• २०८१ बैशाख १३ बिहीबार

मसँगै मेरो देश चिनिने अवसर पायो : उमा बादी

kharibot

काठमाडौं । विकासोन्मुख देश नेपालको अविकसित ठाउँ हो सुदूरपश्चिम । झन् त्यहाँको एक समुदाय जसलाई समाजले राम्रो दृष्टिले हेर्दैन, त्यही समुदायकी एक महिला हुन् उमा बादी । उनैलाई प्रसिद्ध अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले संसारकै एक प्रभावशाली महिला देख्यो जबकि हामी नै उनको बारे अनभिज्ञ थियौँ ।

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा समावेश भएसँगै उमाको चर्चा चुलिँदो छ । त्यसअघि उनलाई चिन्ने सानो संसार थियो, उनकै समुदाय र उनी सम्बद्ध दलभित्रको थोरै जमात । आफ्नो समुदायको दुःखदायी पीडा बुझ्ने क्रममा वास्तवमा अहिले ‘उमा बादी’ संसारकै एक प्रभावशाली महिलामा अटाउनपुगेकी हुन् । 

दृढ संकल्पका साथ बादी समुदायको उत्थानको लागि लागिपर्दै आएकी उनी सुदूरपश्चिम प्रदेशकी प्रदेशसभाकी एक सदस्य अर्थात् कांग्रेसबाट सांसद् छिन् । तीव्र इच्छाशक्ति र बलियो मनोरथ भए ठूलो र असल बन्न मानिसलाई न भूगोलले छेक्ने रहेछ न त जात, वर्ग र धर्मले । भनिन्छ नि मानिसको दृढतालाई पृथ्वीको कुनै तत्वले पनि भत्काउन सक्दैन । बादी समुदायमा जन्मेकी उमा सङ्कुचितता भित्र रहिरहनै सकिनन् । 

आफ्नो समुदायको उत्थान र समाजको आफूलाई बुझ्ने दृष्टिकोण बदल्ने अठोटले उनलाई सडकमा आन्दोलन गर्ने ढाडस मिल्यो । हेपिएर, चेपिएर विभेदमा परिराख्नु मानव अधिकारविरुद्धको कार्य भन्ने बुझ्नथालेपछि उमालाई आफ्नो लागि आवाज आफैँ उठाउनुपर्ने रहेछ भन्ने चेतना जाग्यो । आम बच्चाले जस्तै बादी र कथित दलित समुदायको बच्चाले किन पढ्न नपाउने ? भन्ने प्रश्नको उत्तर खोज्दा खोज्दै आन्दोलित भएकी उनी राजनीतिको सहारा लिन पुगिन् । उनी भन्छिन्, “मेरो आन्दोलनमा काँगे्रसले साथ दिन आयो । सहयोग गर्यो ।’ उनलाई पनि आफ्नो समुदायको माग सदनसम्म पुर्याउनु थियो । बादी समुदायको लागि राजनीतिक शरणमा पुगेकी उनको संसार क्रमशः फैलिँदै गयो । उनी केवल बादी समुदायको उत्थानको लागि भन्दा पनि समग्र दलित समुदायको उत्थानका लागि संघर्ष गर्न थालिन् । राजनीति र समाजसेवा उनको व्यक्तित्व बनाउने सहारा बने । 

अशिक्षा, भूमिहीनता, समाजको हेयदृष्टि । बादी समुदायमा अनेक पीडा थिए । तिनै पीडा हृदयंगम गर्दै उमा आमाको नाममा नागरिकता पाउनुपर्छ, बच्चाको जन्मदर्ता हुनुपर्छ र स्थायी बसोबासको व्यवस्था हुनुपर्छ, निःशुल्क शिक्षाबाट बादी समुदाय छुट्नु हुँदैन भन्नेजस्ता माग उठाउनथालिन् । हरेक भीडमा सामना गर्नुपर्ने छुवाछूतको अन्त्य उनको मुख्य आवाज बन्यो । उनी भन्छिन्, “समाजको र मेरो लागि मैले थालेका कामहरु निरन्तर गर्दै गएँ ।’ 

पीडाले पुर्यायो सिंहदरबार 

उनी २०६४ मा सिंहदरबार ठूलोठालु भएर हैन, पीडाबाट मुक्तिको अधिकार खोज्न पुगेकी थिइन् । आफ्ना बच्चालाई पहिचान दिन, आमाको नामबाट नागरिकता माग्न उनी त्यहाँ ५ सय जति संगठित भएर पुगेकी थिइन् । तल्लो तहका प्रशासनिक कार्यालयसम्म पुगेर पनि अधिकार नपाएपछि मूलघर सिंहदरबारकै गेटसम्म पुग्नुपरेको उनी सुनाउँछिन् । उनीहरुको यही क्रियाशीलताले अहिले सबैजसो नेपाली महिलालाई राहत दिएको छ ।

बादी समुदायमा रहेको बाध्यात्मक यौनशोषणलाई आयआर्जनसहित प्रतिस्थापन गर्ने ०६५ पुस २३ को मन्त्रिपरिषद्को निर्णय उनले गरेको संघर्षकै प्रतिफल हो ।

बादी समुदायमा रहेको बाध्यात्मक यौनशोषणलाई आयआर्जनसहित प्रतिस्थापन गर्ने ०६५ पुस २३ को मन्त्रिपरिषद्को निर्णय उनले गरेको संघर्षकै प्रतिफल हो । तर अझै पनि समाजबाट पूर्णरुपले हट्न नसकेको छुवाछूतले अझै पनि उनलाई झस्काइरहन्छ । किनकि उनी सानो छँदा कैलालीको सतिबजारमा रहेको पुरानो मन्दिर परमपरमेश्वरमा उनलाई पुजारीले लखेटेका थिए ।

हो, यही अधिकारको लागि गरेको संघर्षको प्रतिफल हो संसारको सय प्रभावशाली महिलाको सूचीमा उमाको समावेश । ‘पढाइ र पावर हेरेको भए म सायद यो सूचीमा अटाउन्नथेँ’, उमा भन्छिन्, ‘हाम्रो पीडा र त्यो पीडाबाट मुक्त हुन चाहने मेरो आकांक्षालाई बीबीसीले आत्मसात् गर्यो, सहयोग गर्यो ।’ 

आफ्नो मुद्दाहरुलाई मिडियाले राम्रो साथ दिएको, उठान गरिदिएको उनलाई लाग्छ । उनको दाबी छ, ‘मैले उठाएको मुद्दा उमा बादी, बादी समुदायको मात्र नभई सबैको थियो । सबैको लागि चाहिन्छ भनेर सबै मिडियाकर्मीले पनि सहयोग गरे । सफल भएँ । मसँगै मेरो देश चिनिने अवसर फेरि एक पटक पायो ।’

आफ्नो कारण बादी समुदायलाई हेर्ने धारणामा परिवर्तन आएको उनको अनुभव छ । आफ्नो समुदायको घुमन्ते, फिरन्ते जीवन र बच्चाहरुले पढ्न नपाएको पीडाले उमालाई धेरै पोलेको छ । उनको त्यही पीडालाई कांग्रेसले शक्तिमा बदलिएको ठान्छिन् उनी । सोही कारण उनी निकै कृतकृत्य देखिन्छिन् कांग्रेसप्रति । अहिले उमालाई कांग्रेसले प्रदेश सांसद् बनाएको छ । नपढे पनि उनी सदनसम्म बादी समुदायको पीडा व्यक्त गर्ने स्थानसम्म पुगेकी छिन् । 

उनी भन्छिन्, ‘राजनीति सेवा हो । मेरो सेवाभाव नै राजनीति हो । समुदायको सवाल मेरो पहिलो प्राथामिकता हो ।’ पार्टी राजनीतिले उनलाई मात्र हैन, तल्लो तहका जनतालाई पनि फाइदै भएको छ । दूरदराजका सडक, गाउँका आवाजहरु उनको मुखमार्फत सदनमा सुनिन्छन् । तल्लो तहका जनताको पीडा र आक्रोशहरुले सदनलाई झस्काउँछ, अधिकार माग्ने आवाज सुनाउँछ । ‘महिलाका आवाज, बालबालिकाको आवाज, कथित दतिलका आवाज, जनजातिका आवाज म सधैँ उठाइरहन्छु, विना हिच्किचाहट’, उनी भन्छिन्, ‘नतिजा नआउन्जेलसम्म आवाज उठाइरहन्छु । शैली शुद्ध÷अशुद्ध होला तर पीडा त पोखिरहन्छु ।’  

संसारको प्रभावशाली महिलामध्ये पर्दा कस्तो लाग्यो भन्ने जिज्ञासामा उनी आफूलाई आकाशै चुमेजस्तो अनुभूति भएको सुनाउँछिन् । उनले जीवनमा दुईपटक साँच्चै धेरै नै खुसी हुने मौका पाएकी रहिछन् । एकपटक आफू ‘माननीय’ बन्दा र बीबीसीको सय प्रभावशाली महिलामा आफू पनि अटाउँदा निकै खुसी भएको उनी बताउँछिन् । त्यो विशेष समाचार सुनेपछि रातको ११ बजेसम्म उनको मोबाइलमा घण्टी थामिएन । बधाई आइरह्यो ।  

बादी समुदायकी छोरी भए पनि उनको विवाहचाहिँ अन्तर्जातीय भयो । फक्रिँदो यौवनसँगै प्रेमलाल भट्टसँग प्रेममा परेकी उनको अन्ततः विवाह पनि उनैसँग भयो । उनको परिवार कहिले सल्यान बस्थ्यो कहिले तराइ झथ्र्यो । गाउँमा जाँदै गर्दा सल्यान बजारमा उनी जन्मिएकी थिइन् । २५ वर्षअघि पनि बाहुनको छोरासँग प्रेममा परेर उनैसँग विवाह भएको थियो । यसलाई उनी आफ्नो मायाको शक्ति भन्छिन् । 

तर अन्तर्जातीय विवाहकै कारण उनले धेरै कष्टकर दिन बिताउनुपर्यो । गाउँ, ठाउँ छोड्नुपर्यो, माइती, मावला छोड्नुपर्यो । उमा टीकापुरमा परिवार साथ बस्छिन् । ५४ वर्षको उमेरमा पनि उनी समाजसेवामा रमाइरहेकी छिन् । 

  • प्रस्तुति : सकला दवाडी  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै