• २०८१ बैशाख ७ शुक्रबार

इपिएल : जितसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावना कायमै, पोखरा बिना जित नै बाहिरीयो  

kharibot

काठमाडौँ। एभरेस्ट प्रिमियर लिग अन्तर्गत चितवन टाइगर्सले पोखरा राइनोजलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ। चितवनले पोखरालाई ७ विकेटले पराजित गरेको हो। पोखराले दिएको १३० रनको लक्ष्य पछाएको चितवनले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

चितवनका लागि पाउल स्टिरलिङ्ले सर्वाधिक ५५ रन बनाएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ५४ रन बनाए भने सोनु सुनवारले १० तथा जोन सिम्सनले ९ रनको योगदान दिएका थिए। 

पोखराका बलर नन्दन यादवले २ विकेटलिए भने सुशान भारीले एक विकेट लिएका थिए।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो। पोखराका लागि सुनिल धमलाले सर्वाधिक ५१ रन बनाएका थिए। धमलाले ४२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए। यो यस प्रतियोगितामा कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको दोस्रो अर्धशतक हो। यस अघि आजै सम्पन्न खेलमा काठमाडौँ किंग्सका अमित श्रेष्ठले अर्धशतक बनाएका थिए। 

त्यस्तै पोखराका बिनोद भण्डारीले २७, किले कोत्जरले २३, राजेश पुलामी मगरले १२ रन बनाएका थिए। 

त्यस्तै चितवनका बलर ललित भण्डारीले २ तथा जर्ज स्कटले ३ विकेट लिएका थिए। 

पोखराबाट खेलेका नेपाली भेट्रान खेलाडी शक्ति गौचनले आफ्नो क्यारियरको अन्तिम खेल खेलेकाले चितवनका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए। 

पोखराले प्रतियोगितामा खेलेका लिग चरणका पाँचै खेलमा हार बेहोरेको छ भने चितवनले ५ खेलमा ३ मा हार र २ मा जितसहित ४ अंक हासिल गरेको छ। अब चितवनको प्लेअफको यात्रा सोमबार हुने विराटनगर वरियर्स र काठमाडौँ किंग्सबीच हुने लिग चरणको अन्तिम खेलले टुंगो लाग्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै