• २०८१ बैशाख १३ बिहीबार

नेकपामा वामदेव 'सकस' 

kharibot

काठमाडौं । नेकपाका वरिष्ठ नेतामध्येका एक वामदेव गौतम पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो भविष्यलाई लिएर अलमलमा परेको देखिएको छ । अघिल्लो वर्षको निर्वाचनमा पराजित हुनुपरेपछि गौतमको राजनीतिक भविष्यप्रति अनेकौँ टीकाटिप्पणी भइरहेका छन् । केही समयअघि मात्रै गौतम काठमाडौंको क्षेत्र नम्बर ७ बाट जननिर्वाचित सांसद्लाई राजीनामा गर्न लगाई संसदमा जाने प्रयास असफल भएपछि गौतमको चर्चा झन् बढेको हो ।

निर्वाचनमा उम्मेदवारी दिने तयारीको ‘सेटिङ’ मिलाउन सफल भए पनि नेकपाकै शीर्ष तह दोस्रो तहका नेताहरुको असहयोग पछि उनको त्यो प्रयास असफल भयो । उनलाई मूलधारे राजनीतिमा ल्याउन काठमाडौं ७ बाट निर्वाचित जनप्रतिनिधि रामवीर मानन्धर आफूलाई ‘बलीको बोको’ बनाउन तयार थिए । मानन्धर आफैँले देशलाई गौतमजस्ता ‘होनहार’ नेताको खाँचो खट्किएको बताउँदै आफूलाई निर्वाचन जिताउने जनताको मतको अपमान विभिन्न मिडियामा अन्तर्वार्ता दिएर गरेका थिए । तर नेकपाभित्रै तीव्र असन्तुष्टि र उक्त पार्टी्विरुद्ध नै व्यापक जनमानसमा आलोचना हुनथालेपछि वामदेव आफैँ पछि हटेका थिए । मानन्धरले त पत्रकार सम्मेलनै गरेर आफूले वामदेवजस्ता नेताको लागि त्याग गर्ने वाचा सार्वजनिक गरेका थिए भने कतिपयले यसलाई प्रचण्डले वामदेवलाई उचालेर अर्का आफूसरहका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई तर्साउने चाल चालेको रुपमा समेत लिएका भए पनि अन्तिम समयमा आएर वामदेवलाई रोकिएको थियो । 

अर्थात् जनमानसमा आलोचना बढ्दा पार्टीप्रतिको नैतिक आस्थामा चोट पुग्ने भन्दै उनलाई स्वयं प्रचण्डबाटै रोकिएको बताइएको थियो । चुनाव हारिसकेपछि नेताको लोकप्रियता खस्किन्छ अर्थात् जनताले नै चुनावमा नेताहरुको कार्यक्षमता हेरी भोट हाल्छन् । वामदेवको हकमा पनि यस्तै भएको थियो । बर्दिया १ बाट प्रतिस्पर्धी कांग्रेसका सञ्जय गौतमसँग हारेका गौतमलाई अन्ततः तीव्र आलोचना भारी हुनपुग्यो । जननिर्वाचितलाई राजीनामा गर्न लगाएर चुनावमा पराजित गौतमलाई संसद बनाउनै पुनः चुनाव गराउने अपरिपक्व राजनीतिक अभ्यास असफल हुनु स्वाभाविक नै थियो । 

कच्चा खेलमा अब मानन्धर हैन, वामदेवचाहिँ राजनीतिक ‘बलीको वेदी’मा चढेको अनुभूति हुनथालेको छ । यस अर्थमा कि यो प्रकरणले वामदेवको राजनीतिक छवि नै धूमिल बन्नपुगेको छ नै, उनको राजनीतिक ‘करिअर’ ख्यालख्यालको दाउपेचमा पुगेको छ । नेपालको राजनीतिमा वामदेव हार नमान्ने राजनीतिक पात्र भएको विगतमा उनको राजनीतिक आरोह अवरोहले देखाउँछ । पार्टी फुटाएर माले बनाउँदा होस् या फेरि पुरानै पार्टीमा फर्किएर आफ्नो राजनीतिक साख फर्काउने कुरामा होस् वामदेवको राजनीतिक निर्णय विगतमा सफल भएको देखिन्छ । तर निर्वाचनमा पराजित भएको एक वर्ष नहुँदै फेरी संसदमा जान सलबलाउनु भित्र राजनीतिक षड्यन्त्रको गन्ध प्रष्ट बुझ्न सकिन्छ । यसमा या त वामदेवलाई बदनाम गरेर आफुले फाइदा लिने या वामदेवलाई प्रयोग गरेर आफुले फाइदा लिने दुवै उद्देश्य हावी भएको देखिन्छ । 

पछिल्लो समयमा त झन गौतमका सरकारविरोधी अभिव्यक्तिले झन् उनको राजनीतिक यात्रालाई शंकास्पद बनाएको छ । सांसद् बन्ने सपनामा कुठाराघात भएसँगै उनले प्रधानमन्त्रीलाई राष्ट्रिय विकास प्राधिकरण गठन गरेर आफूलाई त्यसको प्रमुख बनाउन दबाब दिएका समाचारहरु आएका छन्। यद्यपि कतिसम्म सत्य हो, भन्ने वामदेव नै जानून् तर यहाँनिर ‘हावा नचली पात हल्लिँदैन’ भन्ने लोकोक्तिको सार्थकता पुष्टि हुन्छ । वामदेवले उक्त समाचारको खण्डन गरिसकेका छन्, उनले खण्डन गर्नु स्वाभाविक नै हो तर यसअघि पनि उक्त कुरा मिडियामा नआएको भने होइन । उनले समाचारको खण्डन गर्दै आफ्नो चरित्रमाथि खेलबाड गर्नखोजेको ‘अरन्यरोदन’ गरे पनि सत्ताकै चाबी आफुले लिन गरेको उनको प्रयास असफल भएको ’सत्य’ लाई भने नकार्न सकिन्न। 

पछिल्लो समय भएको वाम गठबन्धन तथा एमाले–एनेकपा माओवादी एकताको सूत्रधारका रुपमा समेत गौतमलाई लिइन्छ । तत्कालीन एमालेको उपाध्यक्षजस्तो पदमा पुगिसकेका वामदेव हाल नेकपा सचिवालय सदस्य रहेका छन् । सचिवालय सदस्य मात्र भएपनि अब हुने एकीकृत पार्टीको महाधिवेशनमा वामदेवको भूमिका निर्णायक व्यक्तिको रुपमा नै हुने देखिन्छ । वामदेवको समर्थनविना न त प्रचण्ड न त ओली सजिलै अध्यक्ष हुने अवस्था देखिदैन यद्यपि प्रचण्ड अध्यक्ष बन्ने मोटामोटी सहमति अहिले नै भइसकेको छ। 
वामदेवको यहि भूमिकालाई मध्यनजर गर्दै पनि प्रचण्ड र ओली दुवै वामदेवसँगको सम्बन्ध न त विगार्न चाहन्छन् न त उनलाई कुनै स्पेस दिन नै। तत्कालिन एमालेको गत महाधिवेशनमा वामदेवको वैशाखी चढेर पार्टी कब्जा गरेका अध्यक्ष ओलीलाई समेत वामदेवले के सम्म गर्न सक्छन प्रष्ट थाहा छ। वामदेवको सोही खुबीलाई मध्यनजर गर्दै गत निर्वाचनमा आफ्नो सम्भावित थ्रेटलाई पराजित गरेको आरोप अध्यक्ष ओलीलाई लागेकै हो।

तर अब परिश्थिति फेरिएको छ। पार्टी एकीकरण भैसकेको अवस्थामा निर्वाचन हारेका वामदेवलाई पार्टीमा राम्रो भूमिका दिएर उनीसँगको सम्बन्ध नबिगारे दुवै अध्यक्षका लागि हितकर हुने देखिन्छ । अन्यथा वामदेवसहित माधव नेपाल र झलनाथ खनाल इतरका नेताहरु एक ठाउमा आए दुवै अध्यक्षलाई आगामी दिनमा पार्टी र सरकार चलाउन मुस्किल हुने देखिन्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै