• २०८१ बैशाख १४ शुक्रबार

सङ्घीयताको कार्यान्वयनका लागि समन्वय आवश्यक : मन्त्री पोखरेल

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताए ।

काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “हामीले राजनीतिक फैसला गरेर सङ्घीय संरचनामा गयौँ तर अहिले पनि प्रशासनिक र वित्तीय हिसाबले सङ्घीयताको नमूनालाई प्रयोग गर्न सकेका छैनौँ, आगामी हिउँदे अधिवेशनबाट कानून बनाएर प्रभावकारी कार्यान्वयनमा लगिनेछ ।”

उनले महानगरलाई नयाँ ढङ्गले विकास र समृद्ध बढाउन प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । संस्कृति र पुरातात्विक सम्पदाको महत्वपूर्ण थलोका रुपमा परिचित काठमाडौँ महानगरको योजनाबद्ध विकासका लागि सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानगरपालिकाको दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडाको ‘ल्याण्डफिल्ड’ क्षेत्रलाई व्यवस्थित बनाइने बताए । “अब कुनै पनि दिन महानगरको फोहर उठेन भन्ने गुनासो नआउने गरी फोहर व्यवस्थापनको योजनाबद्ध कार्यक्रम अघि बढाएका छौँ, जसले वातावरण व्यवस्थापन र शहरी सौन्दर्यता कायम गर्नेछ,” उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने क्रममा सबैभन्दा महत्वपूर्ण महानगरको संस्कृति र पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण प्रवद्र्धनका लागि तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इतिहास, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने महानगरको विकास र समृद्धिका लागि तीन तहका सरकारले समन्वय गरी योजना कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गरे । महानगरले प्रदेश सरकारको सहकार्यमा काठमाडौँलाई सफा धुवाँ, धुलोमुक्त शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइएको र अन्य महानगरसँग समन्वय गरी आधुनिक सुविधायुक्त विद्युतीय सवारी साधन सञ्चालन गरिने उनको भनाइ थियो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्कीले प्राचीन सभ्यताको नगरी काठमाडौँ शहरलाई व्यवस्थित र समृद्ध बनाउन सरोकारवाला निकायसँग समन्वयका साथ अघि बढ्ने बताए । विसं २०५२ मा काठमाडौँ नगरपालिकालाई महानगरपालिको रुपमा घोषणा गरिएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकाको स्मारिका विमोचन गर्नु भएको थियो । सोही कार्यक्रममा काठमाडौँका प्रथम निर्वाचित पूर्व प्रमुख जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो भने महानगरको सुशासन कायम गर्न र महानगरलाई विभिन्न तवरबाट उल्लेख्य योगदान गर्ने पत्रकार, विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

महानगरले १२१ जना परम्परागत बाजाका गुरुलाई नगद रु २५ हजारसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ विद्यालय र करदातालाई पनि सम्मान गरियो । आगामी पुस ३ गतेसम्म चल्ने महोत्सवमा स्थानीय संस्कृति, खानाका परिकारको प्रदर्शनी तथा महानगरको विभिन्न गतिविधिसम्बन्धी कक्ष राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै