• २०८१ बैशाख ७ शुक्रबार

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

kharibot

जनकपुरधाम। नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका–५ का वडासदस्य ४९ वर्षीया गङ्गा साह, रौतहट दुर्गा भगवती गाउँपालिका–४ घर भई हाल जनकपुर उपमहानगरपालिका–४ बस्ने हेमन्त पाण्डे र धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल छन् । 

प्राप्त सूचनाका आधारमा देवपुरा रुपैठा बस्ने विद्यानन्द चौधरीका छोरा रोशनकुमार चौधरीको डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा नक्कली नागरिकतालगायतका कीर्ते कागजात फेला परेको प्रहरीले जनाएको छ । चौधरीका कोठाबाट प्रहरीले विभिन्न व्यक्तिको नामको नागरिकता प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जीकाधिकारी छाप, टोली प्रमुख नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइको प्रमाणपत्रको ठेली, नागरिकता विवरणको ठेली र मोबाइल थान एकसमेत बरामद गरेको छ । 

पक्राउ परेकाबाट नागरिकता अनुसूची फारमको ठेली, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने होलोग्राम र नगद रु एक लाख ५३ हजार पनि बरामद भएको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बरामद भएको कीर्ते नागरिकताका प्रमाणपत्र २०७० सालको रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयको स्रेस्तासमेत बरामद भएकाले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । 

पक्राउ परेकालाई सरकारी दस्तखत छाप कीर्ते र नागरिकता मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै