• २०८१ बैशाख ४ मंगलबार

काँग्रेसको सकस 

kharibot

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले आफ्नो आन्तरिक विवादमा फसेको छ। आइतबार साँझ अबेरसम्म केन्द्रीय समितिको बैठकले आफ्नो विद्यार्थी संघको केन्द्रिय समितिको म्याद २ महिना थपेको छ।     

आफुलाई पुरानो प्रजातान्त्रिक पार्टी भन्ने काँग्रेसको पार्टी भित्रको प्रजातन्त्रको बारेमा त विगतदेखि नै प्रश्न उठिनै रहेको हो तर आफ्नो विद्यार्थी संघको महाधिवेशन समेत समयमा गर्न नसकेर विधान नै संशोधन गरेर म्याद थप्नु पर्ने अवस्थाले काँग्रेसको राजनीतिक अभ्यासमा समेत प्रश्न उठेको छ। प्रजातान्त्रिक राजनीतिक पार्टी त्यो पनि देशको पुरानो पार्टी भित्रको राजनीतिक संस्कारले प्रश्न उठाएको हो। 

काँग्रेसको भद्रगोल नेविसंघमा मात्र होइन तरुण दलमा पनि रहेको छ। तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ । तेस्रो महाधिवेशन भएको १० वर्षपछि २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ । 

पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि हालसम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन । 

पार्टीको तरुण दल हेर्ने गरी दलका पूर्वअध्यक्ष एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, महेन्द्र यादव, सरीता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी, शङ्कर भण्डारी र विश्वप्रकाश शर्मा सदस्य रहेका थिए।

त्यस्तै अघिल्लो साता बसेको केन्द्रिय समितिको बैठकले विजयकुमार गच्छादारलाई उपसभापतिमा नियुक्त गर्यो। काँग्रेसको विधानमै नभएको दुई उपसभापतिको व्यवस्थालाई मिचेर सभापतिले दुई सभापति बनाए। हाल महासमिति बैठकको तयारी गरिरहेको काँग्रेस महाधिवेशनको पनि संघारमा रहेको छ। तर लामो समयसम्म पार्टीका पदाधिकारी नियुक्त गर्न असफल भएको काँग्रेस नेतृत्व खासगरी काँग्रेस सभापति देउवाले विधान अनुसार पार्टीलाई चलाउन असफल भएका छन्। काँग्रेस अहिले पनि टिके प्रथामा आफ्ना संघ संस्थामा नेतृत्व चयन गरिरहेको छ । गुट र उपगुटले गाजिएको काँग्रेस लगातार आफूभित्रको प्रजातान्त्रिक चरित्र देखाउन चुकेको छ। हालै भएको नेविसंघ प्रकरणले यसको फेरी पुष्टि गरेको छ। निर्वाचन सम्पन्न भएको एक बर्षसम्म पनि निर्वाचनमा बेहोरेको हारबाट मुर्मुरिएको काँग्रेसमा नेतृत्वको भिजन र पार्टी चलाउने 'सिस्टम' को अभावमा आउदा दिनमा नेकपालाई चुनौती दिन गाह्रो हुने विश्लेषण गर्न थालिएको छ। 

काँग्रेसमा अर्को समस्या केहि गर्छु भन्ने नेताहरु अल्पमतमा पर्नु पनि रहेको छ। दोस्रो तहका नेताहरु गुटकै खेतिमा लाग्नुले उनीहरुको पार्टी सुधारमा खासै भूमिका देखिएको छैन। उनीहरु गुटका बैठक र शिर्ष नेताहरुको चाकडीमै दिन बिताएको देखिएको छ। तेस्रो तह र युवा नेताहरुको मुद्धा पार्टीमा खासै सुनिएको देखिदैन। बेला बेलामा उनीहरुले आफ्नो विचार राखेर नेतृत्वलाई दबाब दिने प्रयास गरेपनि उनीहरुको संख्या कम हुदा उनीहरुले उठाएका मुद्धा ओझेलमा पर्दै आएका छन्।

त्यस्तै काँग्रेसमा अहिले कोइराला परिवारका तीन नेताहरु एक ठाउमा आएका छन्। महामन्त्री शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइराला एक ठाउमा आएका छन्। उनीहरुले कोइरालाको नयाँ गुट बनाएर महाधिवेशनमा पार्टीको नेतृत्व कोइराला परिवारमा फर्काउने प्रयासमा जुटेका छन्। एक समय काँग्रेस र कोइराला परिवार पर्याय रहेको अवस्थामा हालका सभापति शेरबहादुर देउवाले त्यो परम्परालाई तोड्दै सभापति भएपनि उनको नेतृत्वमा काँग्रेस अहिले इतिहास कै संकटपूर्ण अवस्थामा रहेको छ। तर अहिलेको काँग्रेसको गुटको समीकरण हेर्दा सभापति देउवा या वरिष्ठ नेता रामचन्द पौडेलको सहमति बेगर कोइराला परिवारको हातमा काँगेसको नेतृत्व आउने सम्भावना देखिदैन। 

मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमितिको तयारीमा रहेको काँग्रेस अगाडी केहि महत्वपूर्ण प्रश्न तेर्सिएका छन्। नेविसंघ र तरुण दलका समस्या समाधान गर्न नसकेको या समस्या बढाइरहेको काँग्रेस मूल पार्टी भित्र नै सकसमा रहेको देखिन्छ। पार्टी भित्रको समस्याले काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा कमजोर देखिएको छ ।  आफ्नै  पार्टी भित्रको अप्रजातान्त्रिक अभ्यास कहिलेसम्म जारी रहन्छ ? गुट उपगुटको अन्त्य कहिले हुन्छ ? सरकारको अलोकप्रियताको फाइदा कसरी लिने ? देशको अहिलेको अवस्थामा काँग्रेसको प्रष्ट धारणा के हो ? भन्ने विषयमा काँग्रेस नेतृत्वले कस्तो जवाफ दिन्छ हेर्न बाँकी छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै