• २०८१ बैशाख ७ शुक्रबार

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङदी क्लब विजयी

kharibot

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब विजयी भएको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । 

खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन । 

खेलमा मनाङका अञ्जनले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ दुई खेलबाट छ अङ्क जोड्दै अङ्कतालीकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको एक अङ्क छ । 

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै