छ वर्ष बित्दा पनि भद्रशीलाको शव आएन

खरीबोट

झापा । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन ।

पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए ।

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ गएका नीरज निराश भएर आज घर फर्केका थिए ।

अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए । “आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो”, श्रेष्ठले भने ।

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठले बताए । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ छन् ।

नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएका थिए भन्नेसमेत छोराछोरीलाई जानकारी छैन ।

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएको छोरा नीरजले बताए । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो ।

श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । “हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ”, शव नआएपछि निराश बनेका जेठा छोरा नीरजले भने, “शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।”

सम्बन्धित समाचार

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर

विदेशबाट फर्केका युवालाई सरल कर्जा दिने तयारी

काठमाडौँ। सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन रु १० लाख सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा

काठमाडौँ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रविधिगत सुधार गरी एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको बताएका छन् ।  एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन


z