• २०८१ बैशाख ७ शुक्रबार

एड्स अब मृत्युको पर्याय रहेन, न्यून क्षतिका लागि धेरै उपचार विधि आइसक्यो : डा. शाक्य

kharibot
  • विगत एक दशकयता निरन्तर रुपमा एचआईभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआईभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेका तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । हरेक डिसेम्बर महिनाको पहिलो दिन एचआईभी एड्स दिवस विश्वव्यापी रुपमा मनाइने गरेको छ । उक्त दिवसकै सप्ताह चलिरहँदा हामीले वीर अस्पतालमा एचआरटी चिफको रुपमा कार्यरत प्रा.डा. सुशील कुमार शाक्यसँग कुराकानी गरेका थियौं । उनी पहिलोपटक नेपालमा एचआईभीको उपचार सुरु गर्ने पहिलो डाक्टर समेत हुन् । उनले सुरुमा टेकु अस्पतालबाट एचआईभी रोकथामको कार्यक्रम सुरु गरेका थिए भने अहिले वीर अस्पतालमा इमरजेन्सी डिपार्टमेन्टमा कार्यरत छन् । उनीसँग खरीबोटका लागि सकला दवाडीले गरेको कुराकानीको सम्पादित अंश :

एचआईभी एड्स कस्तो खालको रोग हो ? 
एचआईभी एड्सलाई पहिले–पहिले मृत्युवरण हुने रोगसँग दाँजिन्थ्यो तर अहिले आएर यो दीर्घ  रोगको रुपमा लिने गरिएको छ । जस्तै सुगर, ब्लडप्रेसर, दमजस्ता दीर्घ रोगहरुसँग यसको तुलना गर्न थालिएको छ । मानिसहरुले यसलाई पहिलेजस्तो भयावह र मरिहाल्ने रोगको रुपमा लिन छोडिरहेका छन् । अहिले यसको उपचार क्रम पनि संसारले धेरै विकास गरिसकेको छ । उपचार पद्धति पहिलेभन्दा धेरै परिपक्व र राम्रो पनि छ । तर निर्मूल नै चाहिँ हुँदैन । 

नेपालमा यसको जोखिमको अवस्था कस्तो छ ? 
सन् १९८१ तिर देखिएका रोगहरु विस्तारै विस्तारै जाँदै गर्दा सन् १९९७÷९८ र सन् २००४÷००५ सम्म पनि यो रोग भयावह स्थिति थियो । तर अहिले यसको बचाउ, उपचार पद्धतिको विकासले गर्दा संसारभर एचआईभीको संक्रमण हुने सम्भावना वा एस्टिमेटेट नम्बरमा के देखाएको छ भने संसारमा नयाँ एचआईभी संक्रमण हुने क्रम एकदमै घटेर गएको छ । जस्तो सन् १९९८÷९९ तिरको कुरा गर्यो भने हाम्रो नेपालमा ७२ हजार संक्रमित भएको अनुमान थियो तर अहिले त्यो संख्या केवल ३० हजारको हाराहारीमा छ । नेपालमा मात्र नभएर संसारभर नै यो घट्दो क्रममा रहेको छ । 

एचआईभी र एड्सलाई एउटै जसरी लिइन्छ, खासमा के फरक छ ? 
एचआईभी एउटा भाइरसको छोटकरी नाम हो । एचआईभी भाइरसले संक्रमित अवस्था हो । संक्रमित भएको अवस्था एड्स हुँदैन । संक्रमण भएपछि यसले मान्छेको शरीरमा प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिन्छ । ऊसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । एउटा यस्तो समय आउँछ, जहाँ पुगेपछि रोग प्रतिरोधात्मक क्षमता कम भएपछि साधारणभन्दा साधारण रोगहरु, सरुवा रोगहरु सजिलै संक्रमित हुन्छन् । सर्टेन (निश्चित केही) रोगहरु रोगहरु जस्तै टीबी, हेपाटाइटिस बी, हेपाटाइटिस सीलगाायतका रोगहरु । यस्ता रोगहरु खासगरी सुइद्वारा नशालु पदार्थ लिने व्यक्तिहरुमा हुन्छ । केही प्रकारका क्यान्सरहरु हुने सम्भावना बढ्छ । यसले मानिसको मृत्यु समेत हुने अवस्थामा पुर्याउँछ । 
फरकको कुरा गर्दा एचआईभी र एड्समा एचआईभी संक्रमित अवस्था सुरुको ८/१० वर्ष केही पनि लक्षणहरु देखिँदैन । एड्स भनेको रोगको लक्षण देखिने अवस्था हो । अन्तिम अवस्था जस्तै हो । हाम्रो एशियन मुलुक नेपाल, भारत, बंगलादेशतिर एड्सको अवस्था ८/१० वर्षको हाराहारीमा तेस्रो, चौँथो स्टेजमा पुग्ने सम्भावनायुक्त हुन्छ । 

नेपालमा खास गरी कुनै पार्टिकुलर रिस्की ग्रुपमा ५ प्रतिशतभन्दा बढी, जनरल पब्लिकमा हेर्ने हो भने ०. ५ प्रतिशतभन्दा कम छ ।

यसका लक्षणहरु कसरी बुझ्ने त ? 
लक्षण यही भन्ने त हुँदैन । कुनै रोगहरु एचआईभीसँगै संक्रमित जस्तै एचआईभी नेथ्रोप्याथी भन्छ । एचआईभी इन्सेकेलोप्याथी एचआईभीले गर्दा नै पखाला लाग्ने, एचआईभी इन्सेफेलोप्याथी दिमागमा असर गर्ने, एचआईभी हेप्याथोप्याथी भन्ने हुन्छ । तर खासमा यसले आफैँले केही गर्नेभन्दा पनि यसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर साधारण रुघाखोकी पनि पटक–पटक लाग्छ । बजारतिर काँक्रो खायो, पखाला लागिहाल्छ । त्यो उसको प्रतिरक्षा प्रणालीभित्र रोगसँग लड्ने क्षमता छैन । ज्वरो आउँछ, पखाला लाग्छ, छालाको रोग लाग्छ, टिबी हुने सम्भावना हुन्छ । अरु सबै संक्रामक रोग लाग्यो भने सजिलोसँग सञ्चो हुँदैन किनभने भित्र रगतमा रोगसँग लड्ने शक्ति नै कमजोर भएको हुन्छ ।  
एड्स भइसकेपछि के हुन्छ ? 
एड्स भइसकेपछिको अवस्था झन् जटिल समस्या हो । एचआईभी संक्रमित १० वर्ष राम्रै  देखिन सक्छ तर उसको भित्र–भित्र प्रतिरक्षा प्रणाली कमजोर गराउँछ । एक दिन यस्तो दिन आउँछ छेउमा बसेको एक जनाले खोक्यो, तुरुन्त खोकी लाग्छ । खानेकुरा अलिकति पनि केही भयो भने पखाला लागिहाल्छ । निमोनिया भइहाल्छ । यस्तो प्रकारको लक्षणहरु सजिलै देखिन्छ । त्योचाहिँ एड्सको अवस्था हो ।  

एचआईभी कस्तो प्रकारको संक्रमणको हो ?  
यो जीवनपर्यान्त निरन्तर नै भइराख्छ । एकपटक संक्रमण भइसकेपछि यसलाई निर्मूल पार्न उपचारले सम्भव छैन । कुनै कुनै व्यक्तिहरुमा चाहिँ एचआईभी सरिसकेपछि पनि रोगमा परिणत हुँदैन । तर कुनै ग्रुपमा एचआईभी संक्रमण भए पनि रोगमा परिणत हुने त्यस्तो सम्भावना हुन्छ । तर यसलाई चाहिँ हामी त्यसरी लिदैनौं । एकचोटि एचआईभी संक्रमण भयो भने त्यो व्यक्तिले ‘अल्टिमेटली’ उपचारमा लाग्नुबाहेक अरु केही पनि हुँदैन । 

उपचार कसरी गर्न सकिन्छ ? 
सन् १९८७ मा सुरु भएको उपचार पद्धतिचाहिँ त्यो बेला धेरै थरिका औषधि खानुपथ्र्यो । भने अहिले उपचार पद्धति विकास हुँदै गएर दिनको एक चक्की –(तीनवटा औषधि मिसिएको ) खाँदा हुने औषधि आइसक्यो । १९८७ मा औषधि सुरु गर्ने व्यक्तिहरु पनि ज्युँदै छन् । यसरी हेर्दा ३० वर्षदेखि मानिस ज्युँदै छ । नेपालमा पनि २२ वर्षदेखि मसँग औषधि खाने मान्छे जो विदेशबाट औषधि ल्याएर खान्थे, अहिलेसम्म जीवितै छन् । २५ वर्षदेखिको त नेपालमा पनि जीवितै छन् । उपचार राम्रोसँग गर्यौँ भने यसलाई मृत्युसँग दाँज्नुपर्दैन । यसलाई दीर्घ रोगहरुसँग दाँजिन्छ । यसको राम्रो उपचार जीवनशैली परिवर्तन हो । आफूलाई राम्रो राख्ने किसिमको जीवनशैलीहरु गर्यो भने समयमा उपचार गर्यो भने मरिहाल्नुपर्ने अवस्था ल्याउँदैन । 

उपचार राम्रोसँग गर्यौँ भने यसलाई मृत्युसँग दाँज्नुपर्दैन । यसलाई दीर्घ रोगहरुसँग दाँजिन्छ । यसको राम्रो उपचार जीवनशैली परिवर्तन हो ।

नेपालमा संक्रमण के–के कारणले कस्ता मान्छेहरुमा हुने गरेको छ ? 
विशेषतः यो महिला पुरुषमा हुने असुरक्षित यौन सम्पर्कबाट सर्ने रोग हो ।  सुइद्वारा सर्ने, सर्जिकल औजार, टाटु बनाउनेबाट सर्ने, आमा र बच्चाबाट सर्ने, त्योमध्ये नेपालमा खास गरी कुनै पार्टिकुलर रिस्की ग्रुपमा ५ प्रतिशतभन्दा बढी, जनरल पब्लिकमा हेर्ने हो भने ०. ५ प्रतिशतभन्दा कम छ । पार्टिकुलर रिस्की गु्रप भन्नाले सर्जिकल औजार प्रयोग गर्ने, यौनकर्मीहरु, पुरुष समलिङ्गी र छोटो समयको लागि बाहिर गएर काम गर्नेहरुमा यसको जोखिम देखिएको छ ।  

यो रोग लाग्न नदिन कसरी चनाखो हुने ? 
संक्रमित भएपछि न्यून क्षतिको लागि अहिलेसम्मको बचाउ नै ठूलो कुरा हो । त्यही भएर असुरक्षित यौन सम्पर्कमा नलाग्ने, यौनसाथीहरु दुई वा दुईभन्दा बढी भयो भने त्यसलाई असुरक्षित यौन सम्पर्क भनिन्छ । असामान्य किसिमको यौन सम्पर्कमा नलाग्ने, सुइद्वारा नशालु पदार्थ लिने बानीमा नलाग्ने, चिकित्सकले पनि निर्मलीकरण गरेको औजार प्रयोग नगर्ने, गर्भवती महिला जो आफूलाई एचआईभी संक्रमित छ÷छैन हेरेर समयमा औषधि खान्छन्, उनीहरुको बच्चाहरुलाई एचआईभी हुने सम्भावना हुँदैन ।

यी सबै कुराको सँगै टेस्ट गर्ने, टेस्ट पोजेटिभ आउनेबित्तिकै उपचार सुरु गरिहाल्ने गर्नुपर्छ ।  त्यो पद्धति नेपालमा पनि आइसक्यो । यसले मान्छेलाई सिकिस्त अवस्थामा जान दिँदैन । सिकिस्त अवस्थामा गएन भने अध्ययनले जति चाँडो औषधि सुरु गर्यो त्यति राम्रो हुने, आयु लामो हुने देखाएको छ ।  अहिले धेरै नयाँ पद्धतिहरुको विकास भएको छ । जस्तै श्रीमान पोजेटिभ छ, श्रीमती नेगेटिभ छ भने औषधी आएर आफुलाई जोगाउन सक्छ । अरु धेरै देशहरुमा सुरु भइसक्यो ।  

यो पद्धति धेरै देशमा लागू भइसक्यो । नेपालमा चाहिँ सुरु भएको छैन । नेपालमा पनि केही महिनापछि सुरु हुँदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै