काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरका दुई प्रतिद्वन्द्वीबीचको खेलमा थ्रीस्टार २–० गोल अन्तरले विजयी भयो । थ्रीस्टारका लागि दुवै गोल रन्जित धिमालले गरेका थिए । थ्रीस्टार ७ खेलमा १८ अंकसहित गोल अन्तरका आधारमा लिगको शिर्ष स्थानमा उक्लिएको हो। ६ खेल खेलेको मनाङको पनि १८ अंक नै रहेको छ। त्यस्तै जावलाखेलको ७ खेलमा ४ अंक मात्र रहेको छ।
त्यस्तै आज नै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्यो । हलचोक मैदानमा भएको खेलमा च्यासलका लागि सन्तबहादुर तामाङ, देवेन्द्र तामाङ र हेमन्त थापामगरले एक -एक गोल गरे भने फ्रेन्ड्सका लागि एक गोल विकास लामाले १ गोल फर्काएका थिए ।
जितपछि च्यासल ७ खेलमा १० अंक बटुल्दै सातौ स्थानमा उक्लिएको छ भने फ्रेन्ड्स क्लबको ७ खेलमा ५ अंक मात्र रहेको छ।
लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वायेजबीच तथा मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबबीच हुदै छ।