• २०८१ बैशाख १३ बिहीबार

नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जनका लागि छलफल

kharibot

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ ।

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच आइतबार राति भएको द्विपक्षीय भेटवार्ताका क्रममा सो विषयमा छलफल भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबीच आप्रवासी श्रमिकका विभिन्न पक्षबारे गम्भीर छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रवासी श्रमिकका पक्षमा विभिन्न कल्याणकारी कार्यक्रम सुनिश्चित र आप्रवासी श्रमिकका अधिकार तथा संवेदनशीलता सम्बोधन गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री विष्टले नेपालमा प्रशस्त लगानीको सम्भावना भएकाले जलविद्युत्, कृषि, पर्यटन तथा मिनरल वाटरका क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह गरेका थिए । सो अवसरमा मन्त्री विष्टले कतारी समकक्षीलाई उपयुक्त समय पारेर नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै