• २०८१ बैशाख ७ शुक्रबार

खरको छानामा आगो नलाग्ने प्रविधिको विकास

kharibot

ललितपुर /  खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । 

नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो । 

खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । 

“खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ,  एक हजार ५०० देखि रु दुई हजारसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ”, उनले भने , “खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्सने र त्यस बाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।” प्रमुख ढकालले “यो प्रविधि गाउँगाउँमा पु¥याएर गरीब बस्तीलाई जोगाउनुपर्छ”, भने  । 

अध्ययन र अनुसन्धानबाट सफल देखिएकोे यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरणसमेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट बस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यस सम्बन्धी कार्यशाला गरिसकेको प्रमुख ढकालले बताए । रौतहट, सिराहालगायत जिल्लाका मुसहर बस्तीमा यो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । खरको छाना भएका बस्तीमा यो कार्यक्रम फैलाउँदै जाने योजना नास्टको छ । 

नास्टले विकास गरेको अरु प्रविधि जस्तै यो प्रविधि देख्दा स्थानीयवासीलगायत सबै जना अचम्ममा पर्छन् । सम्बन्धीत स्थानीय प्रशासनले पनि चासो देखाएर यो प्रविधिलाई गाउँबस्तीसम्म लैजानुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर नास्टका प्रतिनिधि फर्किएपछि त्यसमा तदारुकता नदेखाएको प्रमुख ढकालको अनुभव छ । उनले भने , “देख्नासाथ जादु जस्तो मानेर गरिहाल्छु भने धेरै छन् तर प्रविधिलाई आत्मसात् गर्नेको सङ्ख्या कम छन् ।” 

देश सङ्घीयतामा गएपछि स्थानीय सरकारले धेरै अधिकार पाएको छ । स्थानीय सरकारले नै यो प्रविधि ग्रामीण बस्तीमा पु¥याउन सक्ने उनले बताए । उनले भने , “स्थानीयवासीलाई केही रकम आर्थिक सहयोग वा प्लास्टिक अनुदान दिँदा यो प्रविधि विपन्न वर्गले अपनाउँन सक्छन् ।” 

एकातिर पक्की घर निर्माण बढ्ने र अर्कातिर माटोको घरमा पनि जस्ताको छानाको प्रयोग बढ्दै जाँदा नेपालमा खरको छानाको प्रयोग क्रमशः कम हुँदै गइरहेको छ । तराईका अति विपन्न परिवारले मात्रै खरको छाना हाल्ने गर्छन् । उनीहरुसँग प्लास्टिक किन्नसमेत पैसा नहुँदा स्थानीय सरकारले सहयोग गर्नुपर्ने नास्टको भनाइ छ । 

कतिपय स्थानमा कार्यशाला हुँदा जनप्रतिनिधिले चासो नदिएको गुणासो प्रमुख ढकालको छ । आफूले नयाँ काम थाल्दा आफैँले जस पाउने भए पनि अरुले गर्दा जस नपाउने चिन्ता राजनीतिमा संलग्नलाई हुन्छ, उनले भने , “राजनीति गर्ने मान्छेले साँच्चै जनताका बारेमा विचार गर्ने हो भने यो प्रविधि शुरु गरेर विपन्न वर्गलाई संरक्षण गर्नैपर्छ ।” 

नास्टले विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको छ । सफल भएको प्रविधि स्थानीयस्तरमा हस्तान्तरणसमेत गर्दै आएको छ । अहिले नास्टले स्थानीय सरकारसँगको सहकार्यमा जोड दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै