• २०८१ बैशाख ८ शनिबार

इपिएल इलिमिनेटर : चितवन र भैरहवाको भिडन्त, यस्ता छन् प्रमुख खेलाडी 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज इलिमिनेटरमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स प्रतिस्पर्धा गर्दैछन् । 

कीर्तिपुर मैदानमा एक बजे हुने खेलको विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो क्वालिफायर खेल्ने छ । लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो । अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटका आधारमा अगाडी रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । 

लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो । लिग चरणका अन्य खेलमा चितवन ललितपुर प्याट्रियोट्सँग ११ रनले र काठमाडौंसँग ६ विकेटले पराजित भएको थियो । समूहको अन्तिम दुई खेलमा विराटनगरलाई पाँच रनले र पोखरालाई सात विकेटले हराएपछि चितवनले नाटकीय रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

भैरहवाले भने सुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो । पहिलो तीन खेलमा भैरहवाले पोखरालाई चार विकेटले हराएको थियो । जुन खेलमा उसले २१६ रनको लक्ष्य पनि प्राप्त गरेको थियो । उसका रवि इन्दर सिंहले शतकीय योगदान दिएका थिए ।

त्यसपछि चितवनलाई हराएको भैरहवाले विराटनगरमाथि चार विकेटको जित दर्ता गरेको थियो । त्यसपछिका दुई खेलमा भने भैरहवा ललितपुर र काठमाडौंसँग पराजित भएको थियो ।

प्रमुख खेलाडी :

भैरहवाका लागि रवि इन्दर सिंह सबै भन्दा बलियो हतियार हुन्। उनले अहिलेसम्म प्रतियोगितामा एक शतकसहित २७३ रन बनाएर धेरै रन बनाउने खेलाडीको सुचिमा अग्रस्थानमा रहेका छन्। त्यस्तै भैरहवाका लागि अर्का महत्वपूर्ण खेलाडी हुन् रायन टेन डोएसचेट। अनुभवी रायनले ५ खेलमा १२० रन बनाए पनि टिमका लागि निकै उपयोगी इनिङ्ग खेलेका छन्। त्यो बाहेक कप्तान शरद भेस्वाकरले धेरै रन बनाउन नसकेपनि उनको क्षमता बहें रहेको छ।

त्यस्तै बलिङ्ग तर्फ भने युएईका बलर मोहमद नावीद भैरहवाका प्रमुख बलर हुन्। उनले अहिलेसम्म ५ विकेट लिएका छन् भने उनको औसत ५ रन रहेको छ। उनी टी-२० खेलका राम्रा बलर रहेका छन्। रायनले पनि प्रतियोगितामा ५ विकेट लिएर उत्कृष्ट बलिङ्ग गरेका छन् भने कप्तान भेस्वाकरले बलिङ्गबाट पनि योगदान गरिरहेका छन्। उनले पनि ५ विकेट लिएका छन्। 

त्यस्तै चितवनका लागि दिपेन्द्र सिंह ऐरी प्रमुख खेलाडी हुन्। उनले प्रतियोगितामा ५ खेलमा १७५ रन बनाएका छन् जसमा एक अर्धशतक सामेल रहेको छ। दिपेन्द्रले बलिङ्गबाट पनि राम्रो योगदान दिन सक्छन। त्यस्तै चितवनका लागि पाउल स्टिरलिङ्ग अर्का महत्वपूर्ण खेलाडी हुन्। उनले प्रतियोगितामा १४३ रन बनाएका छन् भने उनले ३ विकेट समेत लिएका छन्। त्यस्तै अर्का खेलाडी जोन सिम्पसन र जर्ज स्कटपनि चितवनका महत्वपूर्ण खेलाडी हुन्। उनीहरुले पनि चितवनलाई बलिङ्ग र ब्याटिंगमा राम्रो योगदान गरेका छन्।

बलिङ्ग तर्फ भने नेपाली राष्ट्रिय टिमका बलर ललित भण्डारी चितवनका प्रमुख हतियार हुन् उनले अहिलेसम्म ९ विकेट लिएर धेरै विकेट लिनेको सुचिमा दोस्रो स्थानमा रहेका छन्। त्यस्तै चितवनका लागि जर्ज स्कटले ७ र सागर ढकालले ६ विकेट लिएका छन्। 

यसरी हेर्दा अहिलेसम्म प्रतियोगितामा दुई खेल मात्र जितेर इलिमिनेटर खेल्ने मौका पाएको चितवन र प्रतियोगितामा सुरुका ३ खेल लगातार जितेर प्लेअफ़मा पुगेको भैरहवाबीच रोमान्चक प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ। यस खेलको हारले प्रतियोगिताबाट बाहिर हुने छन् भने जितले दोस्रो क्वालिफायरमा पुर्याउने छ। 

 
 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै