• २०८१ बैशाख १२ बुधबार

प्रचण्ड र बादल म्याग्दीको तातोपानी कुण्डमा 

kharibot

बेनी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आएका छन् । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड सोमबार यहाँ आएका हुन् । 

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी सीतालाई उपचार गराउन ल्याइएको छ । 

दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुगेका थिए । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला, अध्यक्ष प्रचण्डकी छोरी गङ्गालगायत सहभागी छन् । 

प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उनलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए । 

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ । अध्यक्षको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिए । 

नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरुले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै