• २०८१ बैशाख ११ मंगलबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना

kharibot

जुम्ला । पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ । कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो ।

यहाँका आम नागरिक बिरामी हुँदा रगतका लागि नेपाली सेना, प्रहरी र अन्य नागरिकसँग गुहार माग्दै आएका थिए । तर, प्रतिष्ठानले अस्पतालभित्रै रक्तसञ्चार केन्द्र स्थापना गरेपछि सहज भएको स्थानीयवासीले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत सङ्कलनको अभियान शुरु गरेको बताए । उनले भने,  “९० प्याकेट रगत भण्डारण गर्न मिल्ने गरी प्रतिष्ठानले रक्तसञ्चार केन्द्र स्थापना गरेको छ ।”

प्रतिष्ठानले रगत सङ्कलनका लागि वृहत रूपमा अभियानलाई अघि बढाउनका लागि यहाँका सङ्घसंस्था, विद्यार्थी, महिला, आमा समूह, रेडक्रसलगायत विभिन्न व्यक्तित्वलाई आग्रह गरेको छ । रगत सङ्कलनका लागि विभिन्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली पठाइदिने व्यवस्था गरिएको रजिष्ट्रार काफ्लेले बताए ।

रु एक करोड ३६ लाखमा अत्याधुनिक ल्याबसहित सामग्री र रु ९६ लाख लागतमा रगत स्टोरका लागि रेफ्रीजेरेटर खरीद गरी रक्तसञ्चार केन्द्र स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । यसलगत्तै सिटीस्क्यान र अक्सिजनको भण्डार पनि जुम्लामै हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै