• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ महानगरमा सोलार डस्टबिनको प्रयोग सुरु 

kharibot

काठमाडौं । नेपालकै जेठो काठमाडौं महानगरले बढ्दो प्रदूषणलाई नियन्त्रणका लागि सोलार स्मार्ट डस्टबिन प्रयोगमा ल्याएको छ । निजी कम्पनीसँग मिलेर महानगरले जथाभावी फालिने फोहोर रोकथामका लागि नयाँ कदम चालेको हो । 

पहिलो चरणमा महानगरका ६० स्थानमा स्मार्ट डस्टबिन राख्ने काम सुरु भएको छ । कृष्ण सप्लायर्स प्रालिले डस्टबिन राख्न सुरु गरिसकेको छ । महानगरका अनुसार हालसम्म २० वटा डस्टबिन राख्ने काम सम्पन्न भइसकेको छ । 

महानगरका निर्देशक नमराज ढकालले महानगरको फोहोर व्यवस्थापनलाई मध्यनजर गर्दै महानगरले स्मार्ट सोलार डस्टबिनको प्रयोग सुरु गरेको खरीबोटलाई जानकारी दिए ।  

पहिलो चरणमा ६० वटा स्मार्ट डस्बिन राख्ने कामलाई महानगरले पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको हुनाले अपेक्षानुरुप यसलाई बढाउँदै लाने उनले बताए ।

सोलार पावरसहितको डस्टबिन भएकाले यसलाई छुट्टै ब्याकअपको आवश्यकता नपर्ने र पहिलो चरणमा टुँडिखेल र रानीपोखरीको वरिपरि, न्युरोड, वसन्तपुर, माइतीघरदेखि थापाथली, भद्रकालीदेखि सिंहदरबारलगायतका २० ठाउँमा सोलार स्मार्ट डस्टबिन राख्ने काम सम्पन्न भइसकेको र ती काममा महानगरको लगानी नभएको निर्देशक ढकालले जानकारी दिए । 

महानगरका अनुसार डस्टबिन जडानमा निजी क्षेत्रले सम्पूर्ण रुपमा लगानी गरेको छ भने त्यहाँ संकलन भएको फोहोर समेत निजी क्षेत्रले नै  नियमित रुपमा संकलन गर्नेछ । यसैबीच, महानगरले डस्टबिनमा फोहोर नफ्याँक्नेलाई कारबाही गर्ने भएको छ ।

महानगरले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरे पनि उनीहरुलाई के फाइदा छ भन्ने प्रश्नमा निर्देशक ढकालले त्यसका लागि उनीहरुलाई तोकिएको क्षेत्रमा विज्ञापन राख्न सक्ने जानकारी दिए ।

उनका अनुसार करिब १८ वर्गफिट फ्रन्ट मिडिया साइट स्पेसमा निजी क्षेत्रले व्यावसायिक विज्ञापन राख्न पाउनेछन् । डस्टबिनको प्रयागले फोहोर संकलन कार्य थप प्रभावकारी बन्ने उनको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै