काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानको एसियन ओसेनियन कम्प्युटिंग इन्डष्ट्री अर्गनाइजेसन (एसोसिओ)ले दिने एसोसिओ २०१८ डिजिटल गभर्नमेन्ट अवार्ड नेपाल प्रहरीले पाएको छ ।
यही कात्तिक २२ मा जापानको टोकियोमा कम्प्युटर एसोसिएसन नेपाल महासंघका कार्यकारी सदस्य डा. अभिजित गुप्ताले एसोसिओका प्रमुख डाभिड वोंगबाट ग्रहण गरेको उक्त अवार्ड बुधबार प्रहरी प्रधान कार्यालयको एक समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ग्रहण गरेका हुन् ।
उक्त संस्थाले चार विधामा अवार्ड दिने गर्छ । नेपाल प्रहरीले भने डिजिटल गभर्नमेन्ट विधामा उक्त अवार्ड पाएको हो ।
यसलाई एसिया ओसेनियामा सूचना प्रविधि क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छ । सन् १९८४ देखि यो अवार्ड दिने उद्देश्यले एसोसिओको स्थापना भएको हो । संस्थामा २४ राष्ट्रको सहभागिता छ ।