काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघको १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।
नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताए।
यसअघि नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसै समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । मंसिर २२ गतेभित्र मावि, उच्च मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।
त्यसैगरी पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ । अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनको प्रतिनिधि चयन हुने गरी कार्य तालिका तय गरिएको जानकारी दिए ।
तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ ।