• २०८१ बैशाख ४ मंगलबार

गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा लिने प्रवृत्ति बढ्दो

kharibot

पाल्पा । पाल्पा जिल्लामा गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिन थालिएको छ । परिवार नियोजनका साधनका रुपमा सम्झी पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या दिनप्रति दिन बढ्दो अवस्थामा छ ।

एकै व्यक्तिले दुई वर्षको अवधिमा तीन पटकसम्म गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिन थालेपछि गर्भपतन गराउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको हो ।

जिल्लामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा शुरु भएको हो । आव २०७४/७५ मा ९१७ जना महिलाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्ला अस्पताल पाल्पामा २९०, रामपुर अस्पतालमा १६५, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा ६४, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य चौकीतर्फ अर्गली २५, मदनपोखरा ५०, झडेवा ५९, छहरा ७७, गाडाँकोट ३४, पालुङ ३९, बिरकोट दुई, रिङ्नेरह ३०, चापपानी नौ, नायर २३, पिपलडाँडा सात, हुँगी ४२ गरी जम्मा ९१७ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

“क्याम्पस पढ्ने र शिक्षित परिवारमा सुरक्षित गर्भपन गर्नेको सङ्ख्या बढिरहेको छ” ज्ञवालीले भने । स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने, लामो समयसम्म परिवार नियोजनको साधनलाई अपनाउन जोड दिएको उनले बताए ।

आव २०७३/७४ मा ७४४ जनाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताल पाल्पामा १५९, रामपुर अस्पतालमा ७९, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा ४१ स्वास्थ्य चौकीतर्फ अर्गली १६, छहरा ४६, गाडाँकोट २३, हुँगी २४, झडेवा ३५, मदनपोखरा २८, नायर १०, पालुङ १८, पिपलडाँडा चार, रिङ्नेरहमा १८ जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

यी बाहेक जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवार नियोजन सङ्घबाट पनि केही शुल्क लिएर सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ । नेपाल सरकारले सूचीकृत गरेका सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा २०७३ पुसदेखि निःशुल्क रुपमा उपलब्ध रहेको छ ।

पहिले केही निश्चित शुल्कमा सुरक्षित गर्भपतन गराउने व्यवस्था रहेको थियो । नौ हप्तासम्मको गर्भपतन औषधि सेवन गरेर गराउन सकिने र नौदेखि १२ हप्ता सम्मका लागि औजार प्रयोग गरेर गर्भपतन गराउने व्यवस्था छ ।

यस्तै १२ हप्तादेखि १८ हप्तासम्मका लागि विशेष परिस्थिति हाडनाता, जबर्जस्ती करणी, आमाको ज्यान खतरा रहेको अवस्था आएमा गर्भपतन गराउन सकिन्छ । जिल्लामा २० वर्षदेखि ४० वर्षसम्मका महिलाले बढी गर्भपतन गराउने गरेका छन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा लिङ्ग पहिचान नगरी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सकिन्छ ।

गर्भपतन गराउँदा स्वास्थ्यका लागि घातक मानिने हँुदा सकेसम्म परिवार नियोजनका साधन अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । पहिला सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन कमै मात्रामा जाने गरेको पाइन्थ्यो । यदाकदा निजी मेडिकलमा लुकेर गर्भपतन सेवा लिए पनि जिल्लामा २०७२ माघबाट थप सेवा प्रदान गरेपछि निजी स्वास्थ्य संस्थामा भन्दा सरकारी स्वास्थ्य संस्थामा नै गर्भपतन गराउन जाने क्रम बढ्दो छ ।

यस आर्थिक वर्षमा आइपास नेपालको सहयोगमा अर्चले, गेझा र फोक्सिङकोट स्वास्थ्यचौकी र नेपाल परिवार नियोजन सङ्घको सहयोगमा बाकामलाङ, दोभान, सिलुवा, देउराली र खानीछाप गरी थप आठवटा स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा विस्तार गराउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै