• २०८१ बैशाख १३ बिहीबार

युपीएफले दियो प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

kharibot

काठमाडौं। युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे। 

काठमाडौंमा आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए । 

उनले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,” उनले भने, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए । “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपिल गरे । “जनप्रतिनिधि धब्बा लाग्ने हुनुहुँदैन, जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ,” प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।” लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै