• २०८१ बैशाख ८ शनिबार

कसरी बढाउने नेपालमा पर्यटकीय आगमन ? 

kharibot

काठमाडौं । अहिले कर्णाली भ्रमण वर्ष चल्दै छ । पूर्वाधारको अवस्था कमजोर छ । धेरै आकर्षक गन्तव्यहरु छन् तर पूर्वाधारको कमीले गन्तव्य लोकप्रिय हुनसकेको छैन । पछिल्लो समय घुम्ने ट्रेन्ड बढेको छ । यसले आर्थिक विकासमा टेवा पुर्याउँछ । आर्थिक गतिविधि सञ्चालन हुन्छ । कम्तीमा पनि पाँच वर्षको एक पटक पर्यटन वर्ष मनाउन सकियो भने राम्रो हुन्छ । स्थानीय उत्पादनले बजार पाउँछ । 

पूर्वाधार निर्माण हवाइस्थल, हवाइजहाज हामीसँग प्रशस्त भएन भने २० लाख विदेशी पर्यटक ल्याउन चुनौतीपूर्ण देखिन्छ । सडक पूर्वाधार सुस्तगतिमा छ । तुइन अझै प्रतिस्थापन हुन सकेको छैन । बेथिति हटाउन नसकेसम्म पर्यटनबाट आर्थिक अवस्था बलियो हुँदैन । टुरिज्म प्रोडक्टहरु सोकेस गर्न सक्नुपर्छ । गौतमबुद्ध विमानस्थल भैरहवा २०१९ को अन्तिमसम्ममा विमान अवतरण गराउन सफल हुनेमा जानिफकारहरुले अझै शंका व्यक्त गरेका छन् । पर्यटन गतिविधि बढाउनको लागि २०१९ को मध्यबाट नै विमानस्थल सञ्चालन आएको हुनुपर्छ । 

अहिलेजस्तो अवतरणको लागि पर्खिनुपर्ने, उड्नको लागि धेरै समय पर्खिनुपर्ने वातावरण रहनुहुँदैन । एयरपोर्ट राम्रो हुनुपर्छ । विमानस्थल घरको ढोका हो, आँगन हो । प्रवेशद्वार नै प्रभावकारी रुपमा प्रस्तुत गर्न सकेनौँ भने आगन्तुकका मनमा सन्दिग्धता पलाउँछन् । फर्केर नआउन सक्छन् । फर्केर आउन मन लाग्ने वातावरण बनाउन सक्नुपर्दछ ।  

पर्यटक केका लागि आउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । पहिला अतुलनीय पर्यावरणले नेपालमा मान्छे आउन रुचाउँथे । अहिले गाउँ, पहाड, डाँडाकाँडा सबै काटेर सडक बनेका छन् । पर्यावरण, प्रकृति नष्ट भएको छ भलै केही आर्थिक गतिविधि भएको किन नहोस् । प्रकृतिको संरक्षण हुनुपर्छ । वन्यजन्तुको संरक्षण हुनुपर्छ । आवश्यकता पहिचान गरी अनावश्यक रुपमा जथाभावी विनाशको काम रोक्नुपर्छ । 

कामहरु सुरु हुनुपर्ने आवश्यक कर्मचारी तयार पार्नुपर्ने काम भएको छैन ।

संस्कृति अतुलनीय छ । हामी संस्कृतिमा धनी छौं । नेपाल भ्रमणवर्षको गृहकार्य अझै सुरु भएको छैन, सचिवालय बनेको छैन । कामहरु सुरु हुनुपर्ने आवश्यक कर्मचारी तयार पार्नुपर्ने काम भएको छैन । कार्यक्रम संयोजकको पनि नियुक्ति गर्नुपर्ने देखिन्छ । मन्त्रालयको नेतृत्वमा नेपाल भ्रमण वर्ष सचिवालयले काम सुरु गरिसकेको हुनुपथ्र्यो । जति सक्दो चाँडो काम हुनुपर्छ । विकासको खुड्किला चढ्दै गर्दा समाजमा, सरकारमा पर्यटनप्रति चेतनामा कमी अझै पनि रहेको देखिन्छ । जनचेतनाको लागि व्यापक प्रचार गर्नुपर्छ । यो बाटो पर्यटक हिँड्छ राम्रो हुनुपर्छ सबै सचेत हुनुपर्छ, बाटोमा संकेत हुनुपर्छ । 

विदेशी कम्पनीबाट नेपालीलाई आर्थिक रुपले फाइदा हुँदैन । जबसम्म राष्ट्रिय ध्वजावाहकले सम्पूर्ण रुपमा आफ्नो सम्भाव्य बजारहरुमा सेवा पुर्याउन सक्दैन, तबसम्म पर्यटकबाट आउने आम्दानीअनुरुपको राजस्वमा नेपालीको पोल्टामा आउनसक्दैन । आम्दानी विदेशी हवाइ कम्पनीहरुले लिँदै जान्छन् । मुख्य आम्दानीको स्रोत हवाइजहाज पनि हो । त्यतातिर विचार नगरी टाउको गन्ने परिपाटीमा हामी गयौं भने २० लाख पर्यटक आएर पनि आर्थिक गतिविधिमा हामी अझै पछाडि नै हुन्छौं ।  

पर्यटन उद्यमीले ५० लाख पर्यटको कल्पना गरेका छन यो त सम्भव छैन । त्यस किसिमको पूर्वाधार हामीसँग छैन र हामीले देखाउने हिमाल, ट्रेकिङ सर्किट हो ।  २०७२ सालको भूकम्पले क्षति भएका सम्पदाको पनि पुनर्निर्माण भइसकेको छैन । धरहरा, रानी पोखरी हराएको छ । हामी टावर बनाउने मोनोरेल चलाउने परिकल्पनाहरुलाई अगाडि बढाउँदै छौं । काठमाडौंको जनघनत्व बढ्दै गयो भने पर्यटकहरु आउन चाहँदैनन् । काठमाडौँ सडकमा करिब २० लाख गाडी गुड्ने गर्छन् । बढ्दै गएर दुर्घटना झेल्नुपर्ने अवस्था सधैँ भयो भने काठमाडौंमा रहेका आकर्षण, सम्पदा क्षेत्र यसरी नै भताभुङ्ग अवस्थामा रह्यो भने भ्रमण गर्न आउनेमा राम्रो म्यासेज जाँदैन । यसले पर्यटकमा उदासीनता बढाउँछ ।  

यस्तो थियो पहिलो नेपाल भ्रमण वर्ष
पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउँदा २ सय जना विदेशका चर्चित व्यक्तित्वहरु जो नेपाललाई माया गर्ने एडमण्ड हिलारी, देवानन्द, विदेशका टुरिज्म क्षेत्रमा काम गर्ने व्यवसायीहरु महत्वपूर्ण व्यक्ति बोलाएर, भक्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम गरिएको थियो । गीतहरुको रचना, गीत प्रतियोगिताहरु भ्रमण वर्ष गीतहरु निकै प्रचलनमा थिए । यात्रामा यी गीत सुन्ने ‘ट्रेन्ड’ नै चलेको थियो । पर्यटनसँग सम्बन्धमा नयाँ किसिमको सोच विकास गराउन सफल हुनु त्यतिबेलाको सबैभन्दा ठूलो उपलब्धि हो । पौच लाख पर्यटक भित्र्याउने लक्ष्यमा पुग्न लगभग सफल भएका थियौ !   त्यतिबेला गरिएका काम पछिल्लो पुस्तासम्म अनुकरणीय हुन्छ । सन् २०२० मा २० लाख पर्यटक आउने देखिन्न !

२०२० देखि पर्यटकको गन्ती सुरु हुन्छ । तर २० लाख पुग्ने अवस्था हामी देख्दैनौं ।

२०२० देखि पर्यटकको गन्ती सुरु हुन्छ । तर २० लाख पुग्ने अवस्था हामी देख्दैनौं । हवाइजहाजको अवस्था त्यही नै हो । विदेशी  २७ वटा र ३ वटा नेपाली जहाजले विदेशमा प्रक्षेपण गरेका छन् । विदेशीले कमाएको विदेशीकै झोलामा जान्छ । नेपाल एयरलायन्सजस्तो अहिलेको ‘लेटेस्ट’ युगअनुसार हामी २ नम्बरमा रहेका छौं । सबैभन्दा बढी पर्यटक भारतको जेटले र दोस्रोमा बढी पर्यटक ओसार्ने नेपाल वायुसेवा निगम रहेछ । नेपाल वायुसेवा निगमको पनि ठूलो योगदान छ । अहिले आर्थिक संकटमा छ, नेपाल सरकारले सहयोग गरिदिएको खण्डमा मलाई लाग्छ यो सफल हुन्छ । 

महत्वपूर्ण कुरा ‘सेन्सेरिटी’ भन्ने चिज चाहिन्छ । नेपाल सरकारको सचिवालयमा काम गर्ने मान्छेले जागिर खाएको त हो भन्ने खालको सोच राख्नुहुँदैन । त्यस्तो खालको मान्छे पर्यो भने केही पनि हुँदैन । अर्कोतिर यस्तो पनि नहोस् भूकम्पपछिका वर्षहरुमा कस्तोसम्म देखिएको छ भने पर्यटक संख्या ह्वात्तै बढेको छ । तर राष्ट्रले धेरै पर्यटक गर्ने आम्दानीको दर घट्दै गएको छ । 

स्तरीय पर्यटकभन्दा पनि पर्यटक त सबै पर्यटक हुन् । विदेशीहरु नेपाल हेर्न आउँछन् । सबैको धेरै खर्च गर्ने औकात हुँदैन । भ्रमण गर्न आउनेमा साधुसन्त महाजनहरु शिवरात्रिको दिनमा आउँछन् ती पनि पर्यटक हुन् । तीर्थयात्रीहरु पनि बजारमा गएर खर्च गर्दैनन् । त्यस्ता पर्यकबाट धेरै आम्दानी गर्न सकिँदैन । तर पर्यटक बढेपछि त आम्दानी पनि बढ्नुपर्छ । २० लाख पर्यटक आउँदै गर्दा जुन आम्दानी भयो भनेर तथ्याङ्क देखाउँछ, त्यो तथ्याङ्कमा कमी हुँदै नजाओस् । औसत बढ्दै जानुपर्छ, घट्नु भएन, त्यसमा पनि सचेत हुनुपर्ने आवश्यकता छ । 

तयारी छैन
भौतिक पूर्वाधारको अवस्था र सरकारको तयारीलाई हेर्दा नेपालमा २० लाख पर्यटक भित्रिने अवस्था देखिँदैन । नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले २०१९ को सुरुदेखि नै सचिवालयको लागि ठाउँ तोकर काम गर्नुपर्दछ । जनशक्ति तयार गरिदिएर काम गराउनुपर्दछ । अन्यथा २० लाख पर्यटक त्यसै आउँदैनन । त्यही किसिमको हवाइ यातायातको व्यवस्था पनि हुनुपर्दछ । मार्केट राम्रो भएर पनि यातायातको साधन राम्रो छैन भने पर्यटक १० ठाउँमा ट्रान्जिट गरेर मान्छे आउन चाहँदैन । अहिले त्यस्तो छैन । डाइरेक्ट कनेक्टिभिटी भयो भने पर्यटकहरु आउन चाहन्छन् । बढी संख्यामा आउँछन् पनि ।  अहिलेसम्म सचिवालय छैन । को जिम्मेवार व्यक्ति हो यसको भन्ने पनि एकीन छैन । सुरज वैद्यलाई तोकिएको छ तर उनले तुरुन्तै सरकारसँग मिलेर ७ वटै मुख्य मन्त्रीहरुलाई बोलाएर कसरी समन्वयात्मक रुपमा हामीले काम गर्ने भनेर आकलन गर्नुपर्ने हो । त्यो काम भएको छैन । जुन काम भिजिट वर्ष सुरु भएपछि गर्ने होइन । ०२० मा त हरेक दिन हरेक हवाइजहाज ‘फुल’ आएको देख्न पाउनु, सुन्न पाउनुपर्छ । 

मार्केट राम्रो भएर पनि यातायातको साधन राम्रो छैन भने पर्यटक १० ठाउँमा ट्रान्जिट गरेर आउन चाहँदैन ।

हवाइसडक यातायातको कुरासँगै होटलको हकमा २० लाख त भन्न सकिँदैन जुन रुपमा तारे होटलहरु आइरहेका छन् त्यो भने सकारात्मक छ । ठाउँ–ठाउँमा, कर्णालीमा समेत पर्यटकको लागि होटलहरु निर्माण गरिएका छन् ।  नेपालगञ्ज, धनगडी, खप्तड जाने बाटोहरुमा होटलको ‘ट्रेन्ड’ बढिरहेको छ । राम्रोसँग वितरण गर्न सक्यौं भने होमस्टे पनि राम्रो सम्भावना छ ।  विदेशी पर्यटकले होमस्टे रुचाउने गर्दछन् । संस्कृतिमा भिज्ने, चिन्ने, सँगै बस्ने, खाने गर्ने कुरामा रमाउँछन् पर्यटक । तारे होटलभन्दा पनि सर्वसाधारणको सान्निध्यमा रहेर होमस्टेमा बस्न खोज्छन् । आन्तरिक पर्यटन पनि राम्रो बनेको छ । 

पर्यटन : शान्ति उद्योग
र, हामीले बुझ्नैपर्ने कुरा पर्यटन शान्ति उद्योग हो । मुलुकमा शान्तिस्थापना नभईकन पर्यटन उद्योग फस्टाउन सक्दैन । अहिलेको घुस खोरी, हत्या, बलात्कारजस्ता विविध किसिमको विकृतिको चरम स्वरुप मुलुकमा देखिएको छ । यस्ता किसिमका सामाजिक विकृति कायमै रह्यो भने समृद्धिको सपना हामीले नदेखे हुन्छ । चोर फटाहा २/४ जनाले आफ्नो पुस्तालाई पुग्ने गर्लान् तर सर्वसाधारण नेपालीको जीवन सधैँ यसरी नै डिस्टर्ब भइराख्यो भने सिर्जनशीलता भन्ने चिज रहँदैन ।  

पर्यटनमैत्री वातावरण हराउँदै गएको छ । प्राकृतिक सौन्दर्य मासिँदै गएका छन् । एयरपोर्टकै लागि मात्र २६ लाख रुख कटानी गर्ने भनेको त्यो रुखको छहारीमा बस्ने वन्यजन्तु, चराचुरुङ्गी बासस्थानको अवस्था के हुन्छ ? तिनीहरुलाई कहाँ संरक्षण गर्ने त ? 

एयरपोर्ट बन्न धेरै समय लाग्छ । हामीले प्रारम्भिक चरणमा काम गर्दै छौं । न्यून क्षतिमा काम सुरु गरौं । १ रुख काटेपछि ६ रुख रोप्ने भन्ने सरकारको निर्णय छ । २६ लाखको ६ गुणा रुख अहिलेदेखि हामीले रोप्यौं भने ५/७ वर्षमा त्यो रुखले वन्यजन्तुको बासस्थानको व्यवस्था हुन्थ्यो । त्यतिबेला रुख काट्दै जान फरक पर्दैनथ्यो । हो, त्यसरी सोचेर लाग्नुपर्छ सरकार ।  

निजगढ विमानस्थलको योजना, फास्ट ट्रयाकको योजना ल्याएको छ । फास्ट ट्रयाक हुनसक्यो भने त मोनोरेलभन्दा पनि राम्रो हुन्छ । 

धेरैजसो पर्यटक पुनर्निर्माणबारे अवलोकन अध्ययन गर्न पर्यटक नेपाल आउँछन् । काठमाडौभित्र रहेका सम्पदा क्षेत्रहरुको अवस्था हेर्न आउँछन् । धरहरा तीन वर्षमा ठडिइसक्नुपथ्र्यो । रानीपोखरीको पनि किचलो छ । सामान्य कुरामा पनि सरकारले अलिकति ध्यान दिने हो भने सजिलै काम गर्न सक्छ ।  पुनर्निर्माणले पनि गर्नसक्ने कुराहरु हुन् तर किन प्राथमिकतामा सरकारले राखेको छैन ? भन्न सकिँदैन । सरकार भगिरथ योजनाहरु मात्र कुरा गरेको छ । निजगढ विमानस्थलको योजना, फास्ट ट्रयाकको योजना ल्याएको छ । फास्ट ट्रयाक हुनसक्यो भने त मोनोरेलभन्दा पनि राम्रो हुन्छ । 

औद्योगीकरणको अहिलेको युगमा औद्योगीकरणबाटै मानवसभ्यतासँग, जीवनशैलीमा आधारित भएको अवस्थामा कुनै किसिमको उद्योग यहाँ गर्नसकिन्थ्यो तर यहाँको भूगोल पनि बाधक छ । सियो पनि हामी बनाउन सक्दैनौं । सामान्य तेलदेखि विभिन्न उत्पादनहरु पनि आफ्नो किसिमले प्याकेज गरेर एक्स्पोज गर्न सकिरहेको छैन । विचौलियाले गाउँबाट सस्तो दरमा उठाएर भारत पुर्याउने भारतबाट राम्रो प्याकेजिङ गरेर जति खर्च यहाँबाट गरेको थियो, त्यसको १५ गुणा फाइदा उनीहरुले लिने गरेका छन् । त्यस किसिमको प्याकेजिङ, मार्केटिङको तालिम एक दुई जनाले पाए पनि समग्रमा कृषकहरुले पाएका छैनन् । 

पर्यटनमा जति धनी छौं, भौगोलिक, प्राकृतिक, कलाकौशल, सांस्कृतिक रुपमा हामी धनी छौं । धेरै सम्भावना पर्यटनमा छ । हामीले बेच्न सकेका छैनौँ । प्याकेजिङ नगरीकन बेच्ने प्रयास गरिरहेका छौं । 

रोकिएका ठूला ठेक्कापट्टाका मालिकहरुलाई २०१९ भित्र सम्पूर्ण रुपमा काम सक्न सरकारले निर्देशन दिनुपर्दछ ।

पर्यटन व्यवसायीसँग कपाल नहुनेलाई काइँयो बेच्ने कला हुनुपर्दछ । कलामा पनि भर पर्छ । पर्यटन उद्योगबाट नै हामी माथि उठ्ने सम्भावनाहरु छन् । पहिलो त जलस्रोत हो ।  राम्रोसँग कुल क्षमताको विद्युत् उत्पादन गर्न सक्यौँ भने यो महादेशलाई बिजुली आपूर्ति गर्न सक्ने क्षमता हामी राख्छौं । 
तर कृषिबाट कुनै बेला चामल निर्यात गथ्र्यौं । खाद्यान्नमा आत्मनिर्भर थियौं । तर बिग्रिँदो ऋण भारबाट मुक्ति पाउनको लागि पर्यटन उद्योगलाई नै माध्यम बनाउनुपर्छ । पर्यटनको माध्यबाट जनजीवनलाई सहज, सम्पन्न बनाउनतिर सोच्नुपर्छ । गाउँमा पहाडमा, टेकिङ रुडमा होमस्टेहरुमा राम्रो सेवा र कमाइ पनि भइरहेको छ । पर्यटनको महत्व पनि बुझ्नथालेका छन् । जति अभिमुखीकरण गर्न सक्यो त्यति फाइदा हुन्छ । 

निजी क्षेत्रलाई पनि सहभागी गराएर राष्ट्रिय समिति बनाएर बैठक बस्न ढिलाइ गर्नुहुँदैन । राष्ट्रिय समितिबाट आएका सुझाव र सिफारिसहरुलाई सरकारसँग सहकार्य गरेर कार्यान्वयनतर्फ लाग्नुपर्छ । रोकिएका ठूला ठेक्कापट्टाका मालिकहरुलाई २०१९ भित्र सम्पूर्ण रुपमा काम सक्न सरकारले निर्देशन दिनुपर्दछ । बाटोघाटो कहीँ केही बाँकी नराखी सक्नुपर्छ । दबाब समूहको रुपमा राष्ट्रिय समितिले काम गर्नुपर्छ । सरकारको सबै मन्त्रालय विभागको सहकार्य र समन्वयबाट यस्ता काम चाँडो सकाउनुपर्छ ।  

  • (त्रिभुवन विश्वविद्यालयमा ४० वर्ष प्राध्यापन गरेका पर्यटनविद् तथा नाट्टाका पूर्वसीईओ शर्मा पहिलो नेपाल भ्रमण वर्षको संयोजक समेत थिए । सरकारले आगामी २०२० मा पुनः नेपाल भ्रमण वर्ष मनाउने भनिरहँदा यसबारे खरीबोटका लागि सकला दवाडीले गरेको कुराकानीमा आधारित) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै