• २०८१ बैशाख ११ मंगलबार

यूट्युबको नयाँ योजनाले नेटफ्लिक्स र एमजन दबाबमा 

kharibot

काठमाडौं । आजभोलि नेटफ्लिक्स र एमजन प्राइम भिडियोमा टिभी शो र चलचित्र हेर्ने चलन बढिरहेको छ । यो कुरालाई ध्यानमा राख्दै यूट्युबले पनि उक्त व्यवसायमा उत्रिने योजना बनाइरहेको छ । 

यूट्युबले नेट्फ्लिक्स र एमजनलाई टक्कर दिने योजना बनाइरहेको छ । यूट्युबले आफ्ना प्रयोगकर्ताहरूको लागि ओरिजिनल प्रोग्रामिङ ल्याउँदै छ । यी कार्यक्रम प्रयोगकर्ताको लागि पूर्ण रूपमा निःशुल्क हुनेछन् । यद्यपि, यसको लागि कार्यक्रमको बीचमा आउने विज्ञापन भने हेर्नुपर्नेछ । ती विज्ञापनलाई स्किप गर्न सकिँदैन ।

यूट्युबले आफ्ना प्रयोगकर्तालाई नेटफ्लिक्स र एमजन प्राइमले जस्तै टिभी कार्यक्रम अथवा शोहरू देखाउने सोच बनाइरहेको छ । नेटफ्लिक्स र एमजन प्राइमले आफ्ना प्रयोगकर्तासँग निश्चित सब्सक्रिप्सनको शुल्क लिने गरेका छन् । तर, यूट्युबले प्रयोगकर्तासँग शुल्क नलिई विज्ञापनमार्फत कमाइ गर्ने सोच बनाएको छ । 

अल्फाबेट इंक गूगलको भिडियो स्ट्रीमिङ युनिटका अनुसार यूट्युबले आफ्नो शोका लागि धेरैभन्दा धेरै दर्शक चाहेको छ । पेड सब्सक्राइबरले मात्र हेर्न पाउने ती सबै शो सबै प्रयोगकर्ताले हेर्न पाउने पनि कम्पनीले बताएको छ । 

यूट्युबको रणनीतिको प्रत्यक्ष असर यूट्युब प्रिमियम प्रयोगकर्तालाई पर्नेछ । किनभने, आगामी वर्षको सुरुवातदेखि नै प्रिमियमका प्रयोगकर्ताहरू ओरिजिनल सोको पहुँचबाट बाहिरिनेछन् । नेपालमा भने यूट्युब प्रिमियमको सुविधा हालसम्म दिइएको छैन । 

यस योजनाको माध्यमले यूट्युबले विश्वभरका प्रयोगकर्ताको मागलाई पूरा गर्न कोसिस गर्ने यूट्युबले बताएको छ । साथै, विज्ञापनदाताहरूले आफ्नो उत्पादनको विज्ञापन विशेष शो प्रदर्शन गर्ने क्रममा देखाउन चाहेको पनि कम्पनीले बताएको छ । 

यो सेवा कहिले सुरु हुन्छ भन्नेबारे कम्पनीले हालसम्म औपचारिक रुपमा मिति भने तोकेको छैन । तथापि, केही समाचारका अनुसार यूट्युबले यो सेवा सन् २०१९ मा सुरु गरेर सन् २०२० सम्ममा विश्वभर सेवाप्रदान गर्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै