• २०८१ बैशाख ७ शुक्रबार

संघ र प्रदेश सरकारको सहभागितामा जनस्तरीय महानगर दिवस मनाइने — मेयर शाक्य 

kharibot

काठमाडौं । २४औं महानगरका अवसरमा आयोजना गरिने कार्यक्रममा संघ र प्रदेश सरकारलाई सहभागी गराएर जनस्तरीय कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर दिवस भनेको हरेक महानगरबासीको गौरवसँग जोडिएको भन्दै नागरिक सहभागीतालाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना हुने बताएका छन् ।

शाक्यले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा भने, 'स्थानीयले आफ्नै हो भनेर दायित्व बोध गर्न सकेनन् भने महानगर दिवस खल्लो हुन्छ ।'  उनले भने, 'यस बर्ष करदाता विशेष सम्मान र ५० हजार राशीसहितको शुशासन पत्रकारिता पुरस्कार वितरण हुनेछ । त्यस्तै परम्परागत बाजा संरक्षणमा योगदान पुरयाउने गुरुहरुलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान गरिनेछ ।' 

२९ गते बसन्तपुरमा मुल कार्यक्रम आयोजना भएपछि नागरिकलाई कार्यक्रममा सहभागी गराउन ३ दिने काठमाडौं (खुला संग्रहालय) महोत्सव हुनेछ । महानगरका भित्री सहरी क्षेत्र वडा नं. १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ लाई समावेश गरेर मंसिर २८ गतेदेखि ३ दिनसम्म बसन्तपुरलाई केन्द्रमा राखेर सञ्चालन हुनेछ । सांस्कृतिक तथा सम्पदा संरक्षण र प्रवर्धन तथा धरोहरहरुको प्रचारप्रसार गर्ने लक्ष्य राखेर महोत्सवको आयोजना गर्न लागिएको हो । यसबाट काठमाडौं सहर आफैंमा खुल्ला संग्रालय हो भन्ने सन्देश प्रवाह हुन्छ, मेयर शाक्यले भने, 'स्थानीय जीवन शैली, अनुपम मौलिक कला र संस्कृति पर्यटकलाई प्रदर्शन योग्य छन् । तिनलाई व्यवस्थित प्रदर्शन गरेर आयमा रुपान्तरण गर्न यो काम संस्थागत थालनी हो । यसबाट आन्तरिक र वाह्य दुवै पर्यटकको संख्यामा वृद्धि हुनेछ ।' 

महोत्सवबाट पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा आर्जन हुने, स्थानीय कला, संस्कृति, खाद्य र अन्य वस्तुको बिक्री वृद्धि हुने, स्थानीय उद्यमी व्यापारीको आय आर्जन बढ्ने, स्थानीय भाषा, कला, साहित्य र सृजनाको बजारीकरणमा सहयोग पुग्ने तथा समग्रमा पर्यटन वर्ष २०२० लाई सहयोग पुग्नेछ । 

महोत्सव सञ्चालन हुने स्थान 

महोत्सव काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा सञ्चालन हुनेछ । त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर,  ओम बहाल, लगन, ब्रम्हटोल, न्हय्मून्हय्त्वाः, ओन्दे, ह्यूमतः, तुकंवहाः, जैशी देवल, कोहिटी, भीमसेनस्थानमहोत्सव सञ्चालन हुने स्थान हुन् । 

महोत्सवमा हुने क्रियाकलाप 

महोत्सवमा काठमाडौंभित्र रहेका सबै वहाःबही, चोक, मठ मन्दिरहरुलाई सफा स्वच्छ गरी सम्बन्धित गुठी संघ संस्थाहरुले सञ्चालन गर्ने सांस्कृतिक चाल चलन  र मौलिक खानपान प्रदर्शन गरिनेछ । त्यस्तै लाखे, महाकाली, पुलुकिसी जस्ता नाच प्रदर्शन हुनेछन् भने पौभा चित्र, मूर्तिलगायत प्रदर्शन र विक्रीमा राखिनेछन् । निश्चित क्षेत्रभित्र कार्यक्रम गर्ने दिनमा फुटपाथ पसलहरु र चारपांग्रे यातायातहरु पूर्ण रुपमा रोक लगाएर सञ्चालन गरिने महोत्सवको आकर्षण नेपालीपन झल्कने विविध कला संस्कृतिको संयोजन हुनेछ । यसमा स्वागतद्वार निर्माण, झिलिमिलि र दीपावलीले उत्सावलाई महोत्सव बनाउने महानगरको अपेक्षा छ । युस बर्ष महानगरभित्र भएका सबै बाजा समूहका गुरुहरुलाई सम्मान गर्ने पनि कार्यक्रम छ । 

महोत्सवलाई सम्पन्न गर्न सम्बन्धि वडाका १२ जना वडाध्यक्षसहित प्रशान, वातावरण र सम्पदा तथा पर्यटन विभागलाई फोकल पर्सन (सम्पर्क व्यक्ति) तथा जिम्मेवारी पूरा गर्नु पर्ने संयन्त्रका रुपमा तोकिएको छ ।

जसमा भित्री सहरी क्षेत्रका वडा अध्यक्षहरु :
न्हुछेकाजी महर्जन (१८ वडा , विकास डंगोल (१२ वडा, नवीन मानन्धर (१७ वडा), शशिलाल श्रेष्ठ (१९ वडा), राजेन्द्र मानन्धर (२० वडा), उदय चुणामणि बज्राचार्य (२१ वडा), चिनिकाजी महर्जन (२२ वडा), मचाराजा महर्जन (२३ वडा), बालकृष्ण श्रेष्ठ (२४ वडा), नीलकाजी शाक्य (२५वडा), ख्यामराज तिवारी (२६ वडा) र चिनियाँमान बज्राचार्य (२७ वडा) रहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै