• २०८१ बैशाख १४ शुक्रबार

एक दशकमै चन्द्रमामा मानव बस्ती ? 

kharibot

काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा (नेशनल एरोनाउटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन)ले निजी कम्पनीहरुसँग मिलेर चन्द्रमामा पुनः मानव पुर्याउने औपचारिक घोषणा गरेको छ । बिहीबार नासाका प्रमुख जिन ब्राइडेनस्टाइनले नौवटा निजी कम्पनीसँग मिलेर अन्तरिक्ष मिसन अगाडि बढाउनलागेको घोषणा गरेका हुन् । 

अहिलेको अमेरिकी प्रशासनले चन्द्रमा पहिला मानव पुर्याउने मिसन ल्याउन निर्देशन दिँदै त्यसपछि मात्र मंगलग्रहमा पुग्ने महत्वाकांक्षा राखेको र त्यसमा निजी क्षेत्रका अन्तरिक्षसम्बन्धी कम्पनीलाई समेत सहभागी गराउने आकांक्षा राखेपछि नासाले उक्त घोषणा गरेको हो । यसका लागि नासाले लकहिड मार्टिनलगायतका कम्पनीसँग सहकार्य गर्नेछ । 

यसअन्तर्गतको पहिलो मिसन अर्को वर्षको सुरुतिरै पृथ्वीबाट प्रक्षेपित हुनेछ । नासाले अहिलेको मिसनलाई पहिलेजस्तो चन्द्रमामा पुग्नेमात्रै नभई त्यहाँ मानव रहिरहने गरी नयाँ मिसनको तयारी गरिएको बताएको छ । ब्राइडेन्स्टाइन अमेरिकी वायुसेनाका पूर्वविमान चालक हुन् भने उनलाई ट्रम्पले नै नासाको प्रमुखमा नियुक्त गरेका थिए । उनले यसलाई ट्रम्पको अन्तरिक्ष नीतिकै एक महत्वपूर्ण भाग भनेका छन् । 

  • नासा प्रमुख जिम ब्राइडेन्स्टाइन चन्द्रमाको नयाँ मिसनबारे जानकारी दिँदै ।                                                     तस्बिर सौजन्य : डेली मेल 

नासाले सहकार्य गर्ने ती ९ फर्म एवं कम्पनीमा एष्ट्रोबोटिक टेक्नोलजी, डिप स्पेस सिष्टम, ड्रापर, फायरफ्लाई एरोस्पेस, इन्टुइटिभ मेसिन्स, लकहिड मार्टिन, मास्टेन स्पेस सिस्टम, मुन एक्सप्रेस र अर्बिट बियोन्ड रहेका छन् । 

एजेन्सीहरुका अनुसार यी कम्पनीहरुले २०२१ अघि आफूहरु पूर्णतयार हुन नसक्ने जनाएका छन् । पछिल्लोपटक नासाका अन्तरिक्षयात्रीले सन् १९७२ मा चन्द्रसतहमा पाइला राखे पनि त्यसपछि अहिलेसम्म चन्द्रमामा पुग्नसकेको छैन । चन्द्रमामा पहिलोपटक एपोलो ११ मिसनमा सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङ, बुज एल्ड्रिन र माइकल कोलिन्स पुग्न सफल भएका थिए । 

नासाले आफ्ना इन्जिनियरहरुसँग मात्रै भर नपरी निजी क्षेत्रसँग आवश्यकताअनुसारको सेवाको लागि प्रस्ताव गर्नेछ । वर्षको २ वटा अन्तरिक्ष उडान भर्ने गरी १० वर्षमा २० वटा उडान भर्ने नासाको लक्ष्य छ । यसका लागि करिब २.६ बिलियन अमेरिकी डलर खर्च हुनेछ । 

चन्द्रमामा विभिन्नखाले आवश्यक खनिजपदार्थहरु रहेको विश्वाससँगै वैज्ञानिकहरु त्यसको उत्खनन गरी भविष्यमा त्यसलाई नै इन्धनको रुपमा प्रयोग गरी अन्य ग्रहहरुसम्म पुग्न सकिनेमा विश्वस्त छन् । सोही कारण चन्द्रमालाई ट्रान्जिट प्वाइन्ट बनाउन नासाले मानव बस्तीको योजना बनाएको हो । 

पछिल्लो समय निजी क्षेत्रका कम्पनीहरु जस्तै एलेन मस्कको स्पेस एक्सले व्यावसायिक रुपमा अन्तरिक्षमा स्याटेलाइटहरु उडाउन सफल भएपछि नासाले निजी क्षेत्रसँगको सहकार्यलाई अपरिहार्य ठानेको हो । भर्खरै लकहिड मार्टिनको अवतारकले मंगलग्रहमा रोबोट पुर्याउन सफल भएपछि वैज्ञानिकहरु थप उत्साहित बन्न पुगेका छन् । 

नासाले नयाँ कार्यक्रम (मिसन)लाई  कमर्सियल लुनार पेलोड सर्भिस (सीएलपीएस) नाम दिएको छ । चन्द्रमामा विभिन्न देशले पुग्ने प्रयास गरिरहेका छन् । स्पेस आईएल नामक एक इजरायली कम्पनीले स्पेस एक्ससँग मिलेर चन्द्रमामा अर्को वर्ष नै रोबोट पठाउने बताएको छ भने भारत र चीनले पनि २०१९ सम्ममा आफ्ना रोबोटहरु चन्द्र धरातलमा पुर्याउने घोषणा गरिसकेका छन् । 

  • (न्युयोर्क टाइम्स/डेली मेललगायतका अनलाइनमा प्रकाशित समाचारमा आधारित)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै