• २०८१ बैशाख ८ शनिबार

६ वर्ष बित्दा पनि बनेन कर्णाली करिडोर जोड्ने पक्की पुल

kharibot

कालीकोट । कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने कर्णाली करिडोर जोड्ने झण्डै रु १४ करोडको लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छैन ।

विसं २०६९ मा निर्माणको जिम्मा पाएको कन्काई नेपाल प्रगति जेभिले सडक डिभिजन कार्यालयसँग योजना सम्झौता भई २०७० सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म १० प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ ।

नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्र्याक खुला गरी सडक विभागलाई हस्तान्तरणको तयारी गर्दासमेत पुल निर्माण अहिलेसम्म १० प्रतिशतमै सीमित रहेको छ । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण शुरु भएको सात वर्षसम्म पनि बन्न नसकेको सडक डिभिजन कार्यालय कर्णालीका निमित्त डिभिजन प्रमुख माधव अधिकारीले जानकारी दिए ।

उनका अनुसार पटकपटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ । अहिलेसम्म पुल निर्माण कार्य अधुरो छ । लागत अनुमान अनुसार काम भएको छैन । सम्झौताको समय सकिएको पनि चार वर्ष भइसक्यो । तीन वर्षअघि सुर्खेत डिभिजनले ठेक्का लगाएको थियो । गत चैतमा पाँच प्रतिशत काम भएको अवस्थामा सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिए ।

“सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारवाही गर्ने चेतावनी दिएका छौं,” डिभिजन प्रमुख अधिकारीले थपे, कन्सल्टेन्सीको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन् ।’’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उनले बताए । कन्सल्टेन्सीले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ ।

सिम्लेखोला पुल १६ महीनामा सक्ने गरी पुस मसान्तमा सम्झौता भए पनि एकवर्ष वितिसक्दा काम अघि बढेको छैन । अधिकारीका अनुसार राजमार्गमा निर्माण हुने १२ वटा पुलको सम्झौता अवधि सकिएको तीन वर्ष हुँदा समेत अहिलेसम्म ठेकेदारका लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको बताए ।

कन्काई नेपाल प्रगति जेभीले भने पुल निर्माणमा ढिलाइ हुनुको कारण सडक डिभिजन कार्यालय रहेको आरोप लगाएको छ । अहिलेसम्म पनि प्राविधिक लागत नदिँदा काममा ढिलाइ भएको कम्पनिको भनाइ छ । केही डिभिजनले पनि सहयोग गरेको हुनाले पुल निर्माण दु्रतगतिमा अगाडि बढ्ने बताएको छ ।

नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्र्याक खुला गरेको छ । करिडोरमा अधिकांश चट्टाने भिरको ट्र्याक खोल्ने काम सकिएको छ । चट्टान छिचोल्दै नेपाली सेनाले सडक निर्माणको गतिलाई तीव्रता दिएको हो । कर्णाली करिडोर निर्माण कार्य पूरा गर्न रु दुई अर्ब ८४ करोड १६ लाख अनुमानित बजेट रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका सेनानी मिलन कार्कीले बताए ।

उनले भने, “आर्थिक वर्ष २०७४÷७५ मा नेपाली सेनाले सडक निर्माणमा रु ८३ करोड बढी बजेट खर्च गरेको छ ।” चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरिएको प्रमुख कार्कीले बताए । कार्कीले भने, “कर्णाली करिडोर नेपाली सेनाले केही महीनाभित्र सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । कालीकोटको खुलालुदेखि जिते नजिकैसम्म डेढ किलोमिटर तथा हुम्ला र कालीकोटको सीमा क्षेत्रमा आधा किलोमिटर गरी साढे दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ ।

नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांश चट्टाने भिरमा ट्र्याक खोलेको छ । वर्षौंसम्म अलपत्र परेको सडक नेपाली सेनाले ट्र्याक खोलेपछि कर्णालीवासीको मुहारमा खुशीको सीमा छैन । कर्णाली करिडोरमा सडक निर्माणको गतिले निरन्तरता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार हुने भएको छ ।

दुई दशकसम्म अलपत्र परेको कर्णाली करिडोर सेनाले निर्माण गर्न थालेको हो । कर्णाली करिडोरअन्तर्गतको खुलालुदेखि हुम्ला सिमिकोटसम्म १९६ किलोमिटर सडकको लम्बाइ रहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले रु एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट व्यवस्थापन गरेको थियो । अहिले कर्णाली करिडोरको जितेबजारदेखि पलाताको घाटाचौरसम्म प्रशासनको सिफारिसमा १४ वटा जिप र दुई वटा मालबहाक ट्रकलाई अनुमति दिई, सञ्चालन भइरहेको भएपनि, करिडोरमा सञ्चालन भएको निश्चित गाडीहरुले मनपरि भाडा लिँदा यात्रु समस्यामा परेका छन् ।

कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोट जोड्ने यो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणको कामले पनि गति लिएको हो । बहुचर्चित यो सडक बजेट अभाव र ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य सुस्त बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै