• २०८१ बैशाख ८ शनिबार

शारीरिक सम्बन्धमात्रै हो त सुहागरातको अर्थ ? 

kharibot

काठमाडौं । विवाहको पहिलो रातलाई सुहागरात भनिन्छ । यो सबैको जीवनको एक महत्त्वपूर्ण पाटो हो । यो रातलाई लिएर धेरैको मनमा विभिन्न किसिमका शंका उपशंका हुन सक्छन् । यो रात महिला तथा पुरुष दुवैमा धेरै किसिमका उत्सुकता रहन्छन् । सामान्यतया सुहागरातको अर्थ नवदम्पती शारीरिक रुपले एक हुनु मानिन्छ । तर, जीवनको यो एक विशेष समयलाई त्यतिमात्र भनेर बुझ्नु गलत हो । सुहाग रात नै पतिपत्नीको नवजीवनको पहिलो रात हो । यो रातको विषयमा पतिपत्नीमा धेरै किसिमका खुलदुली र चिन्ता हन सक्छन् । 

हाम्रो समाज उदार नभएकाले यस विषयमा त्यति चर्चा भएको पाइँदैन । यस विषयलाई यौनसँग जोडेर हेर्ने गरिएकाले पनि यस्तो भएको हो । यद्यपि, नवदम्पतीबीच शारीरिक सम्बन्ध स्थापित हुनु यस रातको एक भाग मात्र हो । त्यसैले यसलाई शारीरिक सम्बन्ध कायम गर्ने रातको रुपमा मात्र लिनु पूर्ण गलत हो । सुहागरातको अर्थ विवाहको त्यो पहिलो रात हो जुन रात पतिपत्नीले एकअर्काको सोचाइ, व्यक्तित्व आदि जान्ने, बुझ्ने मौका पाउँछन् । यस रात नवदम्पतीले वैवाहिक जीवनको भावी योजना पनि बनाउन सक्छन् ।

सुहागरातको तयारी

विवाह सम्पन्न भइसकेपछि दुलही आफ्नो ससुराली अथवा आफ्नो नयाँ घरमा प्रवेश गर्छन् । त्यस बेलादेखि नै विवाहको पहिलो रातको तयारी सुरु हुन्छ । आफ्नो पतिको घरमा पुगेपछि नववधूलाई विभिन्न रीतिरिवाजको पालना गर्नुपर्ने हुन्छ । हरेक दुलहीको लागि यो अविस्मरणीय पल हो । 

नवविवाहिता दुलही घरको मूलद्वारमा पुग्नेबित्तिकै गृहप्रवेशका लागि ढोकामा चामलले भरिएको कलश राखिन्छ । त्यो कलशलाई ढलाउँदै दुलही गृहप्रवेश गर्छिन् । दुलही गृहप्रवेश गर्दा पाइलाको छाप कुनै थालीमा लिने पनि गरिन्छ । बुहारीलाई लक्ष्मीको स्वरुप मानेर यी विविध रीतिको पालना गरिएको हो ।

विवाहपछि दुलही नयाँ घरपरिवारसँग खुलोस् भन्ने हेतुले विभिन्न रोचक खेलहरु खेलाइन्छ । जस्तै, दूध, धान आदिमा लुकाइएको औंठी खोज्ने आदि । त्यस्तै, परिवारका सदस्य तथा आफन्तसँग दुलही छिटै घुलमिल होऊन् भनी नृत्य, गीत आदिको पनि आयोजना गरिन्छ । यी विविध रीतिको पालना गरिसकेपछि नवदम्पतीको कोठा सजाइन्छ र खानपिन, रमाइलो सकिसकेपछि नवदम्पती आफ्नो कोठाभित्र प्रवेश गर्छन् । 

मायाको चिनो 

विवाहको पहिलो रातलाई लिएर नवदम्पतीको मनमा धेरै खुलदुली हुन सक्छन् । यस बेला दुवैमा केही लाज, संकोच, डर, मनमा विभिन्न प्रश्न हुन सक्छन् । पतिपत्नीबीच सामीप्य बढाउन पत्नीलाई केही मायाको चिनो दिनु उपयुक्त हुन्छ । यसले आत्मीयता बढाउँछ । यतिबेला दिइएको चिनो जीवनभर याद रहिरहन्छ । यसले एकआपसमा वार्तालापको वातावरण सृजना गर्न पनि सहज हुन्छ । 

अतिजिद्दी र अतिनिषेध नगरौं 

विवाहको पहिलो रात वरवधू, दुवैले एकअर्कालाई बुझ्ने कोसिस गर्नु आवश्यक छ । यस्तोमा दुवैले नै एकअर्कासँग खुल्ने कोसिस गर्नुपर्छ । सुहागरातको दिन अधिकांश महिलाले पुरुषले नै वार्तालापदेखि हरेक कुराका लागि पहल गरोस् भन्ने सोचेका हुन्छन्, तर यो गलत हो । यौन सम्पर्कका लागि आवश्यकताभन्दा बढी जिद्दी गर्नु र निषेध गर्नु दुवै हानिकारक हुन् । समागमको आग्रह र निषेध दुवैमा रोमान्स मिसिएको छ भने यसले सुहागरातलाई अझ यादगार बनाउँछ । दुवैको सहमतिमा समागमको आधार तयार गर्दा नै राम्रो हुन्छ । यौन क्रीडाभन्दा अगाडि यस विषयमा चर्चा गर्दा अझै दुवै जना एकअर्कासँग खुल्न सक्छन् । यस बेला सुहागरातलाई लिएर आफ्नो केही कल्पना भए त्यो पनि जीवनसाथीसँग बाँड्न सकिन्छ । 

उच्छृङ्खल नबनौं 

सुहागरातमा उत्ताउलो पन देखाउनु राम्रो होइन । कतिपय पुरुषले नवविवाहिता दुलहीमाथि आफ्नो पूर्ण हक छ भनेजसरी उत्ताउलो व्यवहार पनि देखाउन सक्छन् । तर, यस्तो व्यवहारले महिलाहरु असहज महसूस गर्न सक्छन् । उत्ताउलो पनले आफ्नो संगिनीलाई पूर्ण सन्तुष्टि दिलाउन सकिँदैन । त्यसैले संयमता अपनाएर विस्तारै प्रेमपूर्वक यौन सम्बन्ध स्थापित गर्नु राम्रो हुन्छ । 

कौमार्यको कसी के ? 

सुहागरात भन्ने बित्तिकै आफ्नी पत्नी कुमारी नै छ कि छैन भन्ने कतिपय पुरुषको शंका हुन सक्छ । महिलाको योनिमा हुने झिल्लीलाई कौमार्यको कसीका रुपमा लिने गर्छन्, तर यो गलत हो । कसैको झिल्ली विकसित नै नभएको अथवा एक कुनामा सानो मात्र हुन सक्छ । धेरैजसोमा झिल्ली योनिको एक भित्तादेखि अर्को भित्तासम्म इलास्टिकजसरी फैलिएको हुन्छ । पहिलोपटक यौन क्रीडा गर्दा झिल्ली योनिको मुखमा छ भने फाटेर हलुका रगत आउन सक्छ र केही दिन योनिमा हलुका पीडा महसूस हुन सक्छ । तर, सानै उमेरमा खेलकुद गर्दा, लड्दा प्रत्यक्ष वा अप्रत्यक्ष आघातले यो झिल्ली आफै च्यातिन पनि सक्छ । झिल्लीको बीचमा महिनावारीको रगत जाने सानो प्वाल हुन्छ । कसैमा यो प्वाल ठूलो भएर त्यसैबाट यौनसम्पर्क सम्भव हुन्छ भने कसैमा झिल्लीको बीचमा महिनावारीको रगत जान हुनुपर्ने प्वाल नभएका कारण रजस्वला हुन थालेपछि सानो शल्यक्रिया गरी रगत जाने बाटो खोल्नुपर्ने पनि हुन सक्छ । त्यसकारण पहिलो यौनसम्पर्कमा झिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो र झिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो । त्यसैले यसलाई स्त्रीको कौमार्यसँग जोडेर हेर्ने गरिए पनि कौमार्यको परीक्षणका लागि यसलाई प्रमाण मान्न मिल्दैन । 

पहिलोपटक यौन सम्पर्क गर्दा महिलाको योनिमा धेरै पीडा हुन सक्छ र रक्तस्राव पनि हुन सक्छ । तर, यस्तोमा डराउनु आवश्यक छैन । यो एक सामान्य प्रक्रिया हो । विशेषज्ञहरुका अनुसार पहिलोपटक यौन सम्पर्क राख्दा महिलाको योनिबाट रक्तस्राव हुने सम्भावना बढी हुन्छ । तर, रक्तस्राव हुनै पर्छ भन्ने चाहिँ कुनै जरुरी छैन । 

अर्गाज्मका लागि फोर–प्ले 

सुहागको पहिलो रात यौन सम्पर्क स्थापित गर्दा आफ्नो संगिनीसँग फोरप्लेलाई केही समय छुट्याउनु आवश्यक छ । पुरुषको तुलनामा महिलाहरु चरम सुख अथवा अर्गाजममा पुग्न धेरै समय लाग्छ । त्यसैले यस बेला उनीहरुलाई चुम्बन गर्नु, प्रेमपूर्वक अंगालो मार्नु आदि गर्नु जरुरी छ । फोरप्लेको उद्देश्य महिलालाई यौन क्रीडाका लागि उत्तेजित गर्नु हो । 
औषधिको प्रयोग नगरौं

सुहागरातको समयमा दिनभर विवाहको कार्यक्रम, आफन्त, इष्टमित्रसँगको भेटघाटका कारण नवदम्पती थकित हुन सक्छन् । त्यसैले यस बेला शीघ्रपतन अथवा नपुंसकताको समस्या आउन सक्छ । यस्तो डरले कतिपय दम्पती औषधिको सेवन गर्ने गर्छन् । तर, यो गलत हो । औषधिको सेवनले साइडइफेक्ट गर्न सक्ने भएकाले यसबाट टाढा रही स्वाभाविक रुपमा डरलाई पर हटाई यौन क्रीडाको आनन्द लिन सकिन्छ । 

यौन समस्या भएमा

विवाहको पहिलो रात यौनको समयमा केही सावधानी पनि अपनाउनु आवश्यक छ । जस्तै, पति अथवा पत्नी कसैलाई पनि कुनै किसिमको यौन समस्या भएमा खुलस्त भन्नुपर्छ । यदि भन्न धक मान्ने हो भने यसले पछि ठूलो समस्या निम्त्याउन पनि सक्छ । यौन समस्याहरु समाधान हुन सक्ने हुनाले दुवैले डर अथवा एकअर्काप्रति घृणाको महसूस गर्नु कदापि हुँदैन । यसले एकअर्काको सम्बन्धमा समस्या ल्याउन सक्छ । सहमतिमा सुझबुझका साथ सम्बन्धलाई अघि बढाउन सकिन्छ भन्ने बुझ्नु जरुरी छ । आफ्नो जीवनसाथी सर्वगुणसम्पन्न हुनैपर्छ भन्ने धारणा गलत हो । मानिस सबैमा केही कमीकमजोरी हुन सक्छन् । त्यसलाई कतिको स्वीकार गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले आफूमा भएका कमीकमजोरीलाई नलुकाई खुलस्त भन्नाले आफ्नो जीवनसाथीको भरोसा जित्न सकिन्छ । त्यस्तै, पहिलो रात यौनसम्पर्कबाट लाग्न सक्ने रोग (एसटीडी) बाट बच्न कण्डमको प्रयोग गर्नु राम्रो हुन्छ । 

जबर्जस्ती नगरौं

सुहागरातको दिन मानिसहरु केही गल्ती गर्छन् जसले जीवनभरि पछुताउनुपर्ने हुन सक्छ । त्यसैले यस्ता गल्तीबाट टाढा रहनु धेरै आवश्यक छ । सुहागरातमा आफ्नी जीवनसंगिनीसँग जबरजस्ती नगरौं । आफ्नी अर्धांगिनीको सहजता र सहमतिलाई ध्यानमा राखेर यौन सम्पर्क गर्नाले उनको विश्वास जित्न सकिन्छ र यो क्षणलाई जीवनभर यादगार बनाउन सकिन्छ । 

धूमपान र मद्यपान नगरौं

विवाहको पहिलो रात कतिपय मानिस आफूलाई जोसिलो, बलवान् देखाउन भनी मद्यपान, धूमपान गर्ने गर्छन् । त्यस्तै, अचेल पतिपत्नी दुवैले विवाहको पहिलो रात नै मद्यपान गर्ने चलन पनि बढेको छ । तर, यसले पहिलो रातलाई खराब गर्न सक्ने भएकाले यो रातलाई सुन्दर र यादगार बनाउन मद्यपानबाट टाढा रहनु आवश्यक छ । 

अनावश्यक कुरामा समय नफालौं

विवाहको पहिलो यो रात जीवनको महत्त्वपूर्ण रात हो । कतिपय मानिस विवाहमा केकति खर्च भयो भन्ने हिसाबकिताबमा अल्झिएर रातलाई बेस्वादिलो बनाउन सक्छन् । तर, यसले सुहागरातको विशेष अनुभूतिबाट वञ्चित गराउन सक्छ । त्यसैले अन्य कुरामा ध्यान नदिई यस रातलाई सुन्दर र यादगार बनाउन पतिपत्नी दुवैले एकअर्कालाई बुझेर समर्पित हुने प्रयास गर्नुपर्छ । तबमात्र सुहागरातको आनन्द लिन सकिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै