• २०८१ बैशाख ७ शुक्रबार

रग्बी विश्वकप ट्रफी टुर : टुँडिखेलमा आयोजना गरिएको रग्बी महोत्सवमा २५ सयको सहभागिता 

kharibot

काठमाडौँ। विश्व रग्बीको ‘प्रोजेक्ट एशिया १० लाख’ लक्ष्यको मुख्य अंगका रुपमा रग्बी विश्वकप २०१९ मैदान बाहिर प्रभाव नामक कार्यक्रम यही शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको थियो । जसमा २५ सयले सहभागिता जनाएका थिए ।

नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गरेको उक्त कार्यक्रममा सबै तप्काका मानिसहरुको सहभागिता रहेको थियो । जहाँ धेरैजनाले पहिलोपटक रग्बीलाई छोएको बताएका थिए । नेपाल रग्बीले तल्लो तहसम्म यस खेलको विकासका लागि कार्य गरिरहेको छ । संगितक कार्यक्रम माझ प्रदर्शन गरिएको वेब एलिस कपलाई दर्शकहरुले नजिकबाट अवलोकन गर्ने मौका समेत पाएका थिए ।

ट्रफी टुरको लक्ष्य नै खेल मैदान बाहिर पनि प्रभाव छोड्नु र नेपालमा रग्बी खेलको विकासमा सहयोग पुर्याउनु रहेको बताइएको छ । प्रोजेक्ट एशिया वान मिलियन, मैदान बाहिर प्रभावको एक अंग हो, जसको लक्ष्य एशियामा २०२० सम्ममा १० लाख नयाँलाई रग्बीमा सहभागिता गराउने छ । एशियाभर गरेर अहिले नै ९ लाख मानिसको सहभागिता भइसकेको छ ।

विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट भन्छन्– ‘रग्बी विश्वकप ट्रफी टुरले नयाँ खेलाडी र दर्शकहरुलाई आकर्षित गर्न सफल भइरहेकोमा हामी निकै उत्साहित छौं । यसपटको रग्बी विश्वकप एशियामा नै  रहेको जापनमा हुने भएकोले पनि एशियाका दर्शक तथा फ्यानका लागि यो निकै उत्साहप्रद समय छ । जापानमा रग्बी विश्वकप आयोजना भएसँगै एशियामा नै रग्बीले महत्व पाउनेमा आशावादी छौं ।’

वेब एलिस कप पहिलोपटक नेपाल ल्याइएको थियो र यसलाई समुद्र सतहभन्दा धेरै माथि (५५०० मी) कालापत्थर पुरयाइएको थियो । ट्रफीलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त, वर्ष खेलाडी रहिसकेका, बेलायतका पूर्व रग्बी खेलाडी ओले फिलिप्सले उक्त उचाइमा लिएर पुगेका थिए । 

यसअघि ट्रफीलाई २००७ मा फ्रान्समा आयोजना भएको रग्बी विश्वकपको बेला ४,८०८.७ मीको उचाइमा रहेको मन्ट ब्लांक लगिएको थियो । यस्तै २०१५ मा बेलायतको स्नोडन (१,०८५ मी) मा वेल्सका पूर्व खेलाडी रुपर्ट मुनले लगाएका थिए । यस्तै स्क्याफेल पाइक (९७८ मी) मा विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट र पूर्व बेलायती खेलाडी म्यागी एलफोन्सीले लगेका थिए । यस्तै २०१६ मा १,७५२ मी अग्लो माउन्ट हिकुरांगीमा न्यूजिल्याण्डका २०१५का रग्बी विश्वकप विजेता टोलीका सदस्य नेहे मिल्नेर–स्कुडरले पुरयाएका थिए ।

काठमाडौंमा छँदा ट्रफीलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगोले पनि स्वागत गरेका थिए । उनले ट्रफीको सम्मानमा विशेष भोजको समेत आयोजना गरेका थिए । जसमा २०१५ को विश्वकप आयोजकका तर्फबाट प्रतिनिधित्व गर्दै बेलायती राजदूत रिचर्ड मोरिस सहभागी थिए ।

ट्रफीलाई काठमाडौंको स्वयम्भूनाथ मन्दिर, बौद्धनाथ र पशुपतिनाथका साथै पाटन दरबार क्षेत्र पनि पुरयाइएको थियो । नेपाल विश्वकप ट्रफी टुर अन्तरगत पर्ने २० राष्ट्र मध्येको दशौं गन्तव्य हो । यो २०१८ को अन्तिम गन्तव्य पनि हो । 

ट्रफीले एशिया भ्रमण गरेको यो पाँचौं अवसर हो । यसहअघि ट्रफीलाई हङकङ, चीन, फिलिपिन्स र भारत लगिसकिएको छ । अब जेनेवरीमा यसको अर्को गन्तव्य मलेसिया हुने छ । यसले एशियाको जापानमा हुन लागेको आगामि विश्वकपका लागि वातावरण तयार पारिरहेको छ । यस्तै अर्को वर्ष ट्रफीलाई पाकिस्तान, ब्राजिल, चिली पुरयाइने छ ।

रग्बी विश्वकप २०१९ जापानमा आयोजना हुन लागेको नवौं संस्करण हो, जुन एशियामा पहिलो पटक आयोजित हुँदै छ । विश्वका २० टीमले ४८ खेल खेल्ने यस प्रतियोगिता १२ विभिन्न सहरमा आयोजित हुने छ । प्रतियोगिता २० सेप्टेम्बरमा सुरु भई २ नोभेम्बरमा समापन हुनेछ ।

रग्बी विश्वकप यस खेलको सबैभन्दा महत्वपूर्ण आर्थिक पाटो हो जसले यस खेलको विकासका लागि चाहिने ९० प्रतिशत रकम जोहो गर्न मद्दत गर्छ । बेलायतमा आयोजना भएको विश्वकप २०१५ रग्बीमा २०२० सम्म लगानी गर्नका लागि २४५.८ मिलियन पाउण्ड रकम उठाएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै