• २०८१ बैशाख १३ बिहीबार

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो  : राम लोहनी

kharibot

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको अध्यापन गरिरहेका राम लोहनी एक बौद्धिक चिन्तक एवम् कुशल समीक्षकका रुपमा परिचित छन् | कला, साहित्य, समाज र भाषाक्षेत्रमा केन्द्रित रहेर उनका विचार, समीक्षा र समालोचनाहरू अखवारहरूमा आइरहन्छन् | प्रस्तुत छ उनीसंग खरीबोट डटकमका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:

१. अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ?

ठ्याक्कै भन्दा अहिले मेरो हातमा पेन्गुइन हिस्ट्री अब द वर्ल्ड र हिस्ट्री अफ भुटान छन् । एकैचोटी एकभन्दा बढी किताब पढिराखेको हुन्छु म । गैह्र आख्यान प्रकृतिका किताब भएकाले एउटै किताब सकेर अर्को किताब पढ्ने भन्ने हुँदैन । सम्बन्धित किताबहरू एकसाथ पढिन्छ । इतिहासका किताब बाहेक अरू पनि छन् सुरु पढ्दै गरेका !

. कस्तो विषयवस्तु भएको किताब पढ्न बढी रुचाउनुहुन्छ?

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो । कुनै कुरा जान्ने जिज्ञासा, बुझ्‍ने जिज्ञासाले मलाई पढ्न प्रेरित गर्छन् । मेरो चासोमा अलि विविधता पाउँछु म । त्यो विविधता नभएर छरिएको भन्दा पनि हुन्छ । कहिलेकाहीँ म आफ्नै चासोमाथि चासो राख्छु । अनि के पाउँछु भने मलाई मान्छेलाई केन्द्रमा राखेर गरिएका अध्ययन बढी रुचिपूर्ण लाग्‍ने रहेछ । जस्तो कि मान्छे किन यस्तो, किन यस्तो? मान्छे कसरी यस्तो भयो? आदि । पछिल्लो समय मलाई मान्छेको संज्ञानको पाटोले आकर्षित गर्दैछ । मान्छेको बुद्धिको कुन भागले किन त्यस्तो गर्न सक्यो होला, कसरी गर्न सक्यो होला भन्ने जस्ता प्रश्‍नका उत्तर भएका किताबले मलाई आकर्षित गर्छन् । यी सबै विषयमा प्राविधिक रूपले व्याख्या गरिएका किताबहरू पढेर साध्य हुँदैन । त्यसैले त्यस्ता विषयलाई सरलीकृत गरिएका "पपुलर साइन्स" मार्काका किताबहरू मेरो बढी रोजाइमा परेका हुन्छन् ।

३. पुस्तक पढने बानी कसरी लाग्यो तपाईंलाई? तपाईंले पढ्नुभएको पहिलो साहित्यिक कृति सम्झना छ?

पुस्तक पढ्ने बानी सुरुमा उपन्यासबाट भएको हो भन्ने लाग्छ मलाई । सुरुमा नेपाली र त्यसपछि हिन्दी (पल्प) उपन्यास खुब पढियो । यति पढियो कि दिनको तीन चारवटासम्म पनि पढियो । रातभरि पनि पढियो ! अरू विषयतिर आकर्षित हुनुमा अलिअलि ईर्श्याले पनि काम गर्‍यो होला भन्ने लाग्छ मलाई । आइ. एस्सी. सक्‍नेबित्तिकै म स्कुलमा पढाउन थालेँ । नौ, दश कक्षामा विज्ञान र गणित पढाउनु पर्थ्यो । स्कुलमा अरू केही शिक्षकहरू स्‍नातकोत्तर गरिसकेका थिए । उनीहरूको अगाडि मलाई एक प्रकारको लघुताभाष जस्तो पनि हुन्थ्यो । उसो त मेरो उमेर थियो, समय थियो । तर पनि आफूलाई सुधार गर्नु पर्छ भन्ने लाग्यो होला भन्ने लाग्छ अहिले फर्केर हेर्दा । त्यसले मेरो चासो गैह्रआख्यानतिर तान्यो । अनि विज्ञानको विद्यार्थी भएकोले पपुलर साइन्समा पनि चासो बढ्यो । योसँगै उपन्यासको टकले छोडेको चाहिँ थिएन । र,  महत्वपूर्ण कुरा मैले जानेकै पढ्न थियो । अरू कुनै सीप नहुनु पनि शायद पढ्ने बानीतिर लहस्सिनुको कारण होला जस्तो लाग्छ । यो बीचमा त्यस्तै केही सङ्गत पनि भए, जसले पढ्नमा प्रेरित गर्‍यो । ब्रिटिस काउन्सिलको सदस्य बनेपछि पढ्नु पर्ने विषयका विविधता अलि बढे । सबभन्दा बढी चाहिँ पाटनको एवन पुस्तकालयले योगदान दियो भन्दा हुन्छ । त्यहाँ पाइने  किताबको विविधता र त्यहाँ आउने पाठकहरूलाई देखेर एक प्रकारको ईर्श्या र पढ्नमा मोटिभेसन बढेको ठान्छु म । तर सोचेजस्तो र कल्पना गरे जस्तो पढ्न नसकिने रहेछ !

स्कुल पढ्दा पाठ्यपुस्तक बाहिरको किताब खासै देखिएन भन्दा पनि हुन्छ । पाठ्यपुस्तकभन्दा बाहिर पनि किताब हुन्छ भन्ने लगभग थाहै थिएन । थाहा भए पनि किन्ने परिस्थिति पनि थिएन, किनभने त्यो भनेको "बिग्रने" आधार हुन सक्थ्यो ! अझ उपन्यास त पढ्नै हुन्न भन्ने थियो । तर घरमा कसरी कसरी युधिर थापाको एउटा उपन्यास आइपुग्यो (कुन चाहिँ थियो, त्यो अहिले बिर्सेँ।) सँगसँगै वसन्तको कल्पनाको डिलबाट र प्रकाश कोविदको अर्को जन्म पनि कसो कसो आइपुग्यो । ती तीनवटा उपन्यास हुन् मैले एस.एल.सी. दिनुअघि पढेको । अनि अगाडिका केही पन्ना च्यातिएको शेषनाग शीर्षकको जस्तो लाग्छ, जासुसी उपन्यास पनि पाइयो । यी उपन्यासलाई सयौं पटक पढियो, अगाडिबाट पढियो, पछाडिबाट पढियो, बीचबाट पढियो । लाइन लाइन कण्ठ थिए, तर पनि पढियो । एस.एल.सी. दिएपछि चाहिँ ध्याउन्न नै उपन्यास पढ्नेमा भयो । नेपाली पढ्दा पढ्दै हिन्दी पढ्ने बानी विकास गरियो । अङ्ग्रेजीका उपन्यास चाहिँ स्‍नातक पढ्न थालेपछि अलि अलि अङ्ग्रेजी बुझ्छु जस्तो लाग्‍न थालेपछि पढ्न थालियो । केही काम पनि गर्नु पर्ने, पाठ्यपुस्तक पनि पढ्नु पर्ने आदि कारण त्यसमा रहर पुग्‍ने गरी प्रगति हुन सकेन ।

४. कसरी समय मिलाउनुहुन्छ पढ्नलाई? औसतमा वर्ष/महिनामा कतिवटा पुस्तक पढ्न भ्याउनुहुन्छ?

वास्तवमा मलाई हिजो आज पढ्ने समय पुग्दैन । घर, काम आदिबाट फुर्सद पर्याप्त  मिल्दैन । पढाउने व्यवसाय भएकोले आफ्नो क्षेत्रसँग सम्बन्धित विषयलाई पहिलो प्राथमिकतामा पर्ने नै भयो । यसमा सकेसम्म अपडेट हुन बाध्य पनि भइँदो रहेछ । त्यसबाट समय चोरेर अन्य किताबहरू पढ्न खोज्छु । फेरि अहिले इन्टरनेटले पनि पढ्ने सामग्रीमा विविधता थपिदिएको छ । विश्वविद्यालय जानेबाहेक धेरैजसो घरमै हुने हुँदा अलि अलि समय निस्कन्छ ।

हरेक किताब आद्योपान्त पढ्नै पर्छ भन्ने ढङ्गले पढिएको हुँदैन । त्यसैले महिनामा यतिवटै किताब पढिन्छ भनेर भन्न सकिँदैन । पढाइका विभिन्न तरिका हुन्छन् । पुस्तक परिचय गर्नु पनि  मेरो परिभाषामा पढ्नु हो । कुन किताबमा के कुरा रहेछ भनेर सामान्य जानकारी लिने देखि कुनै कुनै किताब कभर-टु-कभर पनि पढिन्छ । विशेष गरेर जीवनी र आख्यानहरू चाहिँ आद्योपान्त पढिन्छन् । गैरआख्यान र सूचना र जानकारीमूलक मोटो किताब रहेछ भने त कहिले एक महिनामा एउटा पनि पढ्न सकिएको हुँदैन । साथमा फुटकर पढिने, केही पन्ना पढिने त भइरहन्छ ।

५. केका आधारमा पुस्तक छनौट गर्नुहुन्छ?

यसमा दुईटा आधार भन्छु म । एउटा आफ्नो व्यावसायिक अध्ययन-अध्यापनसँग जोडिएका र अको चासोको । समकालीन साहित्यसँग सामान्य अपडेट हुन खोज्दा नपढे पनि के नयाँ आएका छन् भन्ने चासो हुन्छ । त्यसबाहेक त नयाँ किताबले मलाई मेरो मनमा उब्जेका कुनै न कुनै प्रश्नको जवाफ दिनु पर्छ भन्ने लाग्छ मलाई । साहित्यिक कृतिमा भाषा र विषयवस्तुले बढी तान्छ । चासो परेका मान्छेका राम्रा जीवनी पनि  मेरो रोजाइमा पर्छन् । समकालीन राजनीति र इतिहासका घटनालाई व्याख्या गरेका कुरालाई पनि म छनोटको आधार मान्छु ।

६. तपाईंलाई सबैभन्दा धेरै मन परेका १० पुस्तक?

यो चाहिँ गाह्रो कुरा भयो । मन परेका भन्नाले कुन क्षेत्रका र किन भन्ने पनि हुन्छ । सूचि तयार पार्नु पर्दा दशभन्दा बढी नै पुग्छन् होला,  निश्चितै । यहाँ म दसोटाको नाम त लिन्छु, त्यो तत्काल सम्झिएको आधारमा मात्र ।

१. जवाहरलाल नेहरूको ग्लिम्सिज अफ वर्ल्ड हिस्ट्री,

२. जे. कृष्णमूर्तिको कमेन्टरिज अन लिभिङ (तीन खण्ड),

३. चार्ल्स् भ्यान डोरेनको हिस्ट्री अफ नलेज,

४. अलफ्रेड एडलरको अन्डर्स्ट्यान्डिङ ह्युमन नेचर,

५. फ्रित्जोफ काप्राको टर्निङ प्वाइन्ट,

६. जारिड डायमन्डको गन्स, जर्म्ज एन्ड स्टिल,

७. लियोनार्ड स्लेइनको अल्फाबेट भर्सस द गडेस,

८. ग्यारी जुकाभको डान्सिङ वु ली मास्टर्स,

९. स्टिभन पिङ्करको ल्याङ्वेज इन्स्टिङ्क्ट,

१०. म्याट रिड्लेको रेड क्विन: सेक्स एन्ड ह्युमन नेचर

 यी किताब अलि पहिले पढेकाहरूमध्येबाट हुन् । यसमा "सबभन्दा मन परेका" छुटेका पनि हुन सक्छन् । फेरि मैले यसमा नेपाली र हिन्दीबाट कुनै किताब राख्‍न पाएको छैन । आख्यान र साहित्यका अन्य कुनै विधा पनि यसमा परेका छैनन् । यो सूचीमा आएन भन्नुको मतलब मन परेको छैन भन्ने अर्थ लाग्‍नु हुँदैन । किनभने सबैलाई साथमा राखेर दशवटाको मात्र नाम लेख्‍नु आफैलाई अन्याय गरेको ठहर्छ । सयवटाको सूची सोधियो भने चाहिँ अलि सजिलो हुन्छ कि!

७. कुनै पुस्तक पढिसकेपछि के गर्नुहुन्छ? राम्रो पुस्तक पढिसकेपछिको आनन्दलाई कसरी व्याख्या गर्नुहुन्छ?

यो एस्थेटिक प्रश्न भयो । खासमा कुनै पुस्तक आद्योपान्त पढिसकेपछि मुसुक्क हाँस्छु र त्यसलाई थन्क्याइदिन्छु । नयाँ सूचना दिने, घटना र वास्तविकताको व्याख्या गरिदिने पुस्तकहरू पढिसक्‍नु एउटा अवर्णानातित आनन्द हो । कहिलेकाहीँ कुनै कुरा पढ्दा फ्याट्ट केही कुरा खुल्यो र नयाँ ढङ्गले केही बुझियो भने मलाई उन्मुक्त भएर कतै जाउँ, केही गरौँ जस्तो लाग्छ । उपमाकै दृष्टिबाट भन्दा त्यो अवस्था कतिपय स्थितिमा विरेचित हुन तत्पर यौनोन्माद जस्तै भन्दा पनि हुन्छ । कतै जाउँ, केही गरौँ, उडुँ जस्तो ... कस्तो कस्तो! लामो ध्यानबाट फ्याट्ट ब्युँझिदा अनुभूत हुने हलुकापन जस्तो !

८.मन नपरेका किताब र पढ्दा पढ्दै बीचमै छोडेका पुस्तक कत्तिको छन् ?

मन नपरेका भनेर भन्दा पनि आफूलाई चासो परेको कुरा फेला नपरेका किताबहरू छन् । कतिपय किताबहरू तिनको लेखनशैली, विषयवस्तु र अपेक्षाअनुसारको प्रस्तुति नहुँदा बीचमै छोडिएका छन् । बीचमै छोड्नुको मतलब मन नपरेको भन्ने मात्र पनि हुँदैन । कहिलेकाहीँ सारो मन परेको पुस्तक पनि बीचमै छोड्न मन हुन्छ । त्यो किनभने त्यसमा फेला परेको एउटै कुरा, एउटै वाक्य र एउटै घटनाले यति प्रभावित पार्छ कि त्यसपछि त्यो किताब पढ्नु नै पर्दैन होला जस्तो लाग्छ । अनि लामो समयपछि फेरि सुरु पनि गर्न सकिन्छ । मन पर्नु र मन नपर्नु भनेको मुडको कुरा पनि हो, समयको अनुकुलता पनि हो, विषयवस्तु आदिप्रतिको आकर्षण पनि हो । किताबहरू यति धेरै हुन्छन् कि कुन सबै पढियो, कुन आधा पढियो, कुन परिचय मात्र पढियो, कुन पढ्दै पढिएन भन्ने कुरा गौण हुन् जस्तो लाग्छ मलाई । मन परेर किनेको महँगै किताब पनि त्यसरी छोडिएका हुन सक्छन् । किताब पढ्नु भनेको विहे गर्नु वा प्रेममा पर्नु जस्तो त होइन नि, एउटै व्यक्तिमै (एकभन्दा बढी भए पनि सीमित व्यक्तिमा) टुङ्गिने!

९. पछिल्लो समय नेपाली साहित्य बजारमा आएका कुनकुन पुस्तक पढ्नुभयो? समकालीन नेपाली साहित्यबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?

ठ्याक्कै भन्नुपर्दा हिजोआज नेपाली बजारमा प्रकाशित पुस्तकबारे सामान्य जानकारी राखिराखे पनि नेपाली किताब चाहिँ खासै पढिएको छैन । दुई चार महिना भयो एकाध नेपाली किताब मात्र पढिएका छन् । वास्तवमा नेपाली बजार अहिले सङ्ख्यात्मक प्रतिस्पर्धामा छ जस्तो लाग्छ मलाई । लेखक बन्ने होडमा छन् मानिसहरू । उसो त, विकासको चरणमा यो स्वाभाविक हो । सङ्ख्या बढ्दै गएपछि गुणको पनि कुरा आउँछ, तर बिस्तारै । नेपाली साहित्य पहिलेको भन्दा गुल्जार भएको तथ्यलाई चाहिँ स्वीकार्नु पर्छ । रहरका लेखकको बीचमा राम्रा लेखकहरू पनि थुप्रै निस्किएका छन् । अध्ययन, चिन्तनलाई लेखनको आधार बनाउने लेखकहरू पनि उदाएका छन् । प्रशस्त अध्ययन गरेर राम्रो प्राज्ञिक तहमा पुगेको लेखकले दिने कृति कालजयी मात्र होइन, उपयोगी पनि हुन्छ । त्यसका केही लक्षण देखिएका छन् । लक्षणहरू हेर्दा नेपाली साहित्य आशा लाग्दो बनेको छ भन्नुपर्छ । गम्भिर साहित्यकारहरू सङ्ख्याभन्दा पनि गुणस्तरमा लागि परे भने अहिलेको स्थितिलाई निराशाजनक नै भन्नु हुँदैन ।

कतिपय विदेशी लेखकका कृति हेर्दा र तिनको अध्ययनको तह देख्दा कहिलेकाहीँ मलाई कहाली पनि लाग्छ, त्यो तहको लेखक नेपालमा कहिले निस्केला भनेर । नेपालीहरूको विभिन्न बाध्यता छ, हाम्रो शैक्षित स्थिति नै राम्ररी उठ्न सकेको छैन, जसले असल पाठक र असल लेखक जन्माउँछ । यो स्थितिमा पनि बत्ती निभेको छैन । यसलाई नराम्रो भन्न हुँदैन । हिजोका शास्त्रीय ढाँचाका लेखकहरूको ठाउँमा नयाँ नयाँ प्रयोग गर्ने, अनुसन्धान गर्ने लेखक पनि जन्मिएका छन् । चित्त नबुझाउनु एउटा कुरा हो, असन्तुष्ट चाहिँ हुनु पर्ने कारण छैन ।

११. आफै प्राध्यापक पनि हुनुभएको नाताले नेपालमा पठन सस्कृति कस्तो रहेको पाउनुहुन्छ?

पठन संस्कृति अहिले सकारात्मक दिशामा उकालो लाग्दैछ । केही लेखकहरू विशुद्ध लेखक रहेर पनि बाँचेको कुरा गरिरहेका छन् । प्रकाशन गृहहरू बढ्दै छन् । किताब बिक्रीमा विभिन्न रेकर्ड राखेको समाचार छापिन्छन् । यसको मतलब नेपालीहरूमा पढ्ने बानी विकास भएको छ, पाठकको सङ्ख्या बढेको छ । पाठक भनेको नेपाली पुस्तक पढ्ने मात्र होइन । अङ्ग्रेजी किताबका पाठक पनि बढ्दै गएका देखिन्छन् । केही पुस्तक सोरुमहरूमा नियमित भ्रमण गरिरहने हो भने थाहा हुन्छ कस्ता पाठक र कस्ता कृतिका बिक्री हुँदै छन् भन्ने । युवा पाठक र तिनको रूचिमा विविधता भएको प्रशस्त प्रमाण मिल्छ त्यहाँ । स्कुलहरूले पुस्तकालय बनाएका छन् । पाठक क्लब र पुस्तक परिचर्चा कार्यक्रम देशको विभिन्न ठाउँमा भैरहेका छन् । यी सबै पठन संस्कृतिको विकासको सूचक हुन् । मुख्य कुरा अहिले जिज्ञासु पाठकको सङ्ख्या बढ्दै छ । यो राम्रो लक्षण हो ।

१२.पाठक प्रतिक्रिया/पुस्तक समीक्षा लेख्दा केकस्ता कुराहरूमा ध्यान पुर्याउनुपर्छ होला?

पाठक प्रतिक्रिया त तत्कालीक मनस्थितिको प्रतिविम्ब हो । तर पुस्तक समीक्षा चाहिँ अलि सम्वेदनशील विषय हो । पाठक प्रतिक्रिया लेख्दा आफूलाई लागेको कुरा लेख्‍ने हो, तर समीक्षा चाहिँ सन्तुलित हुनु पर्छ । सन्तुलित भन्नाले त्यसको आद्योपान्त चित्रण । समीक्षा लेखकले पुस्तकलाई राम्रोसँग केलाएर अध्ययन गर्नु पर्छ । एकपटकको पठनबाट समीक्षा राम्रो नआउन सक्छ । समीक्षामा पुस्तक परिचय भन्दा पनि त्यसको सबल र दुर्बल पक्षलाई देखाउन सक्‍नु पर्छ । त्यसको भाषा, संरचना, प्रवाह आदि कुराको चर्चा समीक्षामा गर्नु उपयुक्त हुन्छ । विधाअनुसार पनि समीक्षाको ढङ्गमा फरक पर्छ । गैह्रआख्यानमा त्यसमा दिइएका सूचनाको सत्यासत्य र त्यसको स्रोतलाई पनि ध्यान दिनुपर्छ । मौलिकता अर्को बुँदा भयो । साहित्यिक कृतिमा त्यसको सौन्दर्यपक्षको पनि चर्चा गर्नु आवश्यक हुन्छ । समीक्षा कृतिकेन्द्रीत हुनुपर्छ, न कि लेखकको बारे। समीक्षा पढ्ने पाठकले प्रस्तुत पुस्तक आफूले खोजेको वा पढ्न चाहेको वा पढ्नु पर्ने वा नपर्ने भन्ने निधो गर्न सक्‍ने खालको हुनुपर्छ भन्ने मेरो धारणा हो । समीक्षा उपदेशात्मक हुनुहुँदैन । समकालीन त्यस्तै कृतिको दाँजोमा प्रस्तुक पुस्तक कुन स्थानमा रहन्छ भन्ने ठहर्‍याइदिन सकियो भने लेखक र कृति दुबैलाई न्याय हुन्छ । आग्रहप्रेरित नरहेर वस्तुगत हुनु पर्ने त न्यूनतम तत्व भइहाल्यो ।

१३.भर्खरै पठनतर्फ उन्मुख हुँदै गरेका युवापुस्तालाई के सल्लाह दिनुहुन्छ? कसरी राम्रो पाठक बन्ने? कस्ता पुस्तकबाट पढ्न सुरु गर्ने?

युवापुस्ताले पहिले आफूले चासो लागेको विषय चिन्नु पर्‍यो । आफूलाई चासो लागेको र थोरै ज्ञान र जानकारी बढाउने पुस्तकको पठन जरुरी पर्छ । त्यस्ता पुस्तकबाट पढ्न सुरु गर्दा पठन रूचिलाई अभिप्रेरित हुँदै जान्छ । आजभोलि बजारमा युवापुस्ता केन्द्रीत भनेर प्रेम र रोमान्स विषयक लेखन मात्र हुन् भन्ने भान पर्ने गरी प्रचार प्रसार गरिएको देखिन्छ । प्रेम, रोमान्स मान्छेका आवश्यकता हुन् । ती पनि पढिनु पर्छ । तर सँगसँगै आफ्नो बौद्धिक स्तरलाई उकास्‍ने विषयक पठनलाई पनि ध्यान दिनुपर्छ । त्यसैले उत्तिकै सङ्ख्यामा गैरआख्यानलाई पनि पढ्नु पर्छ । आजका युवाले आफ्नो विशिष्ट क्षेत्रमा विशिष्ट अध्ययन गर्नुको अलावा अन्य विविध क्षेत्रमा सामान्य जानकारी हासिल गर्नु पर्छ भन्ने मेरो धारणा हो । पठन जहिल्यै गहिरो हुनु पर्छ । गहिरो गरी अध्ययन गर्ने बानीले आलोचनात्मक चेतको विकास गर्छ । आलोचनात्मक पठनले राम्रो पाठक विकास गर्छ । पढ्दै गर्दा आफ्ना पुस्तकमार्फत लेखकसँग सम्वाद गर्न सक्‍नु पर्छ पाठकले । विज्ञापन र प्रचार प्रसारका किताब मात्र नपढेर असल पाठकले सुझाएका किताब पनि पढ्ने बानी गर्दा बिस्तारै आफूलाई रुचि भएको र उपयुक्त किताब आफैले छान्न सक्‍ने क्षमता आर्जन हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै