• २०८१ बैशाख ७ शुक्रबार

यहुदी बालिकासँग हिटलरको दोस्ती ! यस्तो छ रोचक कहानी 

kharibot

विश्व । झट्ट हेर्दा सबैलाई यो तस्बिर साह्रै राम्रो, रमाइलो लाग्नसक्छ । तर सन् १९३३ मा लिइएको यो तस्बिरको पछाडि धेरै रहस्य लुकेको छ । तस्बिरमा देखिएको मान्छे एक जर्मन नेता हो । अझ भन्नुपर्दा उक्त मानिस ६० लाख यहुदीको मृत्युको जिम्मेवार निरंकुश र निर्दयी शासक एडोल्फ हिटलर हो भने ऊसँगै तस्बिरमा देखिएकी बालिका एक यहुदी मूलकी रोजा बर्नाइल निनाओ हुन् । 

हिटलरले आफू शक्तिमा रहँदा धेरै वर्षसम्म यी बालिकासँग दोस्ती बढाइरहे । मेरिल्याण्डमा रहेको एलेक्जेन्डर हिस्टोरिकल अक्सन एजेन्सीका अनुसार हेनरिक हाफम्यानले यो तस्बिर लिएका थिए । यो तस्बिर गत मंगलबार अमेरिकामा ११ हजार ५ सय २० डलरमा लिलाम भयो । 

लिलाम गर्ने बिल प्यानागोपुलसले ब्रिटिस समाचारपत्र डेलीमेलसँग हस्ताक्षरित तस्बिर देखाउँदै यसअघि यो तस्बिर कसैले नदेखेको बताएका थिए । तस्बिर हेर्दा हिटलर र उक्त बालिकाबीचको सम्बन्ध वास्तविक लाग्छ । हिटलरले प्रायः बच्चाहरुसँग प्रचारका बेला फोटो खिचाउँथे । 

(ALEXANDER HISTORICAL AUCTIONS)

हिटलरको प्रेम 
२० अप्रिलमा आफ्नो जन्मदिनको दिन हिटलर र बालिकाबीच भेट भएको थियो । अक्सन वेबसाइटअनुसार रोजा र उनकी आमा क्यारोलिन १९३३ मा बच्चीको जन्मदिनमा आल्प्सस्थित हिटलरको निवास बर्गोफको बाहिर रहेको भीडमा रहेका थिए । 

जब हिटलरलाई उक्त दिन रोजाको पनि जन्मदिन रहेको थाहा भयो । हिटलरले उनलाई र उनकी आमालाई पनि आफ्नो निवासमा बोलाए । जहाँ यो तस्बिर लिइएको थियो । त्यसको केही समयपछि क्यारोलिनकी आमा यहुदी रहेको थाहा भएको थियो । 

तर यसले पनि हिटलर र बालिकाबीचको सम्बन्धलाई कुनै असर पारेन । हिटलरले नै यो तस्बिर आफ्नो हस्ताक्षरसँगै रोजालाई पठाएका थिए । 

(ALEXANDER HISTORICAL AUCTIONS)

उनले लेखेका थिए, 

"प्रिय रोजा निनाओ, एडोल्फ हिटलर, म्युनिख, १६ जुन, १९३३," 

  • उक्त पुस्तकको कभर यस्तो छ - (FRONTLINE BOOKS)

यस्तो लाग्छ कि रोजाले पछि तस्बिरमा आफ्नो स्ट्याम्प लगाइन्, कालो र सेतो रंगको फूल बनाइन् । १९३५ र १९३८ को बीचमा रोजाले हिटलर र उनका नजिकका विलहेम ब्रक्नरलाई कमसेकम १७ चोटिसम्म चिठी लेखे । तर पुनः हिटलरका निजी सचिव मार्टिन बर्मनले रोजा र उनकी आमालाई हिटलरसँग कुनै सम्पर्क नगर्न भनेका थिए । 

फोटोग्राफर हाफम्यानलाई के लाग्छ भने यो आदेशसँग हिटलर पनि खुसी थिएनन् । आफ्नो किताब हिटलर माई फ्रेन्डमा हाफम्यानले हिटलरले आफूसँग भनेको भन्दै लेखेका छन्, कोही त्यस्ता पनि मानिस हुन्छन् जसले मेरो सबै खुसी बर्बाद पारिदिन्छन् । 

दुःखद अन्त्य 
हाफम्यानले १९५५ मा छापिएको उक्त किताबमा उक्त दुई जनाको अर्को एउटा तस्बिर पनि राखेका छन् । जसको क्याप्सन नै हिटलरको प्रेम ः जो उनलाई आफ्नो घरमा देख्न चाहन्थे तर कसैलाई उनी आर्यवंशको नभएको थाहा भयो भन्ने छ । 

हिटलरका निजी सचिवबाट रोजा र हिटलरको सम्पर्क बन्द गराउनुअघिको वर्षमात्रै दोस्रो विश्वयुद्ध सुरु भएको थियो । 

६ वर्षपछि जब युद्ध सकियो, ६० लाख यहुदी मरिसकेका थिए । 

युद्धकै बेला रोजाको पनि मृत्यु भयो । हिटलरसँग भेटेको १० वर्षपछि १९४३ मा म्युनिखमा रहेको एउटा अस्पतालमा १७ वर्षको उमेरमा उनलाई पोलियो रोगले ज्यान लियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै