• २०८१ बैशाख ७ शुक्रबार

मन्ट्रियल महासन्धि लागूः हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने 

kharibot

काठमाडौँ। नेपालको हवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने भएको छ । 

यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुनेछ। हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो । 

महासन्धिअनुसार हवाई यात्रुले बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाई यात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन महासन्धि लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

गत असोज ३० गते सङ्घीय संसद्ले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो । यो महासन्धि नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय एयरलाइन्सको हकमा लागू हुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । 

मन्ट्रियल महासन्धि लागू गर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव लामिछानेले पुरानो वार्सा महासन्धि यात्रुमैत्री नभएपछि मन्ट्रियल महासन्धि लागू गरिएको बताए । विश्वको १३५ मुलुकले यो महासन्धि लागू गरिसकेको छ । 

अन्तर्राष्ट्रिय हवाई यात्रामा यात्रुको सुरक्षा सुनिश्चित गर्नु महासन्धिको मुख्य उद्देश्य भएको सहसचिव लामिछानेले बताए । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्नेछ । 

हवाई जोखिमबाट यात्रीलाई सुरक्षित बनाउँदै विश्वसनीयता वृद्धि गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयनबाहेकका दायित्वलाई अझ बढी विश्वसनीय बनाउन खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । सो महासन्धिको पक्ष राष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व बहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने, हवाई उडानबाहेकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाउने हुन्छ । यस्तै अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानसमेत महासन्धिमा समेटिएको छ । 

हवाई यात्रुको बीमा रकम अन्तर्राष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकमसमेत बढ्न सकेको थिएन । झण्डै १० वर्षको प्रयासपछि नेपालमा महासन्धि लागू भएको हो । 

महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो रु दुई हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै ब्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा विलम्ब भएमा रु पाँच लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ । 

नेपालले हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो । सन् १९२९ देखि कार्यान्वयनमा आएको वार्सा अभिसन्धिअनुसार हवाई यात्रुको बीमा मात्रै २० हजार अमेरिकी डलर बराबरको बीमा हुँदै आएको थियो । दक्षिण एशियामा भारत र श्रीलङ्काले यसअघि नै अनुमोदन गरेका थिए । ती देशले महासन्धि अनुमोदन गरी लागू गरेका कारण बीमा रकमसमेत बढिसकेको छ । 

महासन्धि कार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमायल एयरलाइन्स र बुद्ध एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि थप सहज हुनेछ । 

क्यानका महानिर्देशक सञ्जीव गौतमले महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रियस्तरको हुने र यसले यात्रु तथा एयरलाइन्सलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय हवाई परिवहनमा उपभोक्ता हित संरक्षणको सुनिश्चितताको महत्व र परिपूरणको सिद्धान्तमा आधारित समन्यायिक क्षतिपूर्तिको आवश्यकतालाई कदर गरिएको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै