• २०८१ बैशाख १२ बुधबार

प्रदूषण बढेको भन्दै सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला 

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ र ३ का स्थानीयहरुले शालिमार सिमेन्ट र युनिटेक उद्योगमा तालाबन्दी गरेका छन् । 

विगत लामो समयदेखि उद्योगका कारण हुँदै आएको प्रदूषण नियन्त्रण गर्न स्थानीयले पटक–पटक आग्रह गर्दा समेत उद्योग प्रशासनले अटेर गरेपछि समस्या समाधान नहुँदासम्म उद्योगमा आइतबारबाट स्थानीयहरुले ताला बन्दि गरेका हुन् ।

लामो समयदेखि यस उद्योगको सिकार बन्दै आएका यहाँका नागरिकहरुले आफ्नो बाँच्ने अधिकारलाई सुनिश्चित गर्न पाउँनु पर्ने कुराका लागि आँफुहरुले यो आन्दोलन आगाडि बढाएको जीतपुरसिमरा उपमहानगरपालिका ३ रामवनका स्थानीय तारा कार्कीले बताए । 

उनले यसभन्दा पहिले पनि आफ्नो मागको बारेमा भन्न आउँदा प्रहरी प्रशासन लगाएर लखेट्न लगाएको बताउँदै अब कुँनै पनि शक्तिले आँफुलाई पछाडि नपार्ने बताए ।

स्थानीय निर्वाचन भएको एक वर्ष पूरा भएको र आँफुहरु निर्वाचित भएकै समयबाट यस उद्योगबाट निस्कँदै आएको प्रदूषण नियन्त्रण गर्न पटक–पटक पहल गर्दा समेत यस उद्योगले कुनै किसिमको चासो नलिएपछि आफूहरु बाध्य भएर उद्योगमा तालाबन्दी गर्न आउँनु परेको जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीले जानकारी दिए । 

उनले क्लींकर उत्पादन गर्ने युनिटेक र सिमेन्ट उत्पादन गर्ने शालिमार सिमेन्टको उद्योग सञ्चालनमा आएकै समयदेखि यस भेगका जनताहरु पिडित रहेको बताए । 

उनले उद्योगबाट निस्किने धुवाँका कारण यहाँका स्थानीयहरु रोगी बन्दै गएको, बालबालिकालाई आँखा र श्वासप्रश्वाससम्बन्धी समस्या हुने गर्नुका साथै खेतीयोग्य जग्गा समेत बाझो बन्दै गएको प्रति आफूहरु चिन्तित बनेको बताए । 

युनिटेक र शालिमार सिमेन्टले फाल्दै आएको धुवाँका कारण यस भेगका हजारौं जनतापीडित भएका छन् भने यस भेगका सयौं विग्हा खेती योग्य जमिन समेत बाँझो बनेको स्थानीयहरुले गुनासो गरेको छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै