• २०८१ बैशाख ७ शुक्रबार

एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक 

kharibot

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल मङ्सिर २२ गते (डिसेम्बर ८) शनिबार विराटनगर वारियर र ललितपुर प्याट्रीयट्सबीच हुने भएको छ।

पहिलो दिनको खेल अपराह्न १ बजे सुरु हुने छ भने अन्य दिनका खेलहरु  बिहान ९ बजे र दिउसो १ बजे हुने छन्। प्रतियोगिताको फाइनल खेल पुस ७ गते (डिसेम्बर २२) मा हुने छ। इपिएलका सबै खेलहरु त्रिविस्थित क्रिकेट मैदानमा हुदै छन्। 

आइसीसीको मान्यता : 

इपिएललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ। आइसीसीको मान्यता पछि अब नेपाली राष्ट्रिय टोलीका सदस्यहरुका साथै विदेशी खेलाडीहरुले पनि लिग खेल्न पाउने भएका छन्  । नेपालको क्रिकेट संघ निलम्बनमा रहेकाले यो लिगका लागि आईसीसीको अनुमति जरुरी थियो ।

आईसीसीले यस बर्षका लागि मात्र अनुमति दिएको बताइएको छ । । इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले एक वर्षका लागि आइसिसिले मान्यता दिएको भन्दै त्यसवापत इपिलले २० हजार डलर अर्थात २७ लाख ५० हजार नेपाली रुपैयाँसमेत आइसिसीलाई बुझाएको बताएका छन् ।

दोस्रो संस्करणको इपिएल आगामी मङ्सिर २२ गते देखि पौष ७ गतेसम्म (डिसेम्बर ८ देखि २२ गतेसम्म) हुदै छ । कुल ६ टिम विराटनगर वारियर्स, भैरहवा ल्याडियटर्स, काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्टस, पोखरा राइनोज र चितवन टाइगर्सले भाग लिने इपिएलको पहिलो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो।

गतबर्ष करिब ६० हजार दर्शकले मैदानमा नै गएर यो प्रतियोगिता हेरेका थिए भने विश्वभर २० लाखले प्रत्यक्ष प्रशारण हेरेको आयोजकको दाबि रहेको छ।

यस सिजनको डिजिटलप्रसारण सम्बन्धि सम्झौता नेपाल फ्लिक्ससँग यस अघि नै भैसकेको छ भने एपीवान टिभीमा पनि प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी गराएका छन्। 

त्यस्तै यस सिजनमा खेल्नका लागि युएईका कप्तान रोहन मुस्तफा, जिम्बाबेका सिकन्दर राजा र आयरल्याण्डका केभिन ओ ब्रायनले काठमाडौँ किंग्स एघारसँग खेल्ने गरि सम्झौता गरिसकेका छन्। 

आयोजकका तर्फबाट प्रबन्ध निर्देशक आमिर अख्तरले यस सिजनमा लगानी, अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र प्रशस्त मनोरंजनका कार्यक्रम गरेर इपिएललाई विश्वस्तरको बनाउने जानकारी दिए। उनले अन्तर्राष्ट्रिय तहमा अन्य लिगहरु जस्तै इपिएल पनि सो स्तरको हुने बताउदै दर्शकले मैदानमा आएर प्रतियोगिता हेर्नेमा आफु विश्वस्त रहेको बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै