• २०८१ बैशाख १२ बुधबार

गोरखामा विद्यालय पुनर्निर्माण सुस्त 

kharibot

फाइल तस्बिर ।

गोरखा । भूकम्पको केन्द्रविन्दु परेको गोरखा जिल्लामा शैक्षिक संस्था पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ । ०७२ को महाभूकम्पले ४ सय ८१  सामुदायिक विद्यालयहरु क्षतिग्रस्त हुनुका साथै ३५ जना विद्यार्थी र ७ जना शिक्षकले ज्यान गुमाएका थिए । उक्त भुकम्पले ४ हजार ४८ कक्षाकोठा ध्वस्त भए पनि त्यसको पुनर्निर्माण एकदमै सुस्त रहेको पाइएको छ ।  

विभिन्न संस्थाले ७ सय २७ पक्की कोठा निमार्णको जिम्मा लिएर निर्माण कार्य भइरहेको छ । तत्कालीन जिशिकाले सेमी पर्मानेन्ट १ सय ४ कक्षाकोठा र १ सय ७३ कक्षाकोठा मर्मत गरी विद्यालय पुनर्निर्माण गर्न दातृनिकाय तथा नेपाल सरकारको स्रोतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनापछि पुनर्निर्माणकार्यलाई तीव्रताका साथ अगाडि बढाए पनि प्रगति भने सुस्त छ । 

जाईकाको ओ.डी.ए. ऋण सहयोगअन्तर्गत ६१ विद्यालयको पुनर्निर्माणको स्रोत सुनिश्चित भई हाल १० वटा प्याकेजमा निर्माणकार्य प्रारम्भ भइसकेको छ । पहिलो चरणमा निर्माण सुरु भएका २८ विद्यालयमध्ये ३ वटा विद्यालय हस्तान्तरण भइसकेका छन् । १२ विद्यालयको निर्माण ९० प्रतिशत सकिएको छ । ८ विद्यालयको हस्तान्तरण चरणमा पुगेका छन् ।

यस्तै भारतीय सरकारको सहयोगमा निर्माणका लागि छनौट गरिएका १० विद्यालयमध्ये ३ निर्माण कार्यको प्रक्रिया सुरु भइसकेको छ भने बाँकी ७ विद्यालयहरुको डीपीआर तयारी भइरहेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने १ विद्यालयको पनि प्रक्रिया सुरु हुनसकेको छैन ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइको वार्षिक कार्यक्रमबाट यस जिल्लामा आ.व. २०७३÷०७४ मा ९९ विद्यालयमा २ कोठे,  ३ कोठे, ४ कोठे, ६ कोठे र ८ कोेठे भवन गरी ४ सय ५१ कक्षा कोठा र आ.व. २०७४÷०७५ मा ९९ विद्यालयमा ४ सय ५१ कक्षाकोठा निर्माण कार्य सुरु भई निर्माणको अन्तिम चरणमा पुगेको छ । 

आ व २०७५/०७६ का लागि ५१ विद्यालय छनोट भई २०७५ असोज २२ मा सम्झौता गरी निर्माण कार्य बल्ल आरम्भ भएको छ । यस्तै एसियाली विकास बैंकको सहयोगमा एक नमूना विद्यालयको निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य ४ विद्यालयहरुको सर्वेक्षण कार्य सम्पन्न भई डीपीआर तयारी भइरहेको छ ।

भूकम्पपछि यस जिल्लाको विद्यालयहरुको तह समायोजन तथा मर्ज गरी हाल सामुदायिक विद्यालय ४ सय ३४ वटा कायम हुन आएका विद्यालयमा विभिन्न संघ संस्था, मर्मत तथा पुनर्निर्माणबाट २ हजार ४ सय ९५ कक्षाकोठा तयार भएका छन् भने २ हजार ७४ कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेका छन् । 

अझै यस जिल्लाको सवै विद्यालयहरु पुनर्निर्माण सम्पन्न हुनका लागि ९ सय ७३ पक्की कक्षाकोठा, १ सय २३ शौचालय, १ सय ४४ खानेपानी व्यवस्था र ३ सय ६१ विद्यालय घेरावार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस जिल्लामा पक्की कक्षाकोठा निर्माण गर्ने विभिन्न संस्थाले काम गरिरहेका छन् 

विद्यालयको विस्तृत सर्वेक्षण गरी विद्यालयहरुको भौतिक सुधार गुरुयोजना तयार गरिएको जिल्ला आयोजना कार्यान्यन इकाइ शिक्षा शाखा प्रमुख राम प्रसाद आचार्यले जानकारी दिए । स्थानीयतहसँग विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको नक्सांकन गर्न साथै पुनर्निर्माणका लागि सिफारिस अनिवार्य गरिनुका सबै विद्यालयहरुको भौतिक संरचनाहरुको विस्तृत विवरणसहितको भौतिक प्रोफाइल तयार गर्न कार्यारम्भ गरिएको उनको भनाइ छ । 

जिल्लामा घर तथाअन्य संरचनाहरुको एकै साथ निर्माण जारी रहेकोले दक्षकामदारको अभाव रहेको जनाउँदै  निर्माण सामग्रीको अभाव तथा मूल्यवृद्धिले गर्दा निर्माणकार्यमा सुस्तता तथा कठिनाइजस्ता समस्या रहेको आचार्यले बताए । 

गोरखा जिल्लाका विकट हिमाली क्षेत्रका विद्यालयहरुको पुनर्निर्माणको लागत उच्च हुने हुँदा स्थानीय निर्माणसामग्रीबाट निर्माण हुने वैकल्पिक डिजाइनमा जानुपर्ने देखिएको छ । विद्यालय निर्माणमा संलग्न जनशक्ति पूरै निजी आवास निर्माणमा केन्द्रित हुँदा विद्यालय निर्माणकार्य प्रभावित बन्न पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै