ने वैज्ञानिक 

kharibot

इतिहासमा यस्ता धेरै उदाहरण छन् जसले कुनै अध्ययनको लागि आफ्नो ज्यानसमेत दिए । त्यस्तैमध्ये एक हुन् कार्ल प्याटर्सन सिमिट । 

सन् १९५७ सेप्टेम्बरमा अमेरिकाको सिकागोमा अवस्थित एक चिडियाखानामा काम गर्ने एक व्यक्तिले अचम्मको सर्प भेटे । करीब ७६ सेन्टिमिटर लामो यो सर्प कुन प्रजातिको हो भनी बुझ्न उनले सिकागोको न्याचुरल हिस्ट्री म्युजियममा लिएर गए । उनले त्यहाँ एक प्रसिद्ध वैज्ञानिक कार्ल प्याटर्सनलाई भेटे । पब्लिक रेडियो इन्टरनेसनलमा आबद्ध एलिजाबेथ स्याकम्यानका अनुसार सिमिट सरीसृप विज्ञानका ठूला ज्ञाता थिए । 

सिमिटले यो सर्पको शरीरमा धेरै रङका विभिन्न आकृतिहरु थिए । उनी सर्पको प्रजाति पत्ता लगाउन तयार भए । उनले यो प्रजाति अफ्रिकी देशहरुमा पाइने कुरा पत्ता लगाए । 

यो सर्पको टाउको सहाराको घाँसे मैदानमा पाइने बूमस्ल्याङको जस्तो थियो । तर सिमिट आफ्नो अनुसन्धानदेखि त्यति आश्वस्त थिएनन् । त्यसैले आफ्नो नोटमा यो सर्पको बारेमा लेख्दै सिमिटले सर्पको गुदद्वारको भाग नबाँडिएकाले यो बूमस्ल्याङ भएकोमा शङ्का रहेको बताएका छन् । उनले यो शङ्का हटाउन जे गरे, त्यसले उनको मृत्यु हुन पुग्यो । 

सिमिटले सर्पलाई आफ्नो नजिक राखेर त्यसको शरीरमा बनेको आकृतिको अध्ययन गरिरहेका थिए । उनले अचम्म मानेर सर्पको शरीरमा रहेको आकृति र रङलाई हेरिरहेका थिए । अचानक सर्पले उनको औंलामा टोक्यो । सिमिटले उपचार गराउनुको सट्टा औंला चुसेर सर्पको विष निकाल्ने कोसिस गरे । उनले आफ्नो नोटबुकमा सर्पले टोकेपछि भइरहेको अनुभव टिपोट गर्न थाले । 

सिमिटले आफ्नो नोटमा लेखेका छन् :

“४ः३० – ५ः३० ः शरीरमा छटपटी भएजस्तो अनुभव, तर उल्टी भएन, मैले होमवुडसम्म एक ट्रेनमा यात्रा गरें ।”

“५ः३० – ६ः३० ः धेरै चिसो र झट्का लागेको जस्तो अनुभूति, यसपछि १०१.७ डिग्री ज्वरो आयो । साँझ ५ः३० बजे गिँजाबाट रगत आउन थाल्यो ।”

“८ः३०  बजे ः मैले दुई ओटा टोस्ट खाएँ ।”

“राति ९ देखि १२ः२० सम्म ः म आरामले सुतें । त्यसपछि पिसाब गर्दा पिसाबमा रगतको मात्रा धेरै थियो ।”

“२६ सेप्टेम्बरको बिहान ४ः३० बजे ः मैले एक गिलास पानी पिएँ, शरीरमा छटपटी भयो र उल्टी भयो । अपच भएका खाना मेरो पेटबाट बाहिर निस्कियो । त्यसपछि मैले धेरै सहज महसूस गरें र बिहान ६ः३० बजेसम्म सुतें ।”

“बिहान ६ः३० बजे ः मेरो शरीरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँग उसिनेको अण्डा, एप्पल सस, सेरियल्स र कफी खाएँ । त्यसपछि पिसाब आएन, तर तीन घण्टाको अन्तरालमा एक आउन्स रगत निस्कियो । मुख र नाकबाट थोरैथोरै गरी लगातार रगत निस्किरह्यो ।”

त्यसपछि उनले दिउँसो १ः३० बजे आफ्नी पत्नीलाई फोन गरे, तर डाक्टर पुग्दा सिमिटको शरीर पुरै पसिनाले भिजेको थियो । 
उनी बेहोस अवस्थामा थिए । उनलाई तत्काल अस्पताल पुर्याइयो । डाक्टरले उनलाई होसमा ल्याउन धेरै कोसिस गरे । तर, दिउँसो ३ बजे डाक्टरले सिमिटलार्य मृत घोषणा गरे । सास लिन समस्या भएकाले सिमिटको मृत्यु भएको डाक्टरले बताए । 

अफ्रिकी सर्प बूमल्याङको विषले धेरै छिटो असर गर्छ । कुनै चराको ज्यान लिन यसको ०.०००६ मिलिग्राम विष पर्याप्त हुन्छ । 
यो विषको प्रभावले शरीरमा रगतको ढिका जम्न सुरु हुन्छ र शरीरमा रगतको प्रवाह रोकिन्छ । त्यसपछि बिस्तारै विभिन्न भागबाट रगत निस्किन थाल्छ र पीडितको मृत्यु हुन्छ । 

सिमिटको पोस्टमार्टमको रिपोर्टअनुसार उनको आँखा, मुटु, मिर्गौला, फोक्सो र दिमागबाट रगत बगेको थियो । 

उनलाई डाक्टरसँग उपचारका लागि जान अनुरोध गर्दा यसले विषको लक्षण पत्ता लगाउन गाह्रो हुने भनी अस्वीकार गरेको बताइन्छ । 

सिमिटको जिज्ञासाले नै उनको मृत्यु भएको केहीले बताएका छन् । सिमिट एक प्रतिष्ठित वैज्ञानिक भएको र यो विषको असर कम गर्ने औषधि अफ्रिकामा मात्र उपलब्ध हुन्छ भन्ने थाहा पाएकाले मृत्युलाई स्वीकार गरेको पनि कतिपयको भनाइ छ । 

सिमिट आफ्नो मृत्युदेखि अलिकति पनि हच्किएनन्, बरु अज्ञात बाटोमा अघि बढे भनी पब्लिक रेडियो इन्टरनेशनलकी साइन्स फ्राइडे कार्यक्रमकी प्रस्तोता टम मेकनामारा भन्छिन् । 

बीबीसी हिन्दीबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै