• २०८१ बैशाख ७ शुक्रबार

साहित्य : कति जिम्मेवारी, कति मनोरञ्जन ?

kharibot

काठमाडौं । नेपाली साहित्य अहिलेसम्म आउँदा निकै समृद्ध बनिसकेको छ । अनुवाद र स्तुतिबाट सुरु भएको नेपाली साहित्यले नैतिक चेतना हुँदै उत्तर आधुनिकतासम्मको यात्रा गरिसकेको छ । यसले आख्यान र आख्यानेतर विधामा अनेकन कृति र कृतिकारहरु पाएको छ । यही यात्राको क्रममा नेपाली साहित्यले स्वच्छन्दतावादी महाकवि लक्ष्मीप्रसाद देवकोटा, परिष्कारवादी धाराका कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण समदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता साहित्यका ऋषितुल्य सर्जकहरु पाएको छ । अझ पछिल्लो समयमा त युवाजमात पनि साहित्यिक रचनातर्फ निकै आकर्षित भएको पाइन्छ । साहित्यमा युवाजमातको बढ्दो आकर्षणसँगै यसका विविध विधाका बारेमा विशेष चिन्तनहरु देखा परेका छन् । 

नेपाली साहित्य विधागत दृष्टिले निकै समृद्ध भए पनि युवाजमात विशेषतः गजल र कविता विधामा बढी आकर्षित भएको छ । सूचना र प्रविधिको विकासले छलाङ मारेसँगै अत्यधिक रुपमा खुलेका अनलाइन पत्रिका, युट्युब च्यानल तथा फेसबुक, ट्विटर तथा सामाजिक सञ्जालहरुमा पनि कविता र गजलजस्ता विधाहरु प्रशस्त पढ्न र सुन्न पाइन्छ । त्यस्तै हरेक ठाउँमा साहित्यिक सङ्घ तथा संस्थाहरु खुलेका छन् भने तिनीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । भाषा, साहित्यप्रतिको यो जनरुचिलाई सकारात्मक दृष्टिकोणले हेर्ने पर्याप्त ठाउँ छ, तथापि संख्यात्मक रुपमा अत्यन्त बढी रचना पाइए पनि गुणात्मक रुपमा भने साहित्यको स्तर उति बढ्नसकेको देखिँदैन । किन यस्तो भइरहेको छ त ? देखिएका केही कुराहरुलाई यस आलेखमा प्रष्ट पार्ने जमर्को गरिएको छ ।

मनोरञ्जन मात्र हो ?
साहित्य मनोरञ्जनको माध्यम पनि हो । मनोरञ्जनको माध्यम हुँदाहुँदै पनि साहित्यसँगै केही जिम्मेवारी पनि थपिएका हुन्छन्् । आफ्ना भावहरुलाई भाषाका माध्यमले प्रस्तुत गरिने हुँदा भाषासम्बन्धी सबै नियमहरुको बारेमा जानकारी हुनु जरुरी हुन्छ भने अर्कातिर विधागत संवेदनशीलतालाई पनि नजरअन्दाज गरिनुहुँदैन । कुनै पनि विधागत रचनाका विविध आयामहरु हुन्छन्, ती सबैका बारेमा सर्जकहरु उति सचेत भएको देखिँदैन । गजल र कवितामा आकर्षित भएको युवाजमातले संरचनाको बाह्य पक्षलाई मात्र ध्यान दिने तर त्यसको प्राण मानिने रस, भावजस्ता कुराहरुलाई चाहिँ उति महत्त्व दिने गरेको देखिँदैन । यस्ता रचनाहरु कालजयी हुन सक्दैनन् । अर्को कुरा साहित्य सामाजिकीकरणको माध्यम त हो, यसबाट मानिसहरुबीच बढेको सद्भाव सकारात्मक पनि होला, तर भेटघाटका लागि साहित्यिक कार्यक्रममा हिँड्नथालेपछि लेखिहेर्छु र सुनाइहेर्छु भन्दाभन्दै सृजनाहरु धेरै हुने तर लेखनको धेरै समयसम्म पनि तिनीहरुको गुणस्तरमा वृद्धि नहुनु भने निकै दुःखको विषय हो ।

विषयवस्तुको चयन
आजभोलि नेपाली साहित्यमा विषयवस्तुको चयन पनि प्रायः एकात्मक भएको देखिन्छ । एकातिर वैदेशिक रोजगारीमा विदेशिएका युवाहरुलाई आफू परदेशिनुको पीडा छ भने अर्कातिर नेपालमै बसेर पनि बेरोजगार भएका युवाहरुको आफ्नो पीडा पनि साहित्यको विषय बनेर आउँछ । त्यसैगरी प्रेम, प्रणय तथा राजनीतिसम्बन्धी समसामयिक विषयवस्तुहरु कवितामा आएको देखिन्छ । हुन त कवितामा जीवन र जगत्का सबै विषयवस्तुहरु अटाउन सक्छन्, तथापि तिनीहरुको प्रस्तुतिको साहित्यिक ढाँचा भने आफ्नै किसिमको हुने अपरिहार्य हुन्छ ।

रस, वक्रोक्ति, अलङ्कारको सिद्धान्त बुझिरहनु भलै जरुरी नहोला तर साहित्यिक लेखनमा ती कुराहरुको प्रायोगिक पक्ष जति सशक्त भयो उत्ति नै रचना स्तरीय हुन जान्छ ।

त्यसको ढाँचा बुझ्नका लागि या त साहित्यका सिद्धान्तहरुको जानकारी जरुरी हुन्छ कि त साहित्यिक मानक कृतिहरु पर्याप्त पढेको हुनुपर्छ । व्यक्तिगत जीवनका पीडालाई साहित्यकामार्फत व्यक्त गर्दा त्यसलाई दार्शनिकता नघोली व्यक्त ग¥यो भने त्यो पट्यारलाग्दो हुन्छ । पछिल्लो समयमा लेखिने गरेका अधिकांश आत्मकथामा देखिएको समस्या यही हो । अत्युक्ति हुँदैन भने आजभोलि सामाजिक सञ्जालमा रचना लेखेर पठाउने अधिकांश युवापुस्ताले पुराना कवि र कविताहरुको बारेमा जानकारी राखेको देखिँदैन । समसामयिक कार्यक्रमहरुमा हिँडेको आधारमा साहित्य जे–जति बुझियो त्यसका बारेमा आधारमा रचना लेख्दा त्यस्ता रचनाहरुले विधागत संवेदनालाई न्याय गर्नसकेको देखिँदैन । जसका कारण ती रचनाहरु भाषिक स्तर, संरचना, भाव, शिल्प आदि सबै दृष्टिले कमजोर देखिन्छ ।

अनुकरण
सामाजिक सञ्जाल या अन्य माध्यमबाट जोडिएका साथीहरु र व्यक्तिहरुको रचनाबाट केही सिकेर साहित्यतर्फ आकर्षित हुने युवापुस्ताले लेखन एवं प्रस्तुतिका अनेक आयामहरुमा अरुको अनुकरण गरेको देखिन्छ । जसका कारण कतिपय ठाउँमा भाव, शिल्प या कतिपय ठाउँमा त शब्दशः सबै कुरा मिलेको देखिन्छ । जसका कारण सामाजिक सञ्जालहरुमा व्यापक रुपमा विवाद बढेको देखिन्छ ।

भाषिक ज्ञानको अभाव
पछिल्लो समयमा भाषामा देखिएको विवादका कारण पनि युवापुस्ता अन्योलमा परेको देखिन्छ । युवापुस्तालाई शब्दहरुको मानक लेख्य स्वरुप थाहा नहुने हुँदा लेखन परिष्कृत हुनसकेको देखिँदैन । भाषासम्बन्धी ज्ञान र चिन्तन नभएपछि भाषाकै माध्यमबाट व्यक्त हुने विषयवस्तु अस्पष्ट या अपरिष्कृत हुनु स्वाभाविक नै हो । युवाहरु भाषिक संवेदनाप्रति सचेत नहुने हो भने यो क्रममा कहिल्यै पनि सुधार नआउने देखिन्छ । जसका कारण संख्यात्मक रुपमा जति नै रचना आए पनि गुणात्मक रुपमा आउन सक्दैनन् ।

विराट् चिन्तन या दृष्टिको अभाव
विचारको दायरा जति उच्च भयो, साहित्यिक रचनाले पनि उत्तिकै उच्चस्तरीयता पाउँछ । ‘जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि’ भन्ने उखानले सङ्केत गर्न खोजेको सर्जकको दृष्टिलाई नै हो । तर समसामयिक रचनाहरुमा देखिने वैचारिकता अत्यन्त सामान्य हुनु पनि यही कारण हो । आजभोलिका रचनाहरुमा विषयवस्तुहरु वर्णनात्मक ढाँचामा आउँछन् र वर्णन पनि सामान्य किसिमको मात्र पाइन्छन् । एउटै घटनालाई पनि कविले हेर्ने दृष्टिकोण र पत्रकारले हेर्ने दृष्टि फरक हुन्छ । त्यसैले रचनात्मक स्तरीयताका लागि दृष्टिको दायरा पनि फराकिलो हुनु जरुरी छ ।

सैद्धान्तिक ज्ञान 
साहित्यिक भाषमा गरिने वर्णन आलङ्कारिक हुनु जरुरी छ । रस, वक्रोक्ति, अलङ्कारको सिद्धान्त बुझिरहनु भलै जरुरी नहोला तर साहित्यिक लेखनमा ती कुराहरुको प्रायोगिक पक्ष जति सशक्त भयो उत्ति नै रचना स्तरीय हुन जान्छ । रस, भाव, वक्रोक्ति, अलङ्कारजस्ता कुराहरु साहित्यका पोषणहरु हुन् । पोषणको सिद्धान्त र क्यालोरीको मापन थाहा नभए पनि पौष्टिक आहारा पाएको व्यक्ति बलियो र तन्दुरुस्त हुनसकेझैँ साहित्यका घटकहरुको बारेमा पूर्णतः जानकारी नभए पनि ती–ती कुराहरुको प्रयोगको पक्ष परम्पराबाटै प्राप्त भयो भने कविता स्वतः स्तरीय हुन जान्छ ।

जसरी एउटा असल शिक्षक बन्नका लागि असल विद्यार्थी बन्नु जरुरी हुन्छ, त्यस्तै असल सर्जक बन्नका लागि असल पाठक हुनु उत्ति नै महत्त्वपूर्ण हुन्छ । एकातर्फ विश्वविद्यालयका भाषा र साहित्यका कक्षाहरु खाली हुँदै गएको देखिनु र अर्कातर्फ सामाजिक सञ्जाल, अनलाइन पत्रिकाहरुमा पर्याप्त रचनाहरु देखिनु निकै विरोधाभासपूर्ण देखिन्छ । पछिल्लो समयमा साहित्यिक पत्रपत्रिका प्रकाशनको बाढी चलेको छ भने साहित्यिक कार्यक्रमहरुको आयोजना र गोष्ठीहरुको पनि पर्याप्त आयोजना हुनलागेको देखिन्छ । उल्लेख्य पुरस्कारसमेत दिएर साहित्यिक प्रतियोगिताहरुसमेत भएको देखिन्छ । प्रतियोगितामा गएपछि कुनै न कुनै कविता पुरस्कृत हुनैपर्छ तर उच्च स्थान प्राप्त गर्ने रचनाहरुको स्तर पनि उति उच्च देख्न सकिँदैन । यो सबैको कारणलाई माथि उल्लिखित गरिसकिएको छ । 

कुनै पनि सर्जक सर्जक बन्नुअघि एउटा कुराप्रति संवेदनशील हुनु जरुरी छ । सर्जकको सृजना सामान्य प्रस्तुति होइन, त्यो एउटा भोलिको इतिहास हो । समले लेखेका छन्–
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति । जीत वैभव भाषामै रहन्छन् पछिसम्म ती । यहाँ भाषा भन्नाले भाषामात्र नभई साहित्य तथा दर्शनसम्बन्धी सबै वाङ्मयलाई सङ्केत गर्न खोजेको देखिन्छ । इतिहासमा मिति र व्यक्तिबाहेक सबै झूटो लेखिन्छ तर साहित्यमा मिति र व्यक्तिबाहेक सबै साँचो लेखिन्छ भन्ने भनाइप्रति गम्भीर दृष्टि दिने हो भने साहित्य आफैँमा एउटा जिम्मेवारी हो । तसर्थ सर्जकले सामान्य विचार, सामान्य शिल्प, सामान्य भाषा र सामान्य शैलीमा प्रस्तुत गर्नु पाठकप्रतिको अन्याय हो । रचनालाई अनावश्यक रुपमा दुरुह बनाउनुपर्छ भनिएको पनि होइन, तर त्यसमा आलङ्कारिकता भने अपरिहार्य कुरा हो । 

अर्को कुरा भाषा, साहित्यसम्बन्धी प्राध्यापकको अध्यापनको कक्षा नलिए पनि हरेक सर्जक भाषा साहित्यको विद्यार्थी हो । भाषा र वाङ्मय आफैँमा एउटा सिङ्गो विश्वविद्यालय हो । म भाषाको विद्यार्थी होइन भनेर कुनै पनि सर्जक यसको संवेदनशीलताप्रति अनुत्तरदायी हुन भने पाउँदैन । तसर्थ साहित्यिक सृजना गर्न चाहने सबै व्यक्तिहरुले सृजनाका सबै आयामहरुप्रति उत्तिकै संवेदनशील हुनुपर्ने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै