• २०८१ बैशाख ८ शनिबार

सार्वजनिक जग्गामा सञ्चालित तनहुँको पेट्रोल पम्प बन्द

kharibot

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो ।

विगत १०/१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

पृथ्वी राजमार्गको १० मिटर छेउमै सञ्चालित पेट्रोलपम्पले गर्दा बजार व्यवस्थापन गर्ने अभियानमा असहज भएपछि पेट्रोलपम्प बन्द गराइएको उहाँले जानकारी दिनुभयो । उनले भने, “बजार व्यवस्थापन गर्नका लागि स्थानीयवासीले पनि उक्त पेट्रोलपम्प त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पेट्रोलपम्पकै कारण बजार क्षेत्रमा सार्वजनिक सवारीसमेत अस्तव्यस्त हुने गरेको थियो ।”

सार्वजनिक जग्गाबाट पेट्रोलपम्प हटाउन यसअघि नेपाल आयल निगम, सडक डिभिजन कार्यालय तनहुँ र गाउँपालिकाले पटक–पटक आग्रह गरेको थियो । सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा गाउँपालिका रहेकाले अन्य ठाउँका अतिक्रमित संरचनासमेत क्रमशः हटाउँदै जाने थापाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केही समय अघिदेखिनै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहरा भत्काउने अभियान शुरु गरिएको जानकारी दिए । स्टोर्सका सञ्चालक राजकपुर पियाले भने बिना जानकारी गाउँपालिकाले पेट्रोलपम्प बन्द गराएको प्रतिक्रिया दिए ।

गुरुकुल सञ्चालनका लागि महायज्ञ

तनहुँको दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गर्ने भएको छ । गुरुकुल सञ्चालनार्थ रकम जुटाउने उद्देश्यले विद्यालयले यही मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको हो ।

विद्यालयका प्रधानाध्यापक तुलसीशरण सिग्देलले आर्थिक अभावमा गुरुकुल सञ्चालनका लागि समस्या भएकाले महायज्ञमार्फत अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

विद्यालयले गत वर्षदेखि सञ्चालन गरेको गुरुकुलमा ५५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको आवासदेखि खानपानको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । गुरुकुल सञ्चालनका लागि महर्षि फाउण्डेशनले मासिकरूपमा रु ५५ हजार उपलब्ध गराउँदै आए पनि आर्थिक अभाव रहेको सिग्देलले बताउनुभयो । उनका अनुसार गुरुकुल सञ्चालनका लागि मासिक रु एक लाख १० हजारभन्दा बढी खर्च हुने गरेको छ ।

“हालसम्म मुठ्ठीदानबाटै गुरुकुल सञ्चालनको खर्च व्यवस्थापन गर्दै आएका छौँ”, उनले भने, “यसलाई दिगो बनाउन अक्षयकोष स्थापना गर्ने र अक्षयकोषबाट यसलाई सञ्चालन गर्ने उद्देश्य राखेका छौँ । महायज्ञबाट न्यूनतम रु ५० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।”

नियमित गौसेवा, भगवत्पुजन, रुद्राभिषेक, भावातीत ज्ञान, योग, १०८ बटुकका लागि अत्यावश्यक आवास तथा भोजन व्यवस्थापन गर्ने उद्देश्यसमेत विद्यालयले राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीले बताए ।

विद्यालयको रजतजयन्ती वर्ष समापन, २६ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर ज्ञानमहायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको अवसरमा नै एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान, पूर्वशिक्षक एवं कर्मचारीलाई सम्मान, विद्यालय व्यवस्थापन समितिका सदस्य र पूर्वसदस्यलाई सम्मान, चन्दादाता, सहयोगदातालाई सम्मानलगायतका कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

साथै भागवत पूजाअर्चना, रुद्राभिषेक, सप्तशती, वेदादी पाठपारायण, ग्रहशान्ति, जप, नित्यवहन, श्रीमद्भागवत कथा प्रवचनलगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै