• २०८१ बैशाख ७ शुक्रबार

विराटनगरदेखि विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशसम्म उडान हुने

kharibot

मोरङ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सहयोग मिल्ने बताए । विराटनगरवाट यही मङ्सिर ८ गतेदेखि हिमाली उडान शुरु हुँदैछ ।

उनले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसङ्ख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा व्यक्त गरे ।

उक्त हिमाली उडानबाट पर्यटकले कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा र गौरीशङ्कर हिमाललाई नजीकबाट अवलोकन गर्न सक्नेछन् । मन्त्री कुसियतले प्रदेश सरकारले तेस्रो देशका पर्यटकलाई यस क्षेत्रमा आवागमन सहज तुल्याउन आगामी केही दिनभित्र विराटनगर र पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिने बताए ।

मन्त्री कुसियतले पर्यटकलाई आकर्षण गर्न यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र पदमार्ग निर्माण तथा जीर्ण मठमन्दिरको मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै पर्यटकको बसाइ अवधि बढाउन निजी क्षेत्रको सहयोगमा सुविधासम्पन्न होटल, चमेनागृह र घरबासको व्यवस्था मिलाइएको जानकारी दिए । उनले विराटनगर विमानस्थलबाट भारतका विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशका शहरमा अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी सङ्घीय सरकारमा पठाएको बताउँदै स्वीकृत हुनासाथ उडान सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ मा रहेका १४ विमानस्थलमध्ये हाल विराटनगर–तुम्लिङटार मात्र सञ्चालन भएकामा आगामी केही दिनभित्र विराटनगरलाई केन्द्रविन्दु बनाई उडान सञ्चालन गरिनेछ ।

पर्यटनमन्त्री कुसियतले विराटनगरबाट अन्तरदेशीय उडानअन्तर्गत पोखरा, नेपालगञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा उडानका लागि सङ्घीय सरकारलाई अनुरोधसमेत गरिएकाले चाँडै सञ्चालन हुने विश्वास व्यक्त गरे । उनले विराटनगर–पोखरा उडानका लागि निजी क्षेत्रबाट धेरै अनुरोध आएको तथा स्वदेशी तथा छिमेकी पर्यटकको चासो र चाहना भएको पाइएकाले केही हप्ताभित्र सञ्चालन हुने विश्वास पनि व्यक्त गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै