काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली काँग्रेस हिन्दु राष्ट्रका पक्षमा उभिएमा सहकार्य गर्न सकिने बताएका छन्।
चितवनको भरतपुरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले काँग्रेसभित्रका नेताहरुले हिन्दु राष्ट्रका पक्षमा अभियान थालेको पनि बताए।
‘काँग्रेसकै महामन्त्री डा. शशांक कोइराला हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ भनेर सार्वजनिक रुपमै बोलिरहनु भएको छ। केन्द्रीय समिति बैठकमा पनि त्यो कुरा प्रवेश गरेको छ,’ थापाले भने,‘हिन्दु राष्ट्रका पक्षमा उभिए ऊसँग सहकार्य हुन्छ।’
थापाले हिन्दु राष्ट्रलाई हटाएर धर्मनिरपेक्ष मुलुक घोषणा गर्नुलाई त्यतिबेलाको हतारोको संज्ञा दिए। उनले भने,‘सबै हिन्दु राष्ट्रको पक्षमा रहँदा रहँदै धर्मनिरपेक्ष भनेर सहमतिको दस्तावेजमा घुसाइएको हो। अब विस्तारै मान्छेहरु हिन्दु राष्ट्रको पक्षमा बोल्न थालेका छन्।’
थापाले नेपालमा पछिल्लो समय १० लाखभन्दा बढी सर्वसाधारण जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको दाबी गरे। उनले कुनै एउटा धर्म प्रचारको कार्यक्रममा सरकार नै सक्रियतापूर्वक लाग्नु लाजलाग्दो कुरा भएको बताए।