• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख - अर्जुननरसिंह केसी 

kharibot

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । 

उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको छ। ’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने,‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त? वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें । सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ? वाईडबडीको विवाद त्यस्तै छ । साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सिण्डिकेटको अन्त्य गरेको भनेर सरकारले भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ । उनले भने,‘सरकारले जुनतारा झार्ने कुरा गर्छ । तर, काम भने शुन्य छ ।’

पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउनेगरि मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले कडा आपत्ति जनाए ।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ११२ दिन भैसक्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको बताए । उनले भने,‘निर्मलाका बुवाआमा अनशन बस्नुभएको छ । उहाँहरु विरामी पर्नुभएको छ । तर, सरकारले हत्यारा पत्ता लगाउन सकेन् ।’ निलम्बित एसपीले आफूले त आईजीपीको निर्देशन मानेको हुँ भनेर एक अनलाईनमा बोलेको कुरा सुनाउँदै केसीले सरकारको लागि अपराधी किन ठूलो भएको हो ? भनेर प्रश्न गरे ।

मुलुकमा पछिल्लो समय बलात्कार, हत्या, भ्रष्टाचार, महँगी र मुल्यवृद्धिले चरम सिमा नाघेको तर सरकार भने मुकदर्शक भएर बसेको उनको आरोप छ । केसीले भने,‘सरकार त आफ्ना आफन्तहरुलाई विभिन्न पदमा नियुक्ती गर्न लागिपरिरहेको छ । हुन त यो सरकार ५ वर्षको लागि हो । तर, यो पछिल्लो ९ महिनाको काम हेर्दा पूर्ण रुपमा असफलतातर्फ उन्मुख छ । अझै सरकारको अग्निपरीक्षा बाँकी नै छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै