• २०८१ बैशाख ८ शनिबार

किन काठमाडौँ महानगरलाई कसैले गुनासो गर्दैन ? 

kharibot

काठमाडौं । केन्द्र सरकारको ‘हेल्लो सरकार’को चर्चा त सुनिएकै हो । त्यसकै सिको गर्न स्थानीय सरकारहरुले पनि ‘हटलाइन’ नम्बरबाट उजुरी सुन्ने रहर गरे तर विडम्बना उजुरी गर्ने कोही भएनन् । यसको ज्वलन्त उदाहरण हो काठमाडौं महानगर ।

संघीय राजधानी रहेको नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नको लागि महानगरले हेल्लो महानगर भनेर ‘हटलाइन नं. ११८०’को व्यवस्था गरेको छ । तर तीन महिना भइसक्दा समेत काठमाडौं महानगरलाई गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । उक्त नम्बरमा गुनासो शून्य रहेको छ । त्यसो भए के काठमाडौंमा कुनै गुनासो नै नभएर उजुरी नपरेको हो त ? कि थाहा नभएर ? हरेकप्रकारको प्रविधिको उपयोग गर्ने महानगरबासीले उक्त हटलाइन नम्बर थाहै पाएनन् भनेर डेढ अक्कल गर्नु पनि मनासिब हुँदैन ।  

महानगरबासीलाई समस्याहरु हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त हटलाइनको व्यवस्था गरिएको हो तर कसैले गुनासो नै नगरेपछि त्यसको औचित्य पनि सकिएजस्तो भएको छ ।    काठमाडौँ महानगरपालिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाई आफू महानगरको जनसम्पर्क अधिकृतका रुपमा प्रवेश गरेदेखि हालसम्मको अवधिमा जम्मा ४ वटा मात्रै गुनासो आएको बताउँछन् । 

जुन गुनासा पनि २ जना सर्वसाधारणले गरेका छन् भने बाँकी दुईमध्ये एउटा काठमाडौँ महानगरकै कर्मचारी र अर्को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको छ । साउनदेखि राखिएको हटलाइनको अवस्था हेर्दा लाग्छ काठमाडाँै महामनगरभित्र केही समस्या छैन । 

किन आएनन् गुनासा ? 
काठमाडौँ महानगरलाई नियालेर हेर्नै पर्दैन, महानगरभित्र प्रवेश गर्नेबित्तिकै यहाँको धूवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहोरको दुर्गन्धजस्ता अनेकानेक समस्या छन्, जसले महानगरवासी उकुसमुकुसमा बस्नुपरेको छ । कतिपय स्वास्थ्यविद्हरुले त काठमाडौंमा बिहानै उठेर ‘मर्निङ वाक’ समेत गर्ने वातावरण नभएको बताउँछन् । यति धेरै समस्या हुँदा पनि महानगरलाई किन गुनासो आउँदैन, जबकि महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको छ । यससम्बन्धमा जनसम्पर्क अधिकृत चापागाई भने काठमाडौँ महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर र यसको प्रचारप्रसार नहुँदा गुनासो नआएको बताउँछन् । 

यस्ता थिए चार गुनासा 
आएका गुनासाहरुमध्ये भदौ  ५ गते कलंकीका सिद्धिरत्न स्थापितले कम्पोष्ट बिनको प्रचारप्रसार हुनुपर्ने, कलंकी क्षेत्रमा निस्किएका प्लाष्टिक जलाउने गरिएको हुनाले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल बन्द गर्नुपर्ने, स्कुले विद्यार्थीहरुलाई सार्वजनिक स्थलमा चुरोट खान रोक्नुपर्ने, खाद्यान्नमा भएको मिसावट नियन्त्रण गर्नुपर्यो भनी हटलाइनबाट जानकारी गराएका थिए । 

त्यस्तै, भदौ १९ गते फोहोर मैला व्यवस्थापन गर्न भन्दै रातोपुलका राधेश्याम मित्र र महानगरकै कर्मचारी उदय थापाले फोन गरेका थिए भने असोज ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट माइतीघरमण्डलामा राखिएको नेपालको झण्डा च्यातिएको हुनाले तत्काल फेर्न भन्दै मन्त्रालयका सूचना तथा प्रविधि शाखाबाट सुशील भट्टराईको फोन आएको थियो । त्यस्तै कात्तिक ११ गते  सोल्टी होटलदेखि श्रम कार्यालयसम्म जथाभावी पार्किङ गरेको भन्दै अर्को फोन आएको थियो  । यति नै हुन् महानगरमा अहिलेसम्म आएका गुनासा भनेका । 

यसरी हेर्दा लाग्छ काठमाडौँ महानगरमा कुनै समस्या नै छैन । तर जनसम्पर्क अधिकृत चापागाईं भने ठूलो महानगरमा आएका यस्ता गुनासोलाई शून्य नै मान्नुपर्ने बताउँछन् । गुनासो नआएकामा उनलाई पनि अचम्म लागेको रहेछ, उनले खरीबोटसँग भने, ‘हटलाइनमा महानगरवासीमा परेका सबै गुनासाहरु राख्ने ठाउँ हो तर गुनासो नै आउँदैन के गर्ने ?’

ठाउँको अभाव 
जनताको समस्या महानगरले सिधै सुन्ने भनेर नै हटलाइन राखिएको हो तर विडम्बना महानगरको हटलाइन मेयर सचिवालयसँगै छैन ।

किनकि जनताको समस्या सुन्ने जनताकै प्रतिनिधि अर्थात् मेयरले हो, उनको सचिवालय हो तर जनताको समस्या आउने हटलाइनलाई भने मेयरले टाढै राखेका छन् । ठाउँको अभाव भन्दै यसलाई महानगरपालिका वातावरण विभाग टेकुमा राखिएको छ । 

यसले के बुझ्न सकिन्छ भने महानगर देखावटी रुपमा गुनासो सुन्ने भनिरहेको छ । नभए जनताको समस्यालाई मेयरले नजिकबाट नियाल्ने इच्छा नै राखेका भए हटलाइन आफ्नै सामुन्नेमा राख्ने पहल हुन्थ्यो र जनताहरुले पनि सिधै मेयरसँग, उनको सचिवालयसँग समस्या सुनाउने अवसर पाउने थिए ।

अहिलेसम्म उजुरी नपर्नुमा ठाउँको अभाव, प्रचारप्रसारको अभाव, मेयरको चासो नै नहुनु, महानगरले गम्भीरता नदेखाउनुलाई लिन सकिन्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै