• २०८१ बैशाख ८ शनिबार

म किसानको बच्चा, किसानको बच्चासँग हुने सामान्य कथाहरू लेखेको छु : रमेश सायन 

kharibot

असोजमा ‘छुटेका अनुहार’ निबन्धसंग्रह सार्वजनिक भएपछि रमेश सायन अहिले साहित्यक्षेत्रमा चर्चामा छन् । २०७० सालमा ‘नाम धनिमाया थारू वर्ष चौरासी’ शीर्षकको कविताबाट साताको साहित्य पुरस्कार जितेका सायनको यसअघि २०७१मा ‘भागेर भूगोलभरि’ कवितासंग्रह प्रकाशित छ । इटहरीमा ‘९० एमएल’ क्याफे चलाएर बसेका उनी लिपी बुक्सले बजारमा ल्याएको ‘छुटेका अनुहार’को दोस्रो संस्करणलाई अन्तिम रुप दिन अहिले काठमाडौंमा छन् । प्रस्तुत छ उनीसँग खरीबोटले गरेको कुराकानीको सम्पादित अंश :

‘छुटेका अनुहार’को लागि पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

मिश्रित प्रतिक्रिया आइरहेका छन् । कति मान्छेहरूले राम्रो छ भन्नुहुन्छ । कति मान्छेबाट मैले धेरै कुराहरू सिकिरहेको छु । किताब नलेखेको भए त्यति धेरै कुराहरू सिक्न पाउँदिनथेँ होला, मैले । यो किताबपछि मेरो सिकाइको क्रम जारी छ ।

प्रतिक्रियाहरूबाट सन्तुष्ट हुनुहुन्छ ?

राम्रो प्रतिक्रिया आउँदा आम मान्छेजस्तै म पनि खुसी हुन्छु । एकदमै आलोचनात्मक प्रतिक्रिया आउँदा आम मान्छेजस्तै म पनि बेखुसी हुन्छु । म सामान्य मान्छे त हो । कुनै–कुनै प्रतिक्रियाले मलाई एकदमै प्रेरणा दिन्छ । कुनै–कुनै प्रतिक्रियाले राम्रो लेखनको लागि म अब सुध्रिनुपर्छ भन्ने बनाउँछ भने कुनै प्रतिक्रियाले लेख्न छोड्नुपर्छ जस्तो पनि बनाउँछ ।

आफ्नो पुस्तकको पाठक आफैँ भएर पढ्दा कस्तो लाग्छ तपाईंलाई ?

पाठक भएर हेर्दा म साह्रै राम्रो लेखक पनि हैन साह्रै खराब लेखक पनि होइन जस्तो लाग्छ ।

अहिले कविहरूको उपन्यास लेख्ने होडबाजी छ । तपाईं कवितामा रमाउने मान्छे कसरी निबन्धमा आउनुभयो ?

मैले कविता लेख्न छाडेर निबन्ध लेखेको हैन । म कविता लेख्दा आफूले लेख्न खोजेको विषयलाई दर्शाउन सक्दिन कि भन्ने लाग्यो भने निबन्ध लेख्ने गर्छु । फेरि राम्रो किताब हुनको लागि प्रत्येक ठाउँमा काव्यात्मकता हुनैपर्छ । यस पुस्तकमा पनि तपाईंले काव्यात्मकता भेट्नुहुन्छ । अरु कविहरूजस्तो म उपन्यासमा नलाग्नुको कारण भन्नुपर्दा मैले आफ्नो क्षमतालाई राम्रोसँग चिनेको छु । मैले उपन्यास लेख्नै सक्दिन । अरु साथीहरूले राम्रो राम्रो उपन्यासहरू लेखिरहनुभएकै छ ।

‘छुटेका अनुहार’ पाठकलाई तपाईंको संस्मरणजस्तो लाग्छ । तपाईंका नितान्त व्यक्तिगत कुराहरू सतहमा आएका छन् । त्यी कुराहरू बाहिर आउँदा जोखिममा त पर्नुभएन ?

म किसानको बच्चा । किसानको बच्चासँग हुने सामान्य कथाहरू लेखेको छु । मैले मेरो कुरा भन्दाखेरि मेरो वर्गको मान्छेको कुरा पनि सँगसँगै आउँछन् । यसअर्थमा मैले आम मान्छेको कथा लेखेको छु ।

भन्नेले त कुनै लेखकले केही लेख्न नसकेपछि आफ्नो कुरा लेख्छ भन्छन् तर अबको साहित्यमा पहिचानको, र ‘सेल्फ’का कुराहरू लेख्नुपर्छ जस्तो मलाई लाग्छ । आफ्नो कुरा लेख्दा आफ्नो र अरुको पनि कुरा आउँछ तर अरुको कुरा लेख्दा आफ्नो कुरा छुट्न जान्छ ।

मभित्र राम्रा नराम्रा दुवै पाटाहरू छन् । मैले पुस्तकमा आफैँलाई खराब भनेको छु अरु पात्रहरूलाई खराब भनेको छैन । त्यसैले त्यस्तो जोखिममै भने पर्नुपरेको छैन ।

म व्यावसायिक लेखक पनि होइन र मलाई लेखेरै बाँच्न पनि पुग्दैन । त्यसैले अरुले जस्तै परिवार पाल्न र जीविकोपार्जनको लागि मैले क्याफे खोलेको हुँ ।

विशेषतः कोरिया गएपछि तपाईं आख्यानतर्फ ढल्किनुभयो । त्यहाँ रहँदा बस्दा केही कुराले अभिप्रेरित गरेर हो ?

म मजदुर हुँ । यहाँ हुँदा पनि मजदुरी गरेर बाँच्थेँ । कोरियामा हुँदा पनि मजदुरी नै गरें । त्यहाँ मेरा साथीहरू पनि मजदुर नै हुने भएकाले त्यसले मलाई कामका र संघर्षका कुराहरू लेख्न प्रेरित गर्यो । मजदुरको कुरा मजदुरले नै लेख्नुपर्छ भन्ने लाग्यो अनि लेख्न थालें । विनोद चौधरीले मजदुरको कुरा लेखेर हुँदैन । त्यस्तै मैले पनि सुनको थालमा भात खाएकाजस्ता ठूला–ठूला कुरा लेख्दा सुहाउँदैन ।

किन साना–साना कुराहरू नै लेख्न मन पराउनुहुन्छ ?

मेरो विचारमा साना–साना कुराहरू जीवनसँग जोडिएका हुन्छन् । म विभेदका, कामका कुराहरू लेख्ने गर्छु । सीमान्तकृतहरूको बारेमा लेख्छु । त्यस्ता कुराहरूले नै मलाई छुन्छ । मलाई लाग्छ ससाना कुराहरू नै ठूला–ठूला दर्शनहरूको लागि धरातल हुन् । सानो कुरा नै नलेख्ने हो भने ठूलो कुराको सम्भावना नै रहँदैन ।

समकालीन साहित्यमा आइरहेका कृतिहरू कस्ता लाग्छन् तपाईंलाई ?

अहिले साहित्य बजारको विकास भइरहेको छ । पाठकहरू पनि बढिरहेका छन् । नयाँ–नयाँ कुराहरू र नयाँ नयाँ विषयवस्तुहरूमा लेख्ने क्रम बढेको छ । अहिले आफ्ना कुरा लेख्ने समय छ । मलाई आशा लाग्दो नै लाग्छ अहिलेको समय ।

अहिले केमा व्यस्त हुनुहुन्छ ? भविष्यमा कस्तो पुस्तक ल्याउने तयारी गर्दै हुनुहुन्छ ?

तत्कालै त्यस्तो केही छैन । म यही किताबको प्रतिक्रियाहरू नियालिरहेको छु । मैले किताबै निकाल्छु भनेर कहिल्यै तयारी गरिनँ । मेरा दुईवटा किताब आए । ती लेख्दै जाँदा आएका हुन् । अहिले पनि लगातार आफ्ना कुरा लेखिरहेको छु । भोलि लेख्दै जाँदा किताब बन्यो भने पनि ठीकै छ बनेन भने पनि ठीकै छ ।

कोरियाबाट फर्केपछि क्याफे नै खोल्ने सोच कसरी आयो ?

म तीन वर्ष मजदुरीको लागि दक्षिण कोरियामा रहें । अब कमाएर पुग्यो भन्ने लाग्यो अनि फर्कें । यहाँ आएपछि आम मान्छेले बाँच्नको लागि जे गर्छ, मैले नि ठ्याक्कै त्यस्तै गर्ने हो । म व्यावसायिक लेखक पनि होइन र मलाई लेखेरै बाँच्न पनि पुग्दैन । त्यसैले अरुले जस्तै परिवार पाल्न र जीविकोपार्जनको लागि मैले क्याफे खोलेको हुँ ।

अन्त्यमा, आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

मैले ‘छुटेका अनुहार’मा आफूसँग र जीवनसँग जोडिएका कुराहरू जसरी नढाँटीकन लेखेको छु, तपाईं पनि पुस्तक पढेर आफूलाई जेजस्तो लाग्छ नढाँटीकन प्रतिक्रिया दिनुहोला । म तपाईंहरूको प्रतिक्रियाबाट सिक्न चाहन्छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै